अमर न्यौपाने (२०३२) नेपाली आख्यान साहित्यमा कल्पनाशील अभिव्यक्ति र चमत्कारपूर्ण शैलीका कारण पाठकमाझ निकै प्रसिद्धि कमाएका लेखक हुन्। समाजमा प्रचलित अन्धविश्वास र रूढीका विरुद्ध मानवीय संवेदनाका कारुणिक विम्बहरू प्रस्तुत गर्ने सामाजिक–सांस्कृतिक परिवर्तनका अभियन्ता यी साहित्यकार कविता र रङसँग पनि उत्तिकै सम्मोहित छन्। सरल स्वभावका यी लेखकले सरल भाषामा प्रकट गरेका मानिसका समस्याहरूको अभिलेख इतिहासले कहिल्यै पुनर्लेखन गर्न नसक्ने विषय हुन्। उनका पानीको घाम (२०६६), सेता धरती (२०६८) तथा करोडौँ कस्तुरी नेपाली आख्यान साहित्यका विशिष्ट प्राप्ति हुन्। सेतो धरती उपन्यास मदन पुरस्कार (२०६८)द्वारा सम्मानित कृति हो भने यसले उठान गरेको विषय समाजशास्त्रीय अध्ययनका निम्ति महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज साबित भएको छ। लेखनमा सदैव वास्तविक तथ्यहरूको खोजी गर्दै स्थानीय भाव र भाषाको अभिव्यक्ति दिन तत्पर रहने आख्यानकार अमर न्यौपानेसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी:
अमर न्यौपाने नाम नै पाठकका लागि हार्दिक संवादको मीठो पर्याय, तर हिजोआज तपाईंको लेखकीय मौनतालाई कसरी बुझौँ?
– मानिस आनन्दको खोजीमा हुन्छ। पाए पनि नपाए पनि म पनि आनन्दको खोजीमा हुन्छु। प्राय: वाचाल हुनुमा भन्दा मौन हुनुमा आनन्द भेटेझैँ लाग्छ। यस्तो बेला अक्सर मौन हुन्छु। कहिलेकाहीँ वाचाल हुनुमा पनि आनन्द भेट्छु। प्रिय मानिसहरूसँग मन खोलेर घण्टौँ बोल्दा खुब आनन्द लाग्छ। प्रिय पात्रलाई लेख्दा पनि आनन्द लाग्छ। अलि धेरै गफ छाँटियो क्या हो। खासमा वाचाल हुन खोज्दा धेरै गल्ती बोलेँजस्तो लाग्छ। दिनभरि आफूले बोलेका कुरा राति निदाउनुअघि सम्झेर विचार गर्छु। प्रायः लाग्छ, आधाभन्दा धेरै कुरा त मैले नबोलकै भए हुने रहेछ। लेखेका कुरा धेरै प्रकाशित गर्दा पनि यस्तै लाग्छ। त्यसैले धेरैजसो मौन हुन्छु। यी माथिका कुराभन्दा सत्य कुराचाहिँ म एक नम्बरको अल्छी छु।
लेखक–कलाकारका लागि वर्तमान समय के कति अनुकूल र के कति प्रतिकूल छ?
– प्रत्येक समयमा चुनौती र अवसर, अनुकूल र प्रतिकूलको अवस्था झन्डै उस्तै उस्तै रहन्छ। यस्ता अनुकूल र प्रतिकूल अवस्थाहरू अस्थिर हुन्छन्। आइरहन्छ, गइरहन्छ। आधाउधी अनुकूल त स्वयंले बनाउने पनि होला। अझै अनुकूल बनाउन समय, समाज र परिवेशसँग वार्ता गर्नुपर्छ। कतिपयले प्रतिकूल समयमा पनि अवसर सिर्जना गर्छन्।
नेपालका धेरै राजनीतिक दुर्घटना रहस्यमय छन्। ती किताबमा कतै ती रहस्य खुलेका पो छन् कि भनेर पढिएका छन्।
समय, समाज र परिवेश बढो हठी हुन्छन्। यिनलाई खुसी बनाउन गाह्रो हुन्छ। जसले खुसी बनाउन सक्छ, उसले आफूलाई अनुकूल महसूस गर्छ। जस्तो कि अहिले कविहरूका कविताको किताब प्रकाशकले पनि छाप्दैन। कविता बिक्दा पनि बिक्दैन भनेर उपन्यास लेखन र प्रकाशन गरिरहेको समयमा सबैभन्दा धेरै बिक्ने उपन्यासभन्दा कविता बेचिरहेछन् कवि नवराज पराजुलीले। उनीसँग समय, समाज र परिवेश खुसी छ।
लेखनका निम्ति स्थानीय विषयहरूको खोजी कसरी गर्ने?
–हामी सबै कुनै न कुनै स्थानमा छौँ। आफू बाँचेको स्थान र त्यस वरिपरिको परिवेश नै स्थानीय हो। खोज्नै पर्दैन हेरे पुग्छ। खोज्न जान पनि सक्छौँ, अर्को कुनै स्थानमा। हाम्रा बाआमा, हजुरबा हजुरआमाले बाँचेको मसलारहित जीवन पनि स्थानीय नै हो। त्यो जीवनलाई सुनौँ, खोज्नै पर्दैन। गाउँ शहर सबै ठाउँमा पाइने विषय स्थानीय नै हुन्। लेखकहरूले बेवास्ता गरेका कारण तिनले मौनधारण गरेर बसेका छन्। तिनलाई जगाउने काम लेखकहरूले नै गर्ने हो। कलासाहित्यमा अहिले भाषिका खुब लोकप्रिय हुँदैछ। हेर्नु न, बुलबुल फिल्म कस्तो लोकप्रिय भइरहेछ। गीतमा पनि रेलको झ्याल समाऔँला होइन समाम्ला चल्छ, जाऔँला होइन जाम्ला चल्छ। स्थानीय स्वाद मीठो हुन्छ। त्यहाँ भुटुनमसला कम हुन्छ। त्यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ।
आख्यानमा लेखकीय मौलिकता के कसरी प्रतिविम्बित हुने गर्छ वा गर्न सकिन्छ? यो पात्रगत हुन्छ कि कथानकअनुसार हुन्छ?
–लेखक भनेको नीलो रङ हो भने पात्र भनेको पहेँलो रङ। दुवैलाई मिसाइदियो भने हरियो रङ बन्छ। त्यही हरियो रङ पनि कति फरक फरक हुन्छ। आँपको पात पनि हरियो हुन्छ, केराको पात पनि हरियै, लसुनको पात पनि हरियै हुन्छ, प्याजको पात पनि हरियै। प्रायः प्रत्येक वनस्पतिको पात हरियो भएर पनि प्रत्येकको हरियो फरक फरक छन्। एउटै आँपको रूखमा पनि टुप्पाको पातको हरियो र फेदको पातको हरियो फरक फरक हुन्छ। मौसमअनुहार हरियोको रङ बदलिन्छ। त्यसरी नै लेखकले जतिसुकै पात्रलाई लेख्छु भने पनि आफूलाई लेखिरहेको हुन्छ; जतिसुकै आफूलाई लेख्छु भने पनि पात्रलाई लेखिरहेको हुन्छ। कथानक र पात्र भनेका नदीको किनार र पानीजस्तै हुन्। कथानक किनार हो भने पात्र पानी। नदीको बगाइ कस्तो हुने भन्ने कुरा पानीको मात्रा र भूगोलमा भर पर्दछ। त्यही सेती नदी पहाडमा, खोँचमा र मैदानमा फरकफरक तरिकाले बग्छ। जीवन पनि त्यस्तै हुन्छ। आख्यान जीवनजस्तै। अझ सूक्ष्म रूपले भन्ने हो भने, प्रत्येक मानिसको अनुहार र औँठाछाप फरक फरक हुन्छ। लेखनमा पनि प्रत्येक लेखकले आफ्नै अनुहार र औँठाछाप बनाउने हो। यो कसरी गर्ने भन्ने सवाल उठ्छ। त्यसका लागि आफैलाई खोज्ने हो। आफूभित्र भएको फरक पनलाई महसूस गर्ने हो।
अहिलेको समय कथाको नभएर आत्मकथाको हो भनिन्छ नि, समकालीन कथाका पात्रहरू आफ्नो समयसँग निराश भएकै हुन् त?
–जतिसुकै आख्यान लेखे पनि त्यहाँ आत्मकथा मिसिएको हुन्छ; जतिसुकै आत्मकथा लेखे पनि त्यहाँ आख्यान मिसिएको हुन्छ।
यो उत्तर अलि अमूर्त भयो क्यारे। अलि वस्तुगत हुने हो भने आफूलाई प्रस्तुत गर्ने सबैभन्दा सजिलो माध्यम नै अक्षर हो। जतिसुकै ठूलो पद, प्रतिष्ठा, सत्ता, शक्ति, सम्पत्ति प्राप्त गरे पनि जब सत्ता र पदबाट अवकाश भइन्छ, मानिसलाई आफ्नो अस्तित्वको खोजी गर्न मन लाग्छ। त्यो खोजीमा केही ठूला मानिसहरूको आत्मकथा आएका छन्। आउनेवाला छन्। र, तीमध्ये कतिपय चलेका पनि छन्। जुनसुकै क्षेत्रका भए पनि सर्वोच्च पदमा पुगेका मानिसहरूको आत्मकथा धेरै मानिसले पढेको उनीहरूको जीवन जान्न होइन।
ग्रामीण जीवनमा आधारित किताब नै सर्वाधिक विक्रीमा पनि छन्। साहित्य मात्र होइन, सिनेमा र टेलिशृङ्खलाहरू पनि ग्रामीण जीवनमा आधारित नै लोकप्रिय छन्।
नेपालका धेरै राजनीतिक दुर्घटना रहस्यमय छन्। ती किताबमा कतै ती रहस्य खुलेका पो छन् कि भनेर पढिएका छन्। आत्मकथा लेख्नेहरूले पनि ती रहस्यलाई छुन्छन्, बाहिर बाहिर खेलाउँछन्। बोक्रा कोट्याउँछन् र अलि अलि गुदी पनि। तर, बियाँमा पुग्दैनन्। कतिपय आत्मकथा सम्बन्धित व्यक्तिको प्रसिद्धि या लेखनशिल्पका कारण पनि धेरै पढिएका छन्। ती विख्यात पनि भएका छन्। यसरी आत्मकथाहरू आउँदा आख्यानलाई बाधा पुग्दैन। तर, आख्यान धारिलो भएर नआएको महसूस मैले पनि गरेको छु।
जीवन कथा हो कि उपन्यास?
–जीवन त उपन्यासभन्दा पनि माथि महाआख्यान नै हो। कथा त दिनकै घटिरहेका हुन्छन्। सानासाना क्षणहरूमा कथा लेखिरहेका हुन्छन् जीवनका पाइलाहरूले। कहिले त तपाईं घरबाट कलेज जाँदा पनि एउटा कथा हिँडिसक्नुहुन्छ। तर, उपन्यास हिँडिसकिन्नँ। जीवनभरिमा भने धेरै उपन्यास हिँडिसकिन्छ।
नेपाली साहित्यमा ग्रामीण जीवन उपेक्षित हुँदै गएको छ भन्ने आलोचनात्मक प्रतिक्रियालाई यहाँको लेखन र पठन अनुभवले चाहिँ कस्तो देखिरहेको छ?
–साहित्यमा ग्रामीण जीवन त अझ लोकप्रिय भएको पो देख्छु। कवितामा मुनामदनदेखि सगरमाथाको गहिराइसम्म आउँदा ग्रामीण जीवन नै छन्। कथामा पनि नासोदेखि ऐनासम्म आउँदा ग्रामीण जीवन नै छन्। उपन्यासमा पनि रूपमतीदेखि ऐलानीसम्म आउँदा ग्रामीण विषय नै छन्। र, यी लोकप्रिय पनि भएका छन्। पुरस्कृत पनि भएका छन्। ग्रामीण जीवनमा आधारित किताब नै सर्वाधिक विक्रीमा पनि छन्। साहित्य मात्र होइन, सिनेमा र टेलिशृङ्खलाहरू पनि ग्रामीण जीवनमा आधारित नै लोकप्रिय छन्।
तपाईंका रचनामा आउने परिवेश र पात्रले सिर्जना गराउने कल्पनाशीलताप्रति पाठकको उमेर, लिङ्ग र वर्गअनुसार फरक फरक मत पाइन्छ। लेखकले प्रयोग गर्ने कल्पनाशीलताको सीमा कसरी तय गर्नुहुन्छ?
–मैले पहिलो पटक १६ वर्षको उमेरमा तीन घुम्ती पढेको थिएँ; मन परेन। २१ वर्षको उमेरमा फेरि पढेँ, मन पर्यो। ३१ वर्षको उमेरमा फेरि पढें; अझ मन पर्यो। उमेरले मलाई अनुभव गर्न र सत्यको नजिक जान सिकाउँदै थियो। उमेरअनुसार जीवनप्रतिको बुझाइ फरक फरक हुन्छ। बुझ्दै जाँदा कतिपय पहिले मन परेका पछि मन पर्दैनन्; कतिपय पहिले मन नपरेका पछि मन पर्छन्। लिङ्ग र वर्गको कुरा अलि फरक होला। प्रत्येक मानिसले सबैभन्दा धेरै हेर्ने भनेको चिज ऐना हो, किनभने त्यहाँ आफूलाई देखिन्छ।
हामीकहाँ थिम धेरै छन्। थिम धेरै हुन संस्कृति, प्रकृति, जाति र भाषावेषमा विविधता चाहिन्छ। त्यो हामीकहाँ प्रशस्तै छ। ती बगिरहेका छन्। कति त बग्दाबग्दै सुकेका पनि छन्। तिनलाई लेख्न बाँकी छ।
हरेक मानिस आफूलाई देख्न चाहन्छ। आफू नभएको ठाउँमा पनि आफूलाई देख्न चाहन्छ। जस्तो कि तपाईं एउटा कोठामा चारतिर चारओटा ऐना राखिदिनुस् र आफू माझमा उभिनुहोस्। आफूलाई चारतिर देख्न पाउँदा खुब खुसी लाग्छ। त्यस्तै पाठकले किताबमा पनि आफूलाई देख्न चाहन्छ। जुन किताबमा आफूलाई देखिन्छ, त्यही किताब नै बढी लोकप्रिय हुन्छ।
लेखक हुनका लागि चाहिने मूल तीन कुरा के के हुन्?
–साँच्चै भन्ने हो भने म पनि ती तीन कुराको खोजीमा छु। एउटा त अवश्य होला मसँग। सायद त्यो करुणा हो। अर्को छ कि छैन, मेसो पाएको छैन। आध्यात्मिकता हो कि? तेस्रो पाएपछि साँच्चै नै मलाई थाहा हुनेछ, लेखनमा केके चाहिन्छ। तेस्रो जीवन हो भनेँ भने एकदम भेग हुन्छ। यस्तो म भन्दिनँ।
समकालीन साहित्य लेखनको गति र थिमको तुलनात्मक स्थितिका बारेमा तपाईंको कस्तो धारणा छ?
–यो प्रश्नको उत्तर गतिलोसँग दिने हो भने त एउटा थेसिस जत्रै हुन्छु होला। म परेँ पाँचसात हरफमै टार्ने मान्छे। समकालीन साहित्य लेखनको गति नेपालका नदीहरूको जस्तो तीव्र छैन। तीव्र नभए पनि त्यहाँ डुङ्गा त तीव्र रूपमा चलाउन सकिन्छ। चलिरहेकै पनि छ। हाम्रा डुङ्गाहरूले परिष्कार खोजिरहेका छन्। डुङ्गामा चढ्ने यात्रीहरूले नयाँपन खोजिरहेका छन्। नदीहरूको गति तीव्र नभएकाले त्यहाँ हामीले फोहोर पनि फ्याँकेकाले ती नदी अलि प्रदूषित पनि भएका छन्। सफा गर्न सकिन्छ। हामीकहाँ थिम धेरै छन्। थिम धेरै हुन संस्कृति, प्रकृति, जाति र भाषावेषमा विविधता चाहिन्छ। त्यो हामीकहाँ प्रशस्तै छ। ती बगिरहेका छन्। कति त बग्दाबग्दै सुकेका पनि छन्। तिनलाई लेख्न बाँकी छ। एउटै थिममा पनि धेरै किताब लेख्न सकिन्छ। त्यसैले थिममा नेपाल जलस्रोतमा जस्तै धनी छ। नेपालका जलस्रोतबाट जति बिजुली निकालिएको छ, नेपालका थिमहरूबाट पनि त्यति नै साहित्य लेखिएका छन्।