काठमाडौँ– जाडो महिना सकिएर गर्मी मौसम शुरू हुँदै गर्दा भाइरल इन्फेक्सन, रुघाखोकी, ज्वरोजस्ता समस्या आउनु स्वाभाविक हो। यस्तो बेलामा हामीले आफ्नो तथा परिवारको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ। विशेष गरी जसको स्वास्थ्य स्तर पहिल्यैदेखि नाजुक छ, जसको प्रतिरक्षा क्षमता कमजोर छ, उसले यस्तो बेलामा सबैभन्दा बढी ख्याल राख्नुपर्ने हुन्छ।
विभिन्न आधुनिक उद्योग तथा कारखानाबाट निस्कने कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइडलगायत अन्य हरितगृह ग्यासको असरले वायुमण्डलबाट ओजोनको पत्र पनि पातलिँदै छ। जसको कारण सूर्यबाट आउने हानिकारक परवैजनी किरणहरू सजिलै पृथ्वीको वायुमण्डलबाट छिर्न सक्दछ। यसैले गर्दा पृथ्वीमा गर्मीको मात्रा वर्षैपिच्छे बढ्दै गएको पाइन्छ। यस्तो बेलामा बाहिर घाममा हिँड्दा पनि आफ्नो विशेष ख्याल राख्नुपर्ने हुन्छ।
यसै सन्दर्भमा केही महत्वपूर्ण टिप्स यहाँ प्रस्तुत गरिएको छ :
फ्लुबाट बच्नुहोस् :
मौसम परिवर्तनसँगै अधिकांशलाई सिजनल फ्लुले सताउने गर्दछ। कतिपय व्यक्तिहरू घाँटीको समस्याले पिरोलिएका होलान्। यस्तो बेलामा हेलचेक््रयाइँ गर्नु मूर्खता हो। किनभने यस्तै खालका सानो समस्याले पछि ठूलो रूप लिन सक्दछ। त्यसैले पानी पिउँदा, बाहिरको खाना खाँदा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ।
अझ राम्रो उपाय त यी कुराहरूमा ध्यान दिनुहोस् :
– आफ्नै साथमा तातो पानी लिएर हिँड्नुहोस्।
– रुघाखोकीको सङ्केत देखिन थालेको छ भने अदुवा वा पानी अथवा जिरा पानी तताएर पिउनुहोस्।
– सफा पानीलाई उमालेर त्यसमा थोरै भिक्स अथवा सञ्चो राखी बाफ लिनुहोस्।
– पिरो, मसालेदार खानेकुराको सट्टा ताजा र रसिलो फलफूल खानुहोस्।
ज्वरो आउँदा नआत्तिनुहोस् :
गर्मी महिना शुरू हुने बेलामा अधिकांश बालबालिका तथा नवजात शिशुलाई साधारण ज्वरोेले सताउन सक्दछ। तर, यत्तिकैमा आत्तिइहाल्नुपर्ने जरुरी छैन्। किनभने ज्वरो आउनु भनेको राम्रो कुरा हो। शरीरभित्र प्रवेश गरेका विभिन्न किसिमका ब्याक्टेरियाहरूलाई प्रतिरक्षा प्रणालीले रोक्न नसकेपछि शरीरको तापक्रम बढाएर ती ब्याक्टेरियाहरूलाई मार्ने प्रक्रियामा ज्वरो आउँछ। त्यसैले बालबालिकालाई ज्वरो आउँदा औषधि खुवाइहाल्नु पनि उचित हुँदैन्। उनीहरूको प्रतिरक्षा प्रणालीलाई सुधार्नका लागि तपाईंले विशेष जोड दिनुपर्छ।
मास्क लगाउनुहोस् :
अर्को कुरा, काठमाडौंलगायत अन्य शहरहरूमा बसोबास गर्नेहरूले बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने गर्नुहोस्। सवारीसाधनको कोलाहल, भूकम्पले ग्रस्त शहर अनि पुननिर्माण अधिकांश धूवाँ–धूलो निस्कने गर्दछ, जसले गर्दा पूरै शहर प्रदूषित हुुन जान्छ। त्यसैले बाहिर हिँड्दा मास्क लगाएर हिँड्न अत्यावश्यक हुन्छ।
कपडाको टाइट मास्क लगाउँदा स्वासप्रश्वासमा बाधा पुग्न सक्छ, बरु त्योभन्दा हलुका, खुकुलो अनि सास फेर्न सजिलो हुने खालको मास्क लगाउनु उचित हुन्छ। बजारका अधिकांश औषधि पसलहरूमा केवल ५ देखि १० रुपैयाँमा नै पेपर मास्क पाइन्छ। यो लगाउन सजिलो हुन्छ, कान पनि दुखाउँदैन, सास फेर्न यति सजिलो हुन्छ कि तपाईंले मास्क लगाएको छु भनेर चाल पनि पाउनुहुन्न, अनि फेरि यसबाट बाहिरको धूवाँ र धूलो पनि छिर्दैन ।
घरवरिपरिको वातावरण सफा राख्नुहोस् :
जाडो महिनामा कम तापक्रमले गर्दा फोहोर कुहिने प्रक्रिया सक्रिय हुन पाउँदैन । यसले गर्दा कम दुर्गन्ध आउने गर्छ । तर, अब दिन प्रतिदिन बढ्दो तापक्रमले गर्दा जाडो महिनामा नकुहिएका फोहोरहरू पनि कुहिन थाल्छन् । यसले गर्दा जाडो सकिएर गर्मी लाग्दै गर्दाको समयमा कुहिने क्रममा रहेका फोहोरहरूबाट दुर्गन्ध र किटाणुहरू फैलिन थाल्दछन्। त्यसैले यस्तो बेलामा आफ्नो घर–समुदाय वरिपरि फोहोरहरू जम्मा भएका छन्। भने त्यसलाई सबैले मिलेर व्यवस्थापन गरिहाल्नुपर्छ, ताकि आफ्नो तथा समुदायको स्वास्थ्यमा कुनै नोक्सानी नपुगोस्।
लामो बाहुला भएको लुगा लगाउनुहोस् :
बाहिर घाममा हिँड्दा गर्मी भयो भनेर छोटो बाहुला भएको लुगा लगाएर भूल नगर्नुहोस्। साथै घाममा कालो लुगा लगाएर नहिँड्नुहोला, किनकि कालो रङले घामको ताप र किरणलाई बढी सोस्दछ र तपाईंलाई बढी गर्मी महसुस गराउँछ। त्योभन्दा सेतो रङको लुगा लगाउनु उचित हुन्छ, सेतो रङको कपडाले शीतल गराउनुका साथै घामको किरणलाई परावर्तन गर्दछ र तपाईंलाई सुरक्षित राख्दछ।
लामखुट्टेबाट बच्नुहोस् :
आफ्नो घरवरिपरि फोहोर पानी जमेको अथवा लामखुट्टे पैदा हुन सक्ने ठाउँहरू छन् भने त्यसलाई सफा गरिहाल्नुपर्छ। मलेरियालगायतका लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बच्न घरवरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ। (एजेन्सी)