काठमाडौं, २ फागुन – गाउँका साथीहरु जम्मा पारेर, खेतका गह्रामा काठको ब्याट बनाएर क्रिकेट खेल्ने गरेका सुदूरपश्चिमको कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–४ गोबरैयाका सन्दीप जोराले विश्व कीर्तिमान कायम गरेपछि अहिले चर्चा सर्वत्र छ।
डेब्यू खेलमै सुदूरपश्चिमको कञ्चनपुरका सन्दीपले विश्वकीर्तिमान कायम गरेपछि उनको चर्चा सुदूरपश्चिममा मात्रै होइन, देशसँगै विदेशमा पनि छ। उनले संयुक्त अरब इमिरेट्स (यूएई) संँग माघ १७ गते बिहीबारका दिन पहिलो टी–२० अन्तर्राष्ट्रियको ‘डेब्यू’ खेलमै कम उमेरमा अर्धशतक बनाउने खेलाडीको नाममा विश्व कीर्तिमान कायम गरे।
उक्त खेलमा नेपाल हारेपनि डेब्यूमै सन्दीपको प्रदर्शनले सबैको मन जित्यो। १७ वर्ष १ सय ३ दिनको उमेरमा सन्दीपले ४६ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाउँदै विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए।
विश्व कीर्तिमान कायम गर्न सफल सन्दीपले अभावै अभावकाबीच क्रिकेट सिके, र खेल्दै गए। अन्ततः भौतिक संरचनाको अभावकाबीच क्रिकेटप्रति सानैदेखिको लगावलाई उनले साकार बनाउन सफल भए।
सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरीले शानदार इनिङ खेलेपछि नेपाल र युएईबीच माघ १८ गते भएको तीन टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो टी–२० मा चार विकेटको जीत दर्ता गर्दै नेपालले सिरिज १–१ को बराबरी गरेको थियो।
पहिलोे टी–२० मा पराजय भोगेको नेपाललाई जित्नैपर्ने दवावकाबीच उनको उत्कृष्ट पारिले नेपालले सिरिजमा कमव्याक मात्रै गरेन, दुईदिनपछि भएको अन्तिम तथा तेस्रोे टी–२० मा जीत हात पार्दै सिरिजमाथि नै कब्जा जमायो। टी–२० उपाधि सिरिज जित्नमा दीपेन्द्रले दोस्रो खेलमा गरेको शानदार इनिंगलाई पनि महत्वपूर्ण मानिएको छ।
सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनशीपमा केन्यासँग डेब्यू गरेपछि ऐरीले हालसम्म नेपालका लागि ६ उत्कृष्ट इनिङ खेल्दै जीत दिएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) संँग भएको एक दिवसीय र टी–२० सिरिजमा पनि जोरा र ऐरी मात्रै होइन, सुदूरपश्चिमबाट अन्य तीन जना र एक वैकल्पिक खेलाडीले सहभागिता जनाएका थिए।
यसबाहेक विनोद भण्डारी, प्रदीप ऐरी, भुवन कार्की, राजु रिजाल, सुनिल धमला, नरेश बुढाएर, ललित भण्डारी लगायतका खेलाडी पनि सुदूरपश्चिमकै हुन्।
विपीन रावल, रोमन बम, कमल ऐरी, विजय राना, सुबोध ऐर, नारायण जोशी, चन्द्र साउद लगायतका खेलाडी क्लबस्तरीय, विद्यालयस्तरीय, अण्डर–१६, अण्डर–१९ लगायतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टीममा प्रवेश गर्दैछन्।
सुदूरपश्चिमले जन्माएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा टीमलाई जिताउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। अण्डर–१६, अण्डर–१९ र राष्ट्रिय टिममा सुदूरपश्चिका धेरै खेलाडी समावेश छन्।
विद्यालयस्तरीय प्रतियोगिता मुल आधार
खेल श्रृंखला खेलाउने मैदानबिना संयुक्त अरब इमिरेट्स (यूएई)संँग नेपालले एक दिवसीय र टी–२० सिरिजको उपाधि कब्जा गर्यो।
त्यस्तै, अवस्था छ क्रिकेटको सुदूरपश्चिममा। सुदूरपश्चिमले दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी जन्माइसकेका बेला न त्यहाँ क्रिकेट मैदान छन्, न त कुनै प्रशिक्षक।
पहाडी जिल्लामा मात्रै होइन, क्रिकेटको सहरको उपमा पाएको सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि क्रिकेट खेल्नका लागि मैदान छैन। देशकै सर्वाधिक धनगढीको धनगढी प्रिमियर लिग पनि भाडामा लिएर धनगढीको मुख्य बजारमा रहेको एसएसपी क्रिकेट मैदानको सञ्चालन गरिन्थ्यो। यस वर्षदेखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदनमा आयोजना गरिँदैछ।

धनगढी बजारदेखि ५ किलोमिटर टाढा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर चलाइएको ‘ड्रिम फाप्ला अभियान’ पनि सुस्त गतिमा छ।
यस्तो अवस्थामा यस क्षेत्रमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताले नै सुदूरपश्चिममा नयाँ खेलाडी जन्माउन ठूलो मद्दत पुर्याइरहेको बताउँछन् क्रिकेट अभियन्ता तथा धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुवास शाही।
सन् २०१० मा धनगढी क्रिकेट एकाडेमी तथा धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकाडेमीले एसपीए कपको सुरुवात गरेयता विद्यालय तथा क्लबले स्थानीयस्तरमा प्रतियोगिता आयोजना गर्न थालेसँगै क्रिकेटले गति लिन थालेको हो भने क्रिकेटप्रतिको आकर्षण बढ्न थालेको थियो।
कैलाली र कञ्चनपुरमा विभिन्न क्लब तथा विद्यालयले क्रिकेट प्रतियोगिता गर्दै आइरहेका छन्। पहाडी जिल्ला बैतडीसँगै अछाम र डोटीमा पनि क्रिकेट खेलको मोह बढ्न थालेको छ।
‘जसले क्लब तथा विद्यालयमा रहेका नयाँ प्रतिभालाई सिक्ने अवसर प्रदान मात्रै गरेको छैन, अब्बल सावित गर्ने थलोका रुपमा नयाँ खेलाडीले लिने गरेका छन्,’ अध्यक्ष शाही भन्छन्, ‘क्लब तथा विद्यालयस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरुले क्षेत्र, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि टिममा स्थान बनाउने गरेका छन्।’

धनगढीमा सन् २०१० देखि सुरु भएको चार लाख रुपैयाँ राशीको एसपीए कपदेखि हाल आएर सर्वाधिक राशी २० लाखको धनगढी प्रिमियर लिग आयोजना भइरहेको छ।
योसँगै धनगढीमै रहेको लिटल फ्लाबर बोर्डिङ स्कूल तथा क्यास्पियन एकाडेमीले पनि प्रत्येक वर्ष विद्यालयस्तरीय प्रतियोगिता गर्दै आइरहेका छन्।
कञ्चनपुरसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा आयोजना गरिँदै आएका क्रिकेट प्रतियोगिताले नयाँ खेलाडी जन्माउनमा थप टेवा पुगेको छ। हरेक वर्ष विद्यालयस्तरीय लिटल फ्लावर क्रिकेट प्रतियोगिता गर्दै आएका धनगढीमै रहेको लिटर फ्लावर बोर्डिङ स्कूलका प्रिन्सिपल रामचन्द्र शाही भन्छन्, ‘सुदूरपश्चिममा जति क्रिकेटका गतिविधि भइरहहेका छन्, निजी क्षेत्रबाट भइरहेका छन्। क्लब र विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले नयाँ खेलाडी जन्माइरहेको छ।’

विद्यालयस्तरमा क्रिकेट प्रतियोगिता गरिरहँदा प्रतिभा भएका, आशलाग्दा खेलाडी भेटिने शाहीको धारणा छ। उनले भने, ‘सरकारी क्षेत्रबाट अलि बढी मात्रामा क्रिकेटमा लगानी भएमा ति प्रतिभा बाहिर आउने थिए, हामी गाउँ–गाउँमा रहेका प्रतिभालाई बाहिर ल्याउन विद्यालयस्तरीय प्रतियोगिता गर्दै खेलाडी चिनाउने काम गर्दै आएका छौँ। उनीहरुलाई अगाडि बढाउने र खेल खेलेरै बाँच्ने अवस्था सिर्जना गर्न राज्यले ढिलाई गर्नुहुँदैन।’
शाहीले अहिलेसम्म आफैँ मेहनत गरेर सुदूरपश्चिमका खेलाडीले पाएका अवसर सदुपयोग गर्दै राष्ट्रिय टोलीमा समावेश भएको बताए। ‘अब राज्यले सुदूरपश्चिममा क्रिकेट गतिविधि बढाउनुपर्छ, एक–दुई वर्षमा सुदूरपश्चिमकै टिम बन्छ,’ उनले भने।
‘फाप्लामा सरकारको ध्यान जानुपर्छ’
सुदूरपश्चिममा क्रिकेट मैदान अभाव भइरहेका बेला धनगढीमा रहेको फाप्लालाई अन्तर्राष्ट्रिय मैदान बनाउने भनेर ‘ड्रिम फाप्ला अभियान’ सञ्चालन गरिएको छ। तर, उक्त अभियानले सोचेअनुरुप गति लिन सकेको छैन।
फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सकेमा सुदूरपश्चिममा क्रिकेट गतिविधि बढ्नुका साथै कोशेढुङ्गा सावित हुने क्रिकेट सम्बद्ध व्यक्तिहरु बताउँछन्।
फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड र धनगढी उपमहानगरपालिकाले एक करोड रुपैयाँ छुट्याएको र केन्द्र सरकार पनि यस विषयमा सकरात्मक रहेको बताइरहँदा अब निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग उनीहरुको छ। ‘त्यति भए हामीलाई नयाँ खेलाडी उत्पादन गर्न सहज हुन्छ,’ शाहीले भने।