काठमाडौं – सन् २००८ को युएफा च्याम्पियन्स लिगको फाइनलमा रोनाल्डोको खेल हेरेपछि उनले फुटबलर बन्ने सपना बुन्न थाले। धान काटेपछि खेतका गह्राहरु, गाउँका चौरहरु र विद्यालयका मैदानका फुटबलको अभ्यास गरिरहन्थे। तर, उनीभित्रको क्षमता चाहिँ अरु कुनै फिल्डमा रहेछ। हो, करातेको स्वर्णपदक विजेता (गोल्ड मेडलिस्ट) विजय श्रेष्ठको बाटो बदलिएको छ। उनी अहिले फुटबलको मैदानमा छैनन्।

करातेको रिंगमा उनी पदकहरु जित्दै आफ्नो खेल जीवनलाई अघि बढाइरहेका छन्। वि.सं. २०५७ साल पुस ६ गते बुवा धनबहादुर श्रेष्ठ र आमा यमकुमारी श्रेष्ठका कान्छा सुपुत्रको रुपमा सिन्धुपाल्चोकको कदमबासमा जन्मिएका विजय ८ वर्षका थिए, जब उनले विश्व प्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोको खेल टिभीमा हेरेर आफू पनि उनी जस्तै फूटबल खेलाडी बन्ने सपना बुने। साथीभाई जम्मा गरेर खेतका गह्राहरुमा फुटबल खेल्दै दुवोले सिँगारिएको मैदानमा आफ्नो नाम लेखिएको नेपाली राष्ट्रिय टोलीको जर्सी लाएर खेल्ने सपना पनि देख्न थाले।
फुटबलको चाहना, करातेबाट पदक
अमेरिकी पूर्व राष्ट्रपति थियोडर रुजवेल्टले भनेका छन्,
‘सपनाहरु करिब–करिब अर्थहीन हुन्छन्, तर तिनीहरुको कार्यसम्पादन वा देखाउने बाटो चाहिँ महत्वपूर्ण हुन्छ।’ त्यस्तै भयो, विजयको जीवनमा पनि। उनले देखेको राष्ट्रिय खेलाडी बनेर देशको प्रतिनिधित्व गर्ने पूरा पनि भयो। तर, उनी फूटबल खेलाडी बन्न चाहन्थे, कराते खेलाडी बने।

विजय सानै हुँदा उनको परिवार काठमाडौँ बसाइँ सरेर आयो। र, उनी अध्ययनका लागि जेम्स स्कूलमा भर्ना भए। फुटबल खेलाडी बन्ने इच्छा उत्तिकै थियो। तर, एन्फामा गएर फुटबल सिक्न पाइन्छ भन्ने थाहा नपाएका कारण सपना सपनामै सीमित रह्यो। सन् २००८ मे २१ मा चेल्सीविरुद्धको खेलमा रोनाल्डोको अविस्मरणीय खेल हेरेर खेलकुदमै जीवन व्यथित गर्न चाहेका विजयले स्कूलमा कराते सिक्ने अवसर पाए। कराते सिक्दै गर्दा फुटबलमा नभए कराते नै भएपनि खेल्छु तर खेलाडी बनेरै छाड्छु भन्ने अठोट लिएर सितोरियो कराते सिक्न थाले।
परिवारले केही हदसम्म पढाईमै जोड दिन भनेपनि उनको खेलप्रतिको लगाव र मेहनत देखेर परिवारले पनि सहयोग गर्न थाल्यो। निरन्तरको मेहनत, परिवारको साथ र गुरु पृथ्वीबहादुर श्रेष्ठले निर्देशन गरेको मार्गमा चलिरहेका विजयले १८ वर्षको उमेरसम्म आइपुग्दा अन्तर्राष्ट्रियस्तरका आधा दर्जनभन्दा बढी मेडल बटुलिसकेका छन्।
निरन्तर अभ्यास र खेलाडी बन्ने लक्ष्य लिएर मैदानमा उत्रिएका विजयको पहिलो सफलता नै २०१६ मा दिल्लीमा भएको साफ च्याम्पियनशीपमा ५५ केजी तौल समूहमा जितेको गोल्डमेडल हो।
उनी अहिले कराते सिक्दै गरेका भाइबहिनीलाई आफ्नो अभ्यासका क्रममा देखिएका कमजोरीलाई पहिचान गरी तत्काल सुधारेर अघि बढ्ने सुझाव दिन्छन्। समग्र खेलुकद क्षेत्रको आइडल क्रिस्टियानो रोनाल्डोलाई मान्ने विजय बालाजु कराते डो एकाडेमीका ब्याल्क बेल्ट, सेकेण्ड डान हुन्।
आफू यो स्तरसम्म पुग्नुको स्ट्रेन्थको रुपमा अथक अभ्यासलाई लिने उनी बिहान, दिउँसो र बेलुका गरेर तीन सेसनमा अभ्यास गर्ने गरेको सुनाउँछन्। पढाईमा खेलले प्रत्यक्ष असर पुर्याउने बताउँदै विजय भन्छन्, ‘कक्षा बढ्दै जाँदा पढाई बिग्रिँदै गयो र त्यस्तो हुँदा परिवारले कराते छोड्दै भन्दा छोडेको भए आज म यहाँ हुने थिइन।’
एकपछि अर्को सफलता
जबदेखि उनले कराते खेल्न थाले तबदेखि यसको वैकल्पिक विषय नखोजेका विजय बताउँछन्। उनी भन्छन्, ‘खेलाडी हुनका लागि पीडा सहन सक्ने र पीडामा खुशी खोज्ने क्षमता हुनु आवश्यक छ।’ एसिया कराते च्याम्पियन रहेका उनी ५५ केजी तौल समूहमा विश्वको २५औँ स्थानमा रहेका खेलाडी हुन्। त्यस्तै, एसियाका उत्कृष्ट ५ मा पर्ने विजय भन्छन्, ‘च्याम्पियन हुनु ठूलो कुरा होइन, च्याम्पियन भइरहनु ठूलो कुरा हो।’ २०२० ओलम्पिकका लागि मनोनयनमा परेका विजय मलेशियाली ओपन कराते–२०१६ का गोल्डमेडलिस्ट हुन्।
अजरबैजानका ३३ वर्षीय कराते खेलाडी राफेल अगाहेभलाई करातेको आदर्श मान्ने विजय नेपालमा भएका दुई कराते संघको समायोजनले खेलाडीहरुलाई आफूहरु जस्ता खेलाडीहरुलाई सहयोग पुग्नेमा आशावादी छन्।
त्यस्तै, यु–२१ कराते, इण्डोनेशियामा सातौँ भएका विजय मलेसियामा भएको मेयरकप कराते प्रतियोगिताका पनि गोल्डमेडलिस्ट हुन्। यू–२१ साफ च्याम्पियनशीप २०१७ मा कास्य पदक जितेका विजयले एशियाली कराते च्याम्पियनशीप २०१८ मा उनी उत्कृष्ट पाँचमा परे।

तीन पटक अभ्यास गर्दा लागेको थकाइलाई रिङसम्म पुग्न कहिल्यै नदिएका विजय भन्छन्, ‘कराते खेलाडीलाई अभ्यास गर्न प्रशस्त समय हुन्छ, तर आफ्नो सम्पूर्ण क्षमता सावित गर्न ३ मिनेटमात्र समय हुन्छ भन्ने गुरुले दिएको मन्त्रलाई मैले कुनै कसर नराखी आफूमा लागु गरेँ। अभ्यास गरे अनुसारको खेल रिङमा प्रस्तुत गर्नु मेरा लागि सदैव प्राथमिकताको विषय हो।’ कराते हेर्दा बलजफ्तीको खेल देखिएपनि रणनीतिक खेलको रुपमा परिभाषित गर्ने उनले जापानमा भएको यू–२१ एसियन कराते च्याम्पियनशीपमा पाँचौँ स्थान कब्जा गरे।

आफूलाई सधैँ च्याम्पियन नै राख्न चाहने श्रेष्ठले इण्डोनेसियाको जकार्तामा भएको एसियन सितोरियो कराते च्याम्पियनशीप २०१८ मा पनि गोल्ड मेडल जितेका छन्। उनी अहिले कराते सिक्दै गरेका भाइबहिनीलाई आफ्नो अभ्यासका क्रममा देखिएका कमजोरीलाई पहिचान गरी तत्काल सुधारेर अघि बढ्ने सुझाव दिन्छन्। समग्र खेलुकद क्षेत्रको आइडल क्रिस्टियानो रोनाल्डोलाई मान्ने विजय पछिल्लो ३ वर्षदेखि ध्रुव बिक्रम मल्लको प्रशिक्षणमा अभ्यास गरिरहेका छन्। उनी बालाजु कराते डो एकाडेमीका ब्याल्क बेल्ट, सेकेण्ड डान हुन्। अजरबैजानका ३३ वर्षीय कराते खेलाडी राफेल अगाहेभलाई करातेको आदर्श मान्ने विजय नेपालमा भएका दुई कराते संघको समायोजनले खेलाडीहरुलाई आफूहरु जस्ता खेलाडीहरुलाई सहयोग पुग्नेमा आशावादी छन्। आफूलाई यहाँसम्म पुर्याउनका लागि गुरुहरु श्याम शुनुवार राई, रामचन्द्र गरुङ र नारायण पन्तको अतुलनीय योगदान रहेको विजय बताउँछन्।
हाल काठमाडौँको बनस्थलीस्थित रानीवन बस्ने विजय रेडोन कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। उनी अभ्यास सकेर केही समय अध्ययनमा बिताएपछि साथीहरुसँगको जमघटमा रमाउन चाहन्छन्। आफ्नो पूर्ण जीवन सितोरियो करातेमै व्यथित गर्न चाहने विजय विश्व सितोरियो कराते च्याम्पियनशीप २०१९मा सहभागी हुन जापान जाने तयारीमा रहेका छन्।