रबिन न्यौपाने, काठमाडौं – नेपालमा वर्षेनि बढ्दै गइरहेको स्वास्थ्य समस्यामध्येको एक हो– क्यान्सर। यसका कारण नेपालमा सन् २०१८ मा १९ हजार ४ सय १३ जनाले ज्यान गुमाए। यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष १२ हजारको हाराहारीमा नयाँ बिरामी पहिचान भइरहेका छन्। त्यस्तै ५० हजारभन्दा धेरै क्यान्सर रोगबाट ग्रस्त छन्।
भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। अस्पताल प्रशासक राजाराम तजलेका अनुसार प्रत्येक वर्ष ७० हजारभन्दा बढी चेकजाँचका लागि भक्तपुर क्यान्सर अस्पताल पुग्ने गरेका छन्। त्यसमध्ये ३ हजारभन्दा धेरैमा क्यान्सर देखिने उनले बताए।
‘नेपालमा क्यान्सर रोगको स्थिति भयावह छ,’ अस्पतालका प्रशासक तजले भन्छन्, ‘जनचेतनाको कमीले बिरामी अस्पतालमा आउन नचाहने अवस्था छ।’ यो संख्या प्रत्येक वर्ष २० देखि ३० प्रतिशतले बढिरहेको तथ्याङ्क उनले प्रस्तुत गरे।
पर्याप्त भौतिक संरचना नहुँदा उपचारमा केही कठिनाइ हुने गरेको तजले बताउँछन्। उनले थपे, ‘यसका अलावा हामीले बिरामीका लागि क्यान्सर रोगका सम्पूर्ण उपचार विधि उपलब्ध गराइरहेका छौँ।’
क्यान्सर नसर्ने प्राणघातक रोग हो। यो रोग लागिसकेपछि रोगीको मृत्यु हुने सम्भावना प्रवल हुन्छ। त्यसबाहेक यसको उपचार निकै खर्चिलो पनि छ। त्यसैले यसका रोगी र रोगीका परिवारलाई रोगसँगै लाग्ने खर्चले पनि निकै पिरोल्छ।
अस्पताल परिसरमा भेटिएका रामविनय महतो क्यान्सरको उपचार गर्दा आफ्नो सर्वस्व सकिएको बताउँछन्। ‘अर्को अस्पतालले रिफर गरेर पठाउँदा क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको रहेछ,’ क्यान्सर पहिचान नहुँदा पहिलो ३ महिना अरू नै औषधि प्रयोग गरेको सम्झँदै उनले भने, ‘अहिले उपचारका लागि खर्च जुटाउनै गाह्रो भइरहेको छ।
राम्ररी स्वास्थ्य परीक्षण नगराई औषधि खाने प्रवृत्तिले समस्या बल्झाउने गरेको अस्पताल प्रशासक तजलेको अनुभव छ। ‘पहिला अरू रोगको औषधि चलाउँछन् अनि महिनौँपछि त्यो औषधिले निको नभएपछि मात्र क्यान्सर हो कि भनेर हाम्रोमा रिफर आउँछ,’ उनले भने, ‘यसले गर्दा क्यान्सर अन्तिम अवस्थामा पुग्ने र बिरामीको स्वास्थ्यमा सुधार गर्न गाह्रो हुने हुन्छ।’
बिरामी र आफन्तले समयमा ध्यान नपु¥याउँदा समस्या हुने तजलेले बताए। ‘अन्तिम अवस्थासम्म पनि लक्षण नदेखिने हुँदा बिरामीको आर्थिक अवस्थामा अस्वाभाविक संकट पैदा गर्छ,’ तजले भन्छन्, ‘पहिला बिरामी, त्यसपछि मात्र परिवार अनि सरकार उपचार विषयमा पहिले नै सतर्क हुनुपर्छ।’
नेपालमा सबभन्दा धेरै फोक्सोको क्यान्सरका बिरामी बढिरहेका छन्। महिलामा पाठेघर तथा स्तन क्यान्सरको संख्या बढिरहेको छ। क्यान्सर रोग विशेषज्ञका अनुसार नेपालीको दैनिकीमा आएको परिवर्तन, धूमपान तथा खानामा जङ्क फूडको बढी प्रयोग तथा कृषिमा कीटनासक औषधि प्रयोगजस्ता कारणले क्यान्सरका रोगीहरूको संख्या बढिरहेको छ।
विशेषज्ञका अनुसार क्यान्सरमा पहिलो र दोस्रो चरणलाई उपचार गर्न सकिने अवस्था मानिन्छ, तेस्रोको उपचार गर्न कठिन हुने गर्छ भने चौथो चरण अत्यधिक कठिन अवस्था हो । चौथो चरणमा बिरामीलाई निको पार्न गाह्रो हुने चिकित्सक बताउँछन्। उनीहरूका अनुसार केही बिरामी त अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेका छन्।
भक्तपुर क्यान्सर अस्पतालको पछिल्ला केही वर्षको तथ्याङ्कअनुसार पहिले तेस्रो र चौथो अवस्थामा अस्पताल आउने बिरामीको संख्या अत्यधिक थियो। तर, अहिले भने पहिलो र दोस्रो अवस्थाका क्यान्सर बिरामी धेरै आउने गर्छन्। अस्पताल प्रशासक तजलेका अनुसार यसका कारण बिरामीको जनचेतनामा आएको वृद्धि हो।
सरकारी अनुदानका साथै रोटरी अन्तर्राष्ट्रिय क्लब र भक्तपुरबासीको सहयोगमा चलिरहेको यो अस्पताल देशको पुरानोमध्येको एक क्यान्सर अस्पताल हो। नेपाल अर्बुद रोग निवारण संस्थाले २०५१ मा स्थापना गरेको यस अस्पतालले अहिलेसम्म हजारौँ बिरामीको सफल उपचार गरिसकेको छ।
अहिले अस्पतालमा १ सय ४२ शय्या सञ्चालनमा छ। अस्पताललाई सरकारले थोरबहुत अनुदान पनि दिँदै आएको छ तर यसले केही सहयोग गरे पनि अस्पतालको स्तरोन्नतिमा सहयोग नपुगेको बताउँछन् अस्पताल प्रशासक तजले। उनी भन्छन्, ‘यदि सरकारले आर्थिक अनुदान तथा भौतिक संरचना सुधार्न सहयोग गर्ने हो, निजी अस्पतालले भन्दा गुणस्तरीय सेवा सस्तोमा उपलब्ध गराउन सक्छाँ।’
भक्तपुर क्यान्सर अस्पतालले प्रत्येक वर्ष ५ हजारभन्दा धेरै क्यान्सरपीडित बिरामीलाई उपचार दिइरहेको छ। यहाँ विपन्न परिवारका बिरामीले च्यारिटीमार्फत २० देखि ३० प्रतिशतसम्म छुट पाउँछन्।
अहिले सरकारले क्यान्सर रोगको उपचारका लागि प्रत्येक बिरामीलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरिरहेको छ। स्वास्थ्य मन्त्रालयले शुरुआत गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट पनि ५० हजार सहयोग उपलब्ध भइरहेको हुँदा बिरामीलाई केही राहत भएको छ।
चिकित्सकहरूका अनुसार महँगो औषधि र लगातार अस्पताल धाउनुपर्ने कारण बिरामी उपचार गर्न हिच्किचाउने गरेका छन्। भक्तपुर क्यान्सर अस्पतालले अहिले टेलिमेडिसिनको पनि सुविधा दिइरहेका छ।
अस्पताल प्रशासक तजलेले नेपाली पब्लिकसँग भने, ‘हामी टेलिमेडिसिनका माध्यमबाट अमेरिका, क्यानडाजस्ता विभिन्न देशका डाक्टरको सहयोगमा उपचार दिइरहेका छाैँ भने नेपालका विभिन्न जिल्ला तथा गाउँमा रहेका बिरामीका रोगको उपचार पनि गरिरहेका छौँ।’
