काठमाडौं– लामो समयसम्म कम्प्यूटरमा काम गर्नु, गलत तरिकाले बस्नु, काँधलाई धेरै चलाउनु अथवा चलाउँदै नचलाउनु जस्ता बानीले पाखुरा नचल्ने समस्या निम्तिन सक्छ। तर, जीवनशैलीमा परिर्वतन ल्याएर केही सावधानीहरु अपनाउँदा भने यो समस्याबाट बच्न सकिन्छ।
तपाइलाई घर अथवा अफिसमा काम गर्दा अचानक काँधमा असह्य पीडा हुन्छ र आफ्नो काँध चलेको छैन भन्ने महसुस हुन्छ भने यो काँधमा समस्या आएको संकेत हो। यस्तो समस्या ४० वर्षभन्दा माथिका व्यक्तिहरुमा धेरै देखिन्छ र पुरुषको तुलनामा महिलाहरुमा यो धेरै हुने सम्भावना हुन्छ।
यसका कारणहरुः
एक सर्वेक्षणका अनुसार काँधमा आउने समस्या लामो समयसम्म कम्प्युटरमा काम गर्ने, काँधलाई एकै प्रकारले राख्ने, काँधमा धेरै भार उठाउने, काँधले धेरै काम गर्ने, हड्डीहरु कमजोर हुनु, बढ्दो उमेरका कारण हुनसक्छ। कहिलेकाहीँ यो समस्या काँधमा चोट लाग्नाले पनि हुनसक्छ। दिनहुँ व्यायाम नगर्नाले पनि हिजोआज मानिसहरुमा यो समस्या धेरै हुन थालेको छ। किनभने व्यायाम नगर्नाले जोर्नीहरु जाम हुन थाल्छन्।
जोर्नीको असरः
काँध दुख्ने समस्या धेरै महिना अथवा वर्षसम्म पनि भइरहन सक्छ। यो रोग तीन अवस्थाहरुबाट पार गर्छ। जसलाई अँग्रेजीमा फ्रिजिङ, फ्रोजन र थाइंङ स्टेजको रुपमा नामाकरण गर्ने गरिन्छ। यदि तपाईंंलाई पनि त्यस्ता लक्षण देखियो भने तुरुन्त डाक्टरकहाँ जानुपर्छ। काँध कुनै पनि दिशामा मोड्न गाह्रो हुनु, काँध सुन्निनु, गर्धनको दुखाई र त्योभन्दा पनि माथि फैलनु, राति धेरै दुख्नु, स-साना काम जस्तै कपाल कोर्न, टाँक लगाउन आदि पनि गार्हो हुनु, हात पछाडि लैजाँदा कांँधमा धेरै पीडा हुनु।
समस्या बढ्दै जानुः
यस्तो समस्याका कारण अवसाद, गर्दन र ढाड दुख्नु, थकान, काम गर्न असमर्थ आदि समस्याहरु पनि हुन सक्छ। यो किसिमको दुखाईबाट रोगीलाई मधुमेह, हृदयघात हुनु, फोक्सोको रोग, हृदय रोग आदि हुने पनि सम्भावना हुन्छ। यस्तो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन्छ।
रोगबाट बच्ने उपायः
स्वास्थ्य आहार लिनुपर्छ– मसला भएको, पिरो खाना सेवन गर्नु हुँदैन। किनभने त्यसले पनि फ्रोजन शोल्डरको समस्या बढ्न सक्छ। त्यसैले ताजा र कम मसला भएको खाना खानुपर्छ।
तातो र चिसो थेरापी– दुखाईबाट राहत पाउनका लागि तातो र चिसो थेरापी लिनुपर्छ। यो दुखाई कम गर्नका लागि काँधलाई १५ मिनेटका लागि आईस प्याक तथा १५ मिनेटका लागि हिटिङ प्याकले सेक्ने। यो प्रकृया दिनमा २(३ पटक गर्नुपर्छ।
तेल सहित मसाज गर्नुपर्छ– काँधको दुखाई कमगर्नका लागि तथा काँधको सक्रियताको लागि तेल सहित मसाज गर्नु सबैभन्दा उत्तम उपाय हो।
व्यायाम गर्नुपर्छ– काँधमा दुख्ने समस्या पीडा र बाउँडिनबाट राहत पाउनका लागि दिनहुँ व्यायाम गर्नुपर्छ। पेन्डुलम स्ट्रेच, टोवेल स्ट्रेच, फिंगर वाक, क्रस बडी रिच, काँधलाई बाहिर भित्रतिर घुमाउनु जस्ता केही व्यायामले दुखाईलाई कम गर्छ। तर, त्यस्तो व्यायाम गर्नु अगाडि डाक्टरको सल्लाह लिनु आवश्यक छ।