काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपाललाई एमाले र कांग्रेसले आफ्ना मन्त्री हेरफेरको चरणमै सरकारमा सहभागी गराउने भएका छन् । साउनको दोस्रो साताभित्रै मन्त्री हेरफेर गरेर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी भएको हो ।
३० असारको साँझ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादवसँग भएको छलफलपछि एमाले र कांग्रेस उक्त निष्कर्षमा पुगेको स्रोतको दाबी छ । त्यही क्रममा जसपा नेपाललाई दिने मन्त्रालय र संख्या टुंगो लगाउन सजिलो हुने भएकाले उक्त प्रयास भएको हो । एमालेले आफ्ना अधिकांश मन्त्रीहरू फेर्ने प्रयास गरिरहेको छ भने कांग्रेसले विवादमा तानिएका केही मन्त्रीबाहेक अधिकांशलाई निरन्तरता दिन खोजेको छ ।
जसपा नेपालले मन्त्रालयमा गर्ने दाबीका आधारमा पनि मन्त्रीहरू हेरफेर हुने स्रोतको भनाइ छ । एमालेले भने शिक्षामन्त्री रघुजी पन्त, सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबाहेकका मन्त्री हेरफेर गर्ने चर्चा भइरहेको छ । पन्त र न्यौपाने भर्खरै मन्त्री भएका कारण उनीहरूले निरन्तरता पाउनेछन् ।
पौडेल र गुरुङको सन्दर्भमा भने एमालेभित्रको सम्भावित समीकरणका कारण उनीहरूको मन्त्री पद सुरक्षित हुने सम्भावना बढेको हो । पौडेल र गुरुङ त्यही कारणले अहिले मझधारमा उभिएका छन् । जसपा नेपाललाई सरकारमा ल्याउने क्रममा जनमत पार्टीलाई भने मधेश प्रदेशको मुख्यमन्त्रीबाट हटाइनेछ । जनमतले मुख्यमन्त्री सतिश सिंहको निरन्तरता चाहेको छ ।
उसले कांग्रेसलाई सत्ता छोड्न नमानेका कारण पनि एमाले र कांग्रेस जनमतको विकल्पमा जसपा नेपाललाई साथमा लिन खोजिरहेका छन् । जसपा नेपाललाई साथमा लिँदा राष्ट्रियसभामा बहुमत पुर्याउन सजिलो हुन्छ । जसपा नेपालले साथ नपाएको अवस्थामा कांग्रेस र एमालेले राष्ट्रियसभामा बहुमत पुर्याउन सक्ने अवस्था छैन । जनमतको प्रतिनिधित्व राष्ट्रियसभामा छैन ।
जसपा नेपाललाई साथमा लिँदा राष्ट्रिय सभामा विधेयक पारित गर्न सहज हुने बुझेका सत्ता साझेदार दल कांग्रेस–एमाले उक्त दलको समर्थन बचाइराख्न चाहेर संवाद अघि बढाएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनित सांसद रहेका छन् । बहुमतका लागि ३० सदस्य आवश्यक हुँदा कांग्रेसका १६ र एमालेका १०, जसपा नेपालका ३ र लोसपाको १ सदस्यले सत्तापक्षलाई बहुमत पुर्याउन सहज हुन्छ । जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद छन् ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने र वैकल्पिक समीकरण बनाउन सक्रिय हुने सार्वजनिक धारणा दिएपछि प्रधानमन्त्री ओलीले आफ्नो समीकरण भत्किन नदिन जसपा नेपाललाई सरकारमा सहभागी गराउन खोजेको देखिन्छ ।