काठमाडौँ – ‘एउटा खेलाडीले खेल जित्छ तर उत्कृष्ट सोच बोकेको खेलाडीले खेलसँगै हजारौँको मन पनि जित्छ।’ नेपाली खेलकुद क्षेत्रमा पनि सीमित खेलाडीहरू मात्रै छन्, जसले खेलसँगै कयौँ शुभचिन्तकका मन जितेका छन्। उदाहरणीय खेल प्रस्तुत गरेर राष्ट्रका लाखौँ नागरिकको सद्भाव र स्नेह पाएका छन्। त्यस्तै एक युवा खेलाडी हुन्– एस्तर राई।
नेपाली खेलकुद क्षेत्रका धेरै कुशल र होनाहार खेलाडी झापाले जन्माएको छ। झापाबाट खेलकुद क्षेत्रमा उदाएका फुटबलर हरि खड्कादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीसम्मका खेलाडीले यसलाई पुष्टि गरेका छन्।
यही सूचीमा आफ्नो नाम थप्न सफल भएकी छन्, कीर्तिमानी खेलाडी एस्तर राई। विसं २०५४ साल पुस ३ गते बुवा प्रेमकुमार राई र आमा आइतमाया राईकी जेठी सुपुत्रीका रूपमा झापाको बिर्तामोडमा जन्मिएकी हुन्, एस्तर।
एसियन च्याम्पियनशिपको १६औँ संस्करणसम्म पदकविहिन रहेको नेपालको जीतको खडेरी चिर्दै एस्तरले १७औँ संस्करणमा नेपालका लागि पहिलो कास्य पदक जितिन्। जसले उनको खेल क्षमतालाई पुष्टि गर्यो।
बुवाको प्रेरणाबाट कराते खेलमा
जापानको ओकिनावा शहरमा भएको १७औँ एसियन जुनियर तथा यू–२१ कराते च्याम्पियनशिपमा पदक जितेर एस्तरले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले राष्ट्रियस्तरका २ दर्जनभन्दा बढी स्वर्ण जितेकी छन्। बुवाको प्रेरणा र सहयोगले यो ठाउँसम्म पुगेकी उनी बताउँछिन्।
‘मेरो बुवाले कराते खेललाई अघि बढाउन निरन्तर हौसला र प्रेरणा दिनुहुन्छ, आमाको पनि साथ छ,’ उनी भन्छिन्, ‘परिवारको हौसला र प्रेरणालाई शिरमा राखेर सबै चाहना त्याग्दै राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्दैछु।’
नेपाली खेलकुद क्षेत्रमा अलग पहिचान बनाउँदै गएकी क्षमतावान खेलाडी एस्तर मुलुकले खेलाडीलाई राष्ट्रको गहना सम्झेर सम्मान गर्दा जिम्मेवारी अझ बढ्ने धारणा राख्छिन्। तर, समाजको दृष्टिकोण बदल्नु पर्नेमा उनको जोड छ।
पुरुषलाई जति सहज महिलालाई नरहेको बताउँदै एस्तरले लैङ्गिक समानता आवश्यक रहेको बताइन्। नेपाली समाजमा व्याप्त असमानतालाई चिरेर अघि बढ्नसके मुलुकको उन्नति र समृद्धिमा समय नलाग्ने उनले बताए।
आफ्ना बुवालाई ‘सुपर हिरो’ मान्ने एस्तरलाई परिवारका सबै सदस्यले साथ, सहयोग र हौसलाको कमी हुन दिएनन्। प्रायःसबै अभिभावकले आफ्ना छोराछोरीले अन्तर्राष्ट्रिस्तरमा ख्याति कमाएको हेर्ने चाहना बोकेकै हुन्छन्। तर, थोरै सन्तानले मात्रै अभिभावकको त्यो चाहना पूरा गर्न सक्षम हुन्छन्।
डाक्टर, पाइलट, इञ्जिनीयर आदि बनाउने सोच बोकेका अभिभावकको भीडमा छुट्टै सोचाइ राख्ने एस्तरका बुवा प्रेमकुमार अहिले आफ्नी छोरीको खेल कौशलबाट प्रफुल्ल छन्। उनी छोरीको मेहनत र सफलताप्रति गर्व गर्छन्। प्रेमकुमार पनि खेलकुद क्षेत्रमा रुचि राख्थे। त्यसैले पनि छोरीको सफलतालाई उनले आफ्नो सफलता ठानेका छन्।
यसरी सिकिन् कराते
साथीहरूले कराते खेलेको देखेपछि एस्तर पनि शनिश्चरे डोजोमा कराते सिक्न पुगेकी थिइन्। निरन्तर अभ्यास, मेहनत र बुवाको सपना पूरा गर्ने लक्ष्यका साथ पहिलो पटक अन्तर्राष्ट्रिय रिङमा उत्रिएकी एस्तरले भारतको दिल्लीमा भएको तेस्रो अन्तर्राष्ट्रिय एसिया कराते च्याम्पियनशिपमा कास्य पदक हात पारिन्।
सन् २०१६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्य देशका अब्बल खेलाडीहरूमाझ नेपालका लागि पदक जित्नु निश्चिय नै ठूलो उपलब्धि थियो। ‘त्यो बेला म झापामै अभ्यासरत थिएँ, त्यहाँ काठमाडौँमा जस्तो धेरै प्रतियोगिता हुँदैन थिए, अभ्यासका लागि अत्यावश्यक सुविधा पनि अभाव हुन्थ्यो, त्यस्तो अवस्थामा पनि मैले पहिलो पटकमै पदक जितेँ, त्यो मेरो करियरकै सुनौलो खुड्किलो बन्यो,’ एस्तरले उत्साहित हुँदै भनिन्।
त्यो पदकले एस्तरलाई थप हौसला बढायो। उनी नेपालको खेलकुद क्षेत्रका अगुवाको नजरमा परिन्। परिवारले दिने हौसला र आशीर्वाद त उनीसँग सधैँ थियो नै। आत्मविश्वास पनि बढ्यो। पढाइमा जे–जति असर पुगको थियो, त्यो सबैका बीच पनि उनी सन्तुष्ट भइन्।
मानिसले आफूलाई सावित गर्ने मौका एक पटक पाउँछ। त्यो मौका एस्तरको सोही कास्य पदक बन्यो। त्यो पदक जित्नेबित्तिकै उनलाई विभिन्न विधामा प्रतिभावान् खेलाडीका उत्पादनकर्ता ध्रुवविक्रम मल्लले काठमाडौँ बोलाए। एसियन गेम्सकी पदक विजेता विमला तामाङ तथा विश्वप्रसिद्ध अल्ट्राधावक मीरा राई जस्ता खेलाडीका मार्गदर्शक बनेका मल्लले एस्तरको खेल जीवनमा नवीनतम् मार्ग पहिल्याउन सहयोग पुर्याइरहेका छन्।
मल्लको मार्गनिर्देशनमा एस्तरले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हासिल गरिसकेकी छन्। सन् २०१६ बाट पदक बटुल्न थालेकी एस्तरले श्रीलंकामा भएको चौथो एसियन कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितिन्। ६० केजी तौल समूहमा नेपालको प्रतिनिधित्व गरिरहेकी एस्तर नै सन् २०२० को ओलम्पिकका लागि मनोनयनमा रहेकी छन्।
‘टोटल फोकस अन म्याच’
झापाको शनिश्चरेमै एस्तरले खेलकुद के हो र कराते के हो भनेर बुझ्ने मौका पाइन्। उनको निरन्तरको मेहनत र खेलमा लगाव भएकै कारण अहिले उत्कृष्ट युवा खेलाडीहरूमा उनको नाम अग्रपङ्तिमा आउँछ।
शनिश्चरे डोजो कराते खेल खेल्न शुरु गर्दा प्रशिक्षक कुमार उप्रेतीले दिएको मन्त्र ‘टोटल फोकस अन म्याच’ले उनलाई अब्बल खेलाडीका रूपमा स्थापित हुन मद्दत गर्यो। तर, उनले पढाइलाई भने समय दिन सकिनन्।
‘एक खेलाडीका लागि खेलकुद र पढाइलाई सन्तुलनमा अगाडि बढाउनु ठूलो चुनौती हुन्छ,’ एस्तर भन्छिन्, ‘सबै मानिस सम्पूर्ण क्षेत्रमा अब्बल हुँदैन, अहिले बीए तेस्रो वर्षसम्म पढाइलाई पुर्याएकी छु, म यसमै सन्तुष्ट छु।’
कक्षा १० मा पढ्दा सेन्टअप छाडेर राष्ट्रपति रनिङ शिल्ड खेल्न जाँदा बुवाले दिएको प्रेरणाले उनलाई यहाँसम्म पुर्याएको एस्तर बताउँछिन्। ‘बरु खेलकुदमै राम्रो गर्न बुवाले भन्नुभएको थियो,’ उनले भनिन्।
बुवाले गरेको विश्वास र दिएको हौसलाले जापानमा जितेको ऐतिहासिक कास्य पदक नै आफ्ना लागि अहिलेसम्मकै महत्त्वपूर्ण उपलब्धि रहेको एस्तर बताउँछिन्। त्यो जीतको स्मरण गर्दै उनले भनिन्, ‘मैले देशका लागि मेडल जितेँ, कराते खेल्न शुरु गरेपछि अहिलेसम्ममा सबैभन्दा धेरै खुशी त्यही बेला भएँ, बुवाका लागि पनि पदक जितेँ।’
आगामी ओलम्पिक, साग, आठौँ राष्ट्रिय खेलकुद लगायतका प्रतियोगितामा आफ्नो सहभागिता ‘अवसर र चुनौती’ दुवै रहेको एस्तर बताउँछिन्। दैनिक ५–६ घण्टा अभ्यासमा बिताउने एस्तर हाल इञ्जुरी र परीक्षाका कारण गृहजिल्ला झापा पुगकी छन्।
झापाको इडेन गार्डेन विद्यालयबाट एसएलसी पास गरेकी एस्तरले कन्काई क्याम्पसबाट प्लस टू गरिन्। अहिले उनी सोही क्याम्पसकी स्नातक तह तेस्रो वर्षमा मानविकी संकायमा अध्ययनरत विद्यार्थी हुन्। एस्तर काठमाडौँमा होस्टेलमा बसेर करातेको अभ्यास गर्दै आएकी छन्। खेलकुदबाहेक सङ्गीत र घुमफिर मन पराउने एस्तरका एक भाइ छन्।
उदीयमान खेलाडी एस्तर पदकसँगै लाखौँ नेपालीको मन जित्ने खेलाडी हुन्। उनको खेलकुद यात्रा यसरी नै प्रेरक र अनुकरणीय रूपमा अघि बढिरहोस्।