बौद्धिक जमातमा फेसबुक, इन्स्टाग्राम र ट्वीटर अत्यधिक प्रयोग गरिन्छ । अझ ट्वीटरलाई बढी प्राथमिकता दिइएको छ । सन् २००६ देखि सुरु भएको ट्वीटर आजसम्म ग्ल्यामरको विषय बनिरहेको छ । विश्वका शक्तिशाली नेताहरूसमेत ट्वीटर प्रयोग गर्छन् । महत्त्वपूर्ण सूचनाहरू सार्वजनिक हुने माध्यम बनेको ट्वीटरलाई शक्तिशाली सामाजिक सञ्जालका रूपमा लिइन्छ ।
अभिनेत्री मनिषा कोइरालाले नेपालको नक्सा र भौगोलिक अवस्थाका बारेमा गरेको ट्वीटले नेपाल–भारतमा सनसनी मच्चाएको थियो । त्यस्तै, बेलाबेलामा विश्वका शक्तिशाली व्यक्तिकोे ट्वीटर ह्याक हुने गरेकाे, जसले ट्वीटरमा भूकम्प जान्छ । यी र यस्ता प्रकरणका कारण ट्वीटर जतिबेलै चर्चा र चासोको विषय बनिरहेको हुन्छ ।
प्रयोगकर्ता हुनमानदेखि कटप्पासम्म
नेपाली ट्वीटर प्रयोगकर्ताको स्वभावलाई नजिकबाट बुझ्ने हो भने चार प्रकृतिका प्रयोगकर्ता भेटिन्छन्, ती हुन्– हुनमान, कटप्पा, स्वतन्त्र हुनमान र रुन्चे । प्रयोगकर्ताका क्रियाकलाप र ट्वीटको अभिव्यक्तिका आधारमा प्रयोगकर्ताको वर्गीकरण गर्न र उनीहरूलाई यी उपनाम दिन सकिने ट्वीटर प्रयोगकर्ताकै मत छ ।
हनुमान
ट्वीटरमा सरकारको बचाउ मात्र गर्ने र त्यसका लागि रोई कराई गर्नेदेखि विभिन्न प्रपञ्च गर्नेसम्म क्रियाकलाप गर्ने ट्वीटर प्रयोगकर्तालाई ‘हनुमान’ उपनामले चिन्ने गरिन्छ । यस्ता प्रयोगकर्ताको मुख्य ध्येय हो– जसरी भए पनि सरकारको बचाउ गर्ने ।
कटप्पा
सरकारको विरोध गर्ने र मूलतः प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रयोगकर्ताहरू ‘कटप्पा’ उपनामले चिनिन्छन् । उनीहरूको काम हो– सरकारको कडा आलोचना गर्नेदेखि सडक संर्घषका लागि माहोल बनाउनेसम्मको भूमिका खेल्नु ।
स्वतन्त्र हनुमान
आफूलाई स्वतन्त्र ठान्ने तर भित्रभित्र एउटा समूह वा कुनै दललाई मात्र समर्थन गर्ने किसिमको ट्वीट गर्ने प्रयोगकर्तालाई ‘स्वतन्त्र हुनमान’को उपमा दिने गरिएको छ । यस्ता प्रयोगकर्ता आफूलाई स्वतन्त्र ठान्छन् तर कुनै न कुनै संघ संगठन तथा पार्टीमा आबद्ध भएका छन् ।
रुन्चे समूह
राजनीति तथा देशभक्तिबाट पर रहने र केवल माया पिरतीका कुरा गर्ने प्रयोगकर्ताहरूलाई ट्वीटर भित्र रुञ्चे सम"हको नामले चिनिने गरिन्छ । विशेषत यस्ता प्रयोगकर्ताहरूको ट्वीट बिछोड र धोकामा आधारित हुने गर्छन् ।
ट्वीटरको भित्री कथा
पूर्वएमाले–पूर्वमाओवादी जीवितै
एमाले र माओवादी मिलेर पार्टी एकीकरण भई नेकपा बनिसक्दा पनि ट्वीटरमा भने पूर्वएमाले र पूर्वमाओवादी कायमै भएको पाइन्छ । पूर्वएमाले निकट वा कार्यकर्ताले पूर्वमाओवादीले गरेको कमीकमजोरीको कडा आलोचना गर्ने तथा माओवादीले पूर्वएमाले निकट मन्त्रालयमा रहेका मन्त्रीहरूलाई हदैसम्म खेद्छन् । यति मात्र नभएर उनीहरू एक अर्कोका प्रतिपक्ष जस्ता देखिन्छन् ।
- ट्वीटरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पत्रकार विजयकुमार पाण्डे, लेखक सुबिन भट्टराई, कांग्रेस नेता गगन थापा, विश्वप्रकाश शर्मा, साझा पार्टीका रवीन्द्र मिश्र पनि ट्वीटरमा धेरै फलोअर्स हुनेहरूमा गनिन्छन् ।
गोकुलप्रसाद बाँस्कोटाको ७० करोड काण्डमा उनलाई कडा आलोचना गर्ने काम पूर्वमाओवादी निकट प्रयोगकर्ताहरूले गरेका थिए । कृष्णबहादुर महरा ‘बलात्कार प्रकरण’मा मुछिएपछि उनलाई पूर्वएमाले निकट प्रयोगकर्ताले प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए ।
ट्वीटरमा गुटबन्दीदेखि सिन्डिकेटसम्म
प्राय राजनीति दल भित्र हुने गुटबन्दी तथा सिन्डीकेटको प्रभाव ट्वीटरमा पनि कायम छ । ट्वीटरमा समुहहरू बनाएर एक सुमहले अर्को समुहलाई खेद्नेदेखि लिएर सरकारको बचाउ वा आलोचना पनि सामुहिक रुपमा गर्ने काम ट्वीटर भित्र व्याप्त छ । यस्ता समुहहरूको मुल ध्येय कुनै कुरालाई जर्बजस्त स्थापित गराउनदेखि असत्य साबित गराउनेसम्मको हुन्छ । त्यस्तै ट्वीटरमा सिन्डीकेट पनि अत्याधिक मौलाएको छ । ट्वीटर भित्र पुराना प्रयोगकर्ताहरूले नयाँ प्रयोगकर्ताहरूलाई नगन्ने र पहिलाको जस्तो राम्रो संस्कार नभएको ट्वीटर प्रयोगकर्ता सुशील कार्की बताउँछन् । उनी भन्छन्– ट्वीटरमा पनि अहिले राजनीतिक छाँया परेको छ । पहिला ट्वीटरबाटै हाइकिङ जाने, होली खेल्ने काम हुन्थ्यो । आजकाल त्यस्तो हुँदैन् ।
ट्वीटरमा लेखेरै जेल
लोकतन्त्र भएको देशमा अभिव्यक्ति स्वतन्त्रता पहिलो प्राथमिकताभित्र पर्छ । त्यसमाथि नेपाल लोकतन्त्रबाट माथि आएर गणतन्त्रसम्म आइपुग्दासम्म पनि बेलाबेला सरकारबाट वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकलाई दबाउने काम भइरहेको छ । सामाजिक सञ्जालमा आफ्ना विचार राखेकै कारण सरकारले बौद्धका विश्वजित लामिछाने तथा नेपाल सरकारका पूर्वसचिवलाई हिरासतमा राख्ने काम गरेको थियो । बेलाबेलामा सरकारबाट हुने यस्ता हस्तक्षेपले पनि बौद्धिक ट्वीटर प्रयोगकर्ताहरूको आवाज दबाउने काम भइरहेको छ ।
ट्वीटरमा क्रिएटिभ समूह
प्राय: विचार र सिर्जनशील कुराहरू प्रवाह हुने ट्वीटरमा उस्ता उस्तै प्रकृति र स्वभाव भएका मानिसहरू मिलेर क्रिएटिभ काम गर्नेदेखि लिएर विपदका बेला एकजुट भएर पीडितलाई सहयोग गर्छन् । यस्ता समूहले मास्क वितरण गर्ने, राहत सामग्री बाँड्ने, बिरामी भएकाहरूलाई सहयोग गर्ने काम गर्छन् ।
नेपालका टप ट्वीटेहरू
रामेश कोइराला
चल्तीका ट्वीटेमध्ये रामेश कोइराला एक हुन् । सामाजिक सञ्जालमा उनले लेखेका ट्वीटहरू निकै चर्चित हुने गर्छन् । सरकारको आलोचना गर्दै प्यारोडी तरिकामा ट्वीट लेख्नु रामेशको विशेषता हो । विशेष त उनी ट्वीटमार्फत ओली सरकारको आलोचना गर्ने गर्छन् । रामेशका 'आमाको मुटु' र 'कोपिला आश्रम' कृति प्रकाशित छन् । ट्वीटरमा उनलाई ७३ हजार ७ सयले फलो गरेका छन् भने उनले ३ सय ५९ जनालाई फ्लो गरेका छन् । रामेशले सन् २०१२ देखि ट्वीटर चलाउँदै आएका छन् ।
- सामाजिक सञ्जालमा आफ्ना विचार राखेकै कारण सरकारले बौद्धका विश्वजित लामिछाने तथा नेपाल सरकारका पूर्वसचिवलाई हिरासतमा राख्ने काम गरेको थियो । बेलाबेलामा सरकारबाट हुने यस्ता हस्तक्षेपले पनि बौद्धिक ट्वीटर प्रयोगकर्ताहरूको आवाज दबाउने काम भइरहेको छ ।
डेभु
आफ्नो विचार र धारणा राखेर ट्वीटर प्रयोगकर्ताहरू माझ रुचाइएको नाम हो डेभु । उनी सबै कुरालाई आफ्नो ट्वीटमा समावेश गर्छन् । प्राय: सन्तुलित विचार प्रवाह गर्ने उनी ट्वीटरमा स्वतन्त्र भएर लेख्ने गर्छन् । सन् २०११ देखि ट्वीट लेख्न थालेका डेभुका ट्वीटरमा १५ हजार ४ सय फलोअर्स छन् भने उनले ५ हजार ५ सय ९५ जनालाई फ्लो ब्याक गरेका छन् । उनी ट्वीटरका पुराना प्रयोगकर्तमध्ये एक हुन् ।
निर्मला ढकाल
उनी छोटो समयमा आफ्ना ट्वीटमार्फत पहिचान बनाएका ट्वीटे हुन् । यही वर्षको अप्रिलदेखि ट्वीटर चलाउन सुरु गरेकी हुन् । उनी पेसले लेक्चरर हुन् । समाजशास्त्रमा एमफिलसम्मको अध्ययन गरेकी निर्मलाका ट्वीट प्राय: स्वतन्त्र हुने गर्छन् । ट्वीटरमा छोटो समयमै उनलाई ४ हजार ७ सय ६० जनाले फलो गरेका छन् भने उनले ४ सय ९० जनालाई फलो ब्याक गरेकी छन् ।
सुशील कार्की
सुशील पेसाले आइटी इन्जिनियर हुन् । ट्वीटरमा उनले गरेका ट्वीट निकै राम्रा मानिन्छन् । स्वतन्त्र तबरले नागरिको हकहित र बेतिथिका विषयमा आवाज उठाउनु उनको विशेषता हो । प्राय: भष्टाचार र समसामायिक विषयमा उनी ट्वीट गरिरहन्छन् । ट्वीटरमा सुशीलका २८ हजार १ सय फलोअर्स छन् भने उनले १ हजार ९ जनालाई फलो ब्याक गरेका छन् । उनी ५ वर्षदेखि ट्वीटरमा सक्रिय छन् ।
मातृका पौडेल
पौडेल पेसाले पत्रकार हुन् । पौडेलका ट्वीटले पनि सामाजिक सञ्जालमा तरंग सिर्जना गर्ने काम गर्दछ । उनी केपी शर्मा ओलीको विषयमा बढी ट्वीट गर्ने गर्छन् । १० वर्षदेखि ट्वीटरमा सक्रिय रहेका पौडेलका ४३ हजार ९ सय फलोअर्स छन् भने ३ हजार ६ सय ९६ जनालाई उनले पनि फ्लो गरेका छन् ।
भीम उपाध्याय
उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय हुने प्रयोगकर्तामध्ये एक हुन् । उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । सरकारका पूर्वसचिवसमेत रहेका उनी सरकारको आलोचना गर्दै त्यसमा असन्तुष्टि जाहेर गर्छन् । सामाजिक सञ्जालमा लेखेकै कारण उनलाई नेपाल सरकारले पक्राउसमेत गरेको थियो । उनले ११ वर्षदेखि ट्वीटर प्रयोग गर्दै आएका छन् । ३४ हजार ९ समय फलोअर्स रहेका उपाध्यायले १३ सय ९९ जनालाई फलो गरेका छन् ।
एलिजा ढकाल
नेविसघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकाल ट्वीटरमा धेरै रुचाइएकी ट्वीटर प्रयोगकर्ता हुन् । विद्यार्थी राजनीतिमा सक्रिय एलिजा स्वतन्त्र तरिकाले ट्वीट लेख्ने ट्वीटेमा पर्छिन् । उनका ट्वीटमा सरकारको राम्रो कामको समर्थन गर्नेदेखि लिएर सरकारको आलोचनासमेत गर्छिन् । त्यस्तै पार्टीमा कांग्रेस विचारधारामा आस्था राख्ने उनी कांग्रेसले गरेका गल्तीको पनि खुलेर लेख्ने गर्छिन् । यीबाहेक उनी समस्याहरूको समाधान गर्नका लागि विभिन्न उपायहरू पनि सुझाउने गर्छिन् । ५ वर्षदेखि ट्वीटर प्रयोग गर्न सुरु गरेकी एलिजालाई २४ हजार ५ सयले फलो गरेका छन् भने उनले ७ सय १९ जनालाई फलो ब्याक गरेकी छिन् ।
विश्वदीप
ट्वीटरमा कांग्रेस वृत्तभित्रको सेनापति नामले चिनिन्छन् विश्वदीप । उनी ट्वीटरमा कांग्रेससम्बन्धी सूचना तथा विचारहरू प्रवाह गर्छन् । विशेषगरी विश्वदीपका ट्वीटहरू सरकारको आलोचना र कांग्रेसको बचाउ तथा समर्थन गर्ने किसिमका हुन्छन् । ११ वर्षदेखि ट्वीटर चलाएका उनका ३१ हजार ५ सय फलोअर्स छन् भने उनले २४ सय ७२ लाई फलो गरेका छन् ।
बानियाँ गोविन्द
गोविन्द ट्वीटरमा डियर गोविनको नामले परिचित छन् । हाल कोरिया बस्दै आएका उनी कांग्रेस विचारधारामा आस्था राख्छन् । गोवन्द नेपाल विद्यार्थी संघका पूर्वनेता पनि हुन् । प्राय: कांग्रेससँग सम्बन्धित रहेर ट्वीट गर्ने उनी यो बाहेक रमाइला किसिमका ट्वीट पनि गर्ने गर्छन् । सन् २०१४ देखि ट्वीटरमा सक्रिय रहँदै आएका उनका ५१ हजार ६ सय फलोअर्स छन् भने उनले १ हजार ६४ जनालाई पछ्याएका छन् ।
अस्मिता थापा
ट्वीटरमा चर्चित नाममध्येको एक नाम हो अस्मिता थापा । उनी अनेरास्ववियूको केन्द्रीय सदस्य र ओखलढुंगा नेता हुन् । उनले एसिडविरूद्ध कडा कानुन बनाउन प्रधानमन्त्रीलाई ट्वीटर र भेट गरेर दबाब दिएकी थिइन् । उनी धेरैजसो सत्तापक्षलाई समर्थन गर्दै ट्वीट गर्ने गर्छिन् । उनका ट्वीटहरू सरकारलाई समर्थन गर्दै सरकारको बचाउ गर्ने किसिमका हुने गर्छन । १ वर्षअघिदेखि ट्वीटरमा सक्रिय भएकी उनका १२ हजार ३ सय फलोअर्सहरू रहेका छन् भने उनले ४ सय ५५ जनालाई मात्र फलो गरेकी छन् ।
जितपुरिया
जितपुरिया नामका ट्वीटर प्रयोगकर्ता पुराना ट्वीटर प्रयोगकर्ता हुन् । प्यारोडी गरेर ट्वीट गर्नमा उनी माहिर मानिन्छन् । जितपुरियाका ट्वीट भने धेरैजसो सरकारको समर्थनमा हुने गर्छ । १० वर्ष अघिदेखि ट्वीटर चलाउँदै आएका उनका १० हजार ६ सय मानिसले फलो गरेका छन् भने उनले ८ सय ९३ जनाले फलो गरेका छन् ।
लिबाङी
उनी ट्वीटरमा सरकारको प्रतिपक्षीका रुपमा चिनिएका छन् । लिबाङी आफैंले आफूलाई अराजकवादीको नाम पनि दिएका छन् । उनी मूलतः सरकारको कडा आलोचना गर्दै ट्वीट गर्न पोख्त छन् । लिबाङी सरकारको कामलाई नजिकबाट बुझेर उनी सरकारलाई प्रश्न उठाउने किसिमका ट्वीट गर्छन् । ९ वर्षदेखि ट्वीटर चलाउँदै आएका उनलाई ७ हजार १ सय ३८ जनाले फलो गरेका छन् भने उनले ८ सय ७० जनालाई फलो ब्याक गरेका छन् ।
च्यवन घिमिरे
घिमिरे ट्वीटरमा पुराना प्रयोगकर्ताका रुपमा चिनिन्छन् । कांग्रेसी वृत्तमा उपसेनापतिको परिचय पनि रहेको छ । च्यवन सरकारको आलोचना गर्ने किसिमका ट्वीट गर्दै सरकारलाई जवाफदेही बनाउन खाेज्छन् । त्यस्तै प्रकृतिका सूचना तथा विचारलाई ट्वीटरमा समावेश गर्ने गर्छन् । उनी कांग्रेसको कमी कमजोरलाई नियाल्दै आवश्यक कुराहरू सुझाउने पनि गर्छन् भने बचाउ गर्नेमा पनि अग्रसर हुन्छन् । उनको ट्वीटरमा १६ हजार २ सय फलोअर्स छन् भने उनले २२ सय ७२ जनालाई फलो ब्याक गरेका छन् ।
शिव दाहाल
दाहाल पेसाले पत्रकार हुन् । उनी ट्वीट र क्रियाकलापका कारण प्रिय मानिसका रुपमा चिनिन्छन् । प्रायः सबैका ट्वीटलाई लाइक गर्ने भएका कारणले पनि होला, उनलाई 'लाइकको बोट' उपमा दिइएकाे छ । एभिन्युज टेलिभिजनमा न्युज डेक्सको मोर्चा समालेका उनको ट्वीटरमा ३८ हजार ९ सय फलोअर्स छन् भने उनले १२ सय ७० जनालाई फलो ब्याक गरेका छन् ।
अमृत
उनी ट्वीटरमा छुच्चो ट्वीटेका रुपमा चिनिन्छन् । प्राय: सत्ता पक्ष होस् वा राजनीतिक पार्टी, उनी सबैलाई घोचेर ट्वीट गर्ने गर्छन् । सामाजिक सञ्जालमा तटस्थ विचार भएका मानिसलाई उनका ट्वीट स्वादिला लाग्छन् । अमृत ट्वीटरमा १० वर्षदेखि सक्रिय छन् । अमृतलाई ३४ हजार ९ सयले फलो गरेका छन् भने उनले १७ सय ९१ जनालाई फलो ब्याक गरेका छन् ।
यी ट्वीटेबाहेक ट्वीटरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पत्रकार विजयकुमार पाण्डे, लेखक सुबिन भट्टराई, कांग्रेस नेता गगन थापा, विश्वप्रकाश शर्मा, साझा पार्टीका रवीन्द्र मिश्र पनि ट्वीटरमा धेरै फलोअर्स हुनेहरूमा गनिन्छन् । उनीहरूले विशेष कुराहरू ट्वीटरमार्फत नै प्रवाह गर्ने गर्छन् ।