काठमाडौं– एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ।
यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ। नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताए।
उनका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ।
उनका अनुसार सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ। झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ।
झापा र जनकपुरमा तीन÷तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ। अहिले निगमसँग ग्यास भण्डारण गृह छैन। यो समाचार गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।