एजेन्सी – तीव्र गतिको रेलवे सेवमा चीनले अर्को ठूलो उपलब्धि हासिल गरेको छ। २०२२ बेइजिङ विन्टर ओलम्पिक्सको तयारी अन्तर्गत चीनले ३ सय ५० किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्ने ड्राइभरविनाको हाइ–स्पिड अटोमेटिक रेल सञ्चालनमा ल्याएको छ।
यस रेलवे सेवाले ओलम्पिक आयोजना गरिने शहर जाङजिआकोउलाई राजधानी बेइजिङसँग जोड्नेछ। यी दुई शहरबीच यात्रा गर्नु पर्दा तीन घण्टा लाग्यो तर यो रेल सेवा मार्फत अब ४७ मिनेटमै सो दुरी पार गर्न सकिने बताएको छ।
चीनको यस फुक्सिङ सिरिज बिना कुनै मानव सञ्चालक चल्न सक्ने हुनाले पनि यसबारे व्यापक चर्चा हुँदै आएको छ। यस विषयमा यो विश्वकै पहिलो ‘स्मार्ट हाइ स्पिड बुलेट ट्रेन’ बन्न सफल भएको छ।
यसलाई निर्माण गर्न चीनलाई चार वर्ष लागेको थियो। जिन–जिआङ हाइ–स्पिड रेलवेले मुख्यगरी बेइजिङ, यानकिङ र जाङजिअकोउलाई सिधा कनेक्ट गर्दछ। यी तिनैवटा शहरमा आगामी विन्टर ओलम्पिक्स हुनेछ । यस रुटमा १० वटा स्टेसनमा रेल रोकिनेछ।
कति स्मार्ट छ त यो नयाँ ट्रेन?
पहिलोपटक सञ्चालनमा आउँदा यो नयाँ रेल बेइजिङको उत्तरी स्टेसनबाट तेइजिछेङ रेलवे स्टेसनसम्म पुगेको छ।यसको आधिकारिक वेबसाइट हेर्दा अहिले बेइजिङ र जाङजीआकोउ बीच तीसवटा बुलेट ट्रेन चलिरहेको देखाइएको छ तर ती मध्ये ६ वटा मात्र नयाँ ‘स्मार्ट रेल’ भएको उल्लेख गरिएको छ।
यसको टिकट शुल्क भने साधारण हाइ–स्पिड ट्रेनका लागि ११ देखि ३३ डलर र स्मार्ट ट्रेनका लागि चाहिँ १२ देखि ३८ डलरसम्म लाग्ने बताइएको छ। त्यस्तै स्मार्ट ट्रेनको लागि कुनै पनि टिकट दुई दिन अगाडि नै बुकिङ गरिसक्नुपर्ने बताइएको छ।यसलाई स्मार्ट रेल भनिनुका पछाडि भने थुप्रै कारणहरु देखाइएको छ।
जस्तै प्रत्येक क्यारिएजमा फाइभ–जी सिग्नल उपलब्ध छ भने इन्टेलिजेन्ट लाइटिङ पनि जडान गरिएको छ। त्यस्तै सञ्चालनका समयमा कुनैपनि असाधारण अवस्थाबारे पत्ता लगाउन र सबै डाटाहरु संकलन गर्न २,७१८ सेन्सर पनि राखिएको छ।
त्यस्तै सबै सिटमा आफ्नै टचस्क्रिन कन्ट्रोल प्यानल र वायरलेस चार्जको सुविधा रहेको छ। यसरी यो रेलले आफेँ इन्जिन सुरु गर्ने, गति सिमित गर्ने र अटोमेटिक रोकिने भए पनि एकजना निरीक्षक ड्राइभर सधैँ सवार हुने बताइएको छ।
त्यस्तै यिनका स्टेसनमा भने रोबोट, फेसियल रिकग्निसन प्रणाली लगायतका प्रविधिले यात्रुहरुलाई दिशा देखाउने, लगेज व्यवस्थापन गर्न र विनापेपर चेक–इन गर्नमा मद्दत गर्नेछन्। सो रेलको इन्टेरियर डिजाइन खेलाडी र संचारकर्मीहरुलाई ध्यानमा राखेर तयार गरिएको थियो। यस्तोमा केही क्याबिनहरुमा खेलका विभिन्न उपकरणहरु राख्न ठुलो क्षेत्र पनि छुट्याइएको छ जसलाई क्यु–आर कोड मार्फत लक गर्न र खोल्न सकिनेछ।
त्यस्तै डाइनिङ कारलाई भने संचारकर्मीहरुका लागि मिडिया सेन्टरमा पनि परिणत गर्न सकिने बताइएको छ जसका सिट सजिलै एड्जस्ट गर्न मिल्छ।क्यामरालगायत धेरै उपकरणहरु बोकेर यात्रा गर्ने संचारकर्मीहरुका लागि भनेर त्यस्तो डिजाइन निर्माण गरिएको हो।यता ह्विलचियर मार्फत यात्रा गर्नेहरुका लागि भनेर पनि सिटहरु निकाल्न मिल्नेगरि व्यवस्थित गरिएको छ।तर चीनका रेलवेप्रति उत्साहित हुनेहरु अर्को ऐतिहासिक कारणले पनि यस उपलब्धीप्रति विशेष खुसी छन्।
वास्तवमा जिङ–जिआङ रेलवे पहिलोपटक १९०९ मा उद्घाटन गरिएको थियो जुन चीनले स्वतन्त्र रुपमा निर्माण गरेको पहिलो रेलमार्ग थियो। त्यतिखेर सो रुटको यात्रा पूरा गर्न आठ घण्टा लाग्थ्यो। यसबीच सो लाइनका बाँकी रहेका केही पुराना स्टेसनहरु २०१६ मा बन्द भएको थियो र त्यसको सट्टामा नयाँ हाइ–स्सिपड रेलवेको काम सुरु गरिएको हो।
आज चीन विश्वकै सबैभन्दा ठूलो हाइ–स्पिड रेल नेटवर्क, ३५ हजार किलोमिटरका रेलमार्गको घर मानिन्छ भने व्यवसायिक रुपमा सबैभन्दा तिव्र गतिको रेल पनि चीनमै सञ्चालन भइरहेको छ। सिएनएन