काठमाडौं– च्याउ अति उत्तम पौष्टिक आहार हो। च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ। बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन्। प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि। लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउँन गार्हो पनि हुन्छ।
यदि जंगली च्याउ प्रयोग गरेकाे छाैँ भने हामिलाइ शरीरको आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुने जस्ता विभिन्न किसिमका समस्याहरू आइपर्छन भने मृत्यु समेत हुने डर हुन्छ। त्यसैले च्याउ खादा चिनेर मात्रै खाने गर्नु पर्दछ।
बिषालु च्याउ खाँदा देखीने लक्षण
बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरू बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ। यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ। तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ। कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ। जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ। यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्।
च्याउका फाइदाहरू
च्याउको सेवनले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ। त्यस्तै, विभिन्न रोग लाग्नबाट पनि बच्न सकिन्छ। थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ।
च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्दछ। सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ। च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा र्पुयाउने देखिएको छ। च्याउ यस्तो अचम्मको वनस्पति हो, जसमा भिटामिन ‘ डी ’ पनि पाइन्छ।
त्यस्तै हड्डीको समस्या भएका वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाँदा पनि धेरै लाभ लिन सक्छन्। च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ। जसले गर्दा शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ, च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई समेत फाइदा पुग्छ।
च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि हुनेगर्छ। पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ। उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ।