काठमाडौं – फ्रान्सेली कलाकार एड्गर डेगासले भनेका छन्, ‘कला–सिर्जना आफूले के देखिन्छ भन्नका लागि होइन, अरुले कस्तो देख्छन् र के व्यक्त गर्छन् भन्ने चाहिँ हो।’ सामान्य लागे पनि एड्गरको यो भनाइमा गहिरो भावार्थ छ।
कलाकारहरुको प्रस्तुति उनीहरु स्वयंका लागि हुँदैन, केबल अरुका लागि हुन्छ। हरेक मानिससँग पृथक सोच, लक्ष्य र त्यसलाई पूरा गर्ने संकल्प हुन्छ। त्यो लक्ष्य पूरा गर्नका लागि प्रयत्नशील रहँदा अनेक संघर्ष गर्नुपर्छ। अनेकौँ अप्ठ्याराहरुलाई पन्छाउँदै अघि बढेपछि मात्रै सफलता हासिल हुन्छ।
‘मेरो सोच पनि कला क्षेत्रमा लागेर सामाजिक रुपान्तरण, परिवर्तन र समतामूलक समाज निर्माणका पक्षमा काम गरौँ भन्ने नै थियो,’ रंगमञ्चबाट नेपाली रजतपटमा प्रवेश गरेका उदीयमान कलाकार आयुषमान प्याकुरेल भन्छन्, ‘त्यही लक्ष्यका पदचापहरुलाई पछ्याउँदै अघि बढ्दै छु।’
आयुषमानको चाहना फिल्म क्षेत्रमा लाग्ने, फिल्म खेल्ने नै थियो। त्यसैकारण उनी सानै उमेरमा फिल्म हेर्न अत्यधिक रुचाउँथे। वि.सं. २०५४ साल माघ ११ गते आयुषमानको जन्म हुँदा उनको परिवार झापाको दमकमा थियो। तर, उनका बुवा जागिरको शिलशिलामा कैलालीको अत्तरीया गए र, उनको बालापन पनि त्यही बित्यो। बच्चाबेलामा पहिलोपटक चलचित्र ‘दर्पण–छाँया’ हेरेका थिए उनले।
ती दिन सम्झिँदै उनी भन्छन्, ‘सानोमा फिल्म हेर्दा नै चलचित्र क्षेत्रमा लाग्ने सोच बनाइसकेको थिएँ।’ चलचित्र खेल्ने चाहना प्रभावी हुँदै जाँदा उनले सडक नाटक हेरेका थिए। यसरी नै उनको कला यात्रा अनौपचारिक रुपमा अघि बढ्यो।
अहिले नारीमाथि हुने विभेदका सन्दर्भमा निर्माण गरिएको नाटक ‘प्राइभेट इज पोलिटिकल’को तयारीमा व्यस्त रहेका आयुषमान नेपाली कला क्षेत्रको उदाउँदो भविष्य हुन्। ‘योनीका कथाहरु (प्राइभेट इज पोलिटिकल) नाटक वैशाख १३ देखि २८ गतेसम्म मञ्चन हुँदैछ, कौशी थिएटर टेकुमा मञ्चन हुने नाटकको तयारीमा छौँ हामी,’ उनी भन्छन्, ‘मेरो प्रयास राम्रो प्रस्तुति दिने नै हो।’
अत्तरीयाबाट झापा फर्किएपछि...
अत्तरीयाबाट आयुषमानको परिवार फेरि झापा बसाइँ सरेर आयो। परिवारसँग उनी झापा गए। र, अध्ययन अघि बढाए। आयुषमानले २०७० सालमा झापा बिर्तामोडको न्यूटन एजुकेशन फाउन्डेसनबाट एसएलसी र २०७२ सालमा मनकामना बहुमुखी क्याम्पसबाट प्लस टू पास गरेका हुन्।
कजेल पढ्दा आयुषमानले चलचित्र हेर्न कहिल्यै छुटाएनन्। स्कूल र कलेजमा हुने विभिन्न कार्यक्रममा सहभागी भएर उनले प्रस्तुति दिँदा दर्शक तथा शुभचिन्तकको प्रशंसा पाएपछि अभिनय यात्रामा अघि बढ्न उनलाई हौसला मिल्यो।
अष्ट्रेलिया जाने सोच त्यागेर रंगमञ्चमा
झापाको चारआलीका आयुषमानका बुवा गोपाल प्याकुरेल प्राध्यापक हुन्, उनी झापामै प्राध्यापन गर्छन्। उनकी आमा हरिमाया ओझा सहकारीकी मेनेजर हुन्। आयुषमान प्लस टूको पढाई सकेर काठमाडौँ आए। घरको आर्थिक अवस्था सबल छ, पढ्नका लागि उनलाई कुनै चिन्ता छैन। उनले थेम्स इन्टरनेशनल कलेजमा स्नातक तहको पढाई शुरु गरे।
तर, आयुषमानका बुवा र आमाको चाहना थियो– छोरो अष्ट्रेलिया जाओस्, उच्च शिक्षा हासिल गरोस्। बुवाआमाको चाहना अनुसार उनले अष्ट्रेलिया जानका लागि अध्ययन गर्न थालेका थिए।
थेम्स कलेजमा अध्ययन शुरु गरेपछि आयुषमानले अभिनय यात्रा पनि जारी राखे। उनले अष्ट्रेलिया जानका लागि सुरु गरेको कक्षालाई निरन्तरता दिएनन्। रंगमञ्चमै भविष्य निर्माण गर्ने सोचेर अष्ट्रेलिया जाने सोच त्यागिदिए, र कक्षा पनि लिएनन्।
‘बुवाआमाको चाहना अष्ट्रेलिया जाओस् भन्ने थियो, तर मेरो चाहना चलचित्र वा नाटक क्षेत्रमा लाग्ने थियो, त्यसैले अष्ट्रेलियासम्बन्धी पढाई छोडेर नाटकलाई निरन्तरता दिएँ,’ उनले भने।
त्यसपछि आयुषमान अभिनय कक्षा लिन थाले। उनले एक्टर्स स्टूडियो झम्सिखेलमा अभिनय सम्बन्धी कक्षा शुरु गरे। अनुप बराल, दिया मास्के, आशान्त शर्मा, विक्रम परियार लगायतसँग आयुषमानले एक्टर्स स्टुडियोमा तीन महिना अभिनय कक्षा लिए।
शुरुमा अभिनय सिक्दाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘तीन महिना नाटक सिकाइका रुपले राम्रो रह्यो, नाटक के हो भन्ने बुझेँ, अझै धेरै छ सिक्नुपर्ने।’
सिक्दै, अभिनय गर्दै
आयुषमान नाटक हेर्दाहेर्दै नाटकमा अभिनय गर्न थाले। तीन महिने कक्षा लिने क्रममा उनले अभिनय गर्ने अवसर पनि पाए।
काठमाडौँ आएपछि उनले पढ्न थालेको थेम्स इन्टरनेशलन कलेजमा थिएटर क्लब छ। त्यसमा समन्वय गर्ने काम उनको थियो। कलेजमा थिएटर क्लब भएका कारण उनलाई नाटक गर्न अझ सजिलो भयो।
आयुषमानले अभिनय गरेको पहिलो नाटक ‘सावधान’ हो। उनले नेपाल पर्यटन बोर्डमा मञ्चन गरिएको नाटकमा डिप्रेसनमा परेका युवकको भूमिका निर्वाह गरेका थिए।
आयुषमानले अभिनय गरेको दोस्रो नाटक हो –चराहरुको सम्मेलन। त्यसमा उनले सारस चराको भूमिका गरेका थिए। ‘नाटक नै चरासँग सम्बन्धित भएकाले सारस चराको भूमिका निर्वाह गर्नु गाह्रो थियो, डेढ घण्टाको नाटकमा अभिनय गर्न बहुत मेहनत गर्नुपर्छ, मैले सकेसम्म राम्रो गरेको थिएँ,’ उनले भने।
अहिलेसम्म गरेकोमध्ये आयुषमान चराहरुको सम्मेलन नाटकलाई राम्रो मान्छन्। कथावस्तुसँगै नाटकमा आफूले पनि राम्रो अभिनय गरेको उनी बताउँछन्। उनले सात वटा नाटकमा अभिनय गरिसकेका छन्।
सावधान, चराहरुको सम्मेलन, राजेन्द्र लक्ष्मी, झिमिक झिमिक झ्याप्प, बासुदेव, साथीको कथा र लिटिल स्कूलमा उनले अभिनय गरेका हुन्।
नाटकले दिलाएका अन्य काम
रंगमञ्चमा दिलोज्यान लगाएर मेहनत गरिरहेका आयुषमानले कलासँग सम्बन्धित अन्य क्षेत्रमा पनि काम गर्न थालेका छन्।
अमेरिका सहायता संस्था यूएसएडको सहयोगमा प्रसारण हुँदै आएको रेडियो नाटक ‘भन्छिन् आमा’मा पनि आयुषमानले काम गरिरहेका छन्। यसबाहेक कलेजमा हुने विभिन्न कार्यक्रममा नाटक प्रस्तुत गर्ने नेतृत्व पनि उनले लिने गरेका छन्।
‘योजना बनाउथिनँ, राम्रो नाटक पाए गर्छु’
आयुषमानले रंगमञ्चलाई नै निरन्तरता दिने सोच बनाइसकेका छन्। उनी भन्छन्, ‘नाटक गरेर आर्थिक उपार्जन गर्न गाह्रो छ, मेहनत गर्नुपर्छ, असम्भव पनि छैन, योजना बनाउँदिनँ, राम्रो नाटक पाए गर्छु।’
आयुषमान सिकाइकै क्रममा छन्। नाटक, रंगमञ्च र अभिनयका बहुआयामीक पक्षहरुको अध्ययन गर्ने उनको सोच छ। उनी भन्छन्, ‘सिक्दै गर्दै जान्छु, रंगमञ्च क्षेत्रमा अझै राम्रो गर्नु छ मलाई।’