जुम्ला– कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन्। एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन्। स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफू खाली हात फर्कन बाध्य भएको गुनासो गरे।
औषधिको अभाव भएपछि औषधालयमा कार्यरत छ कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन्। औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीलाई सेवा गर्न नसकिएको बताएका छन्। उनले औषधालयमा औषधि नहुँदा सेवासमेत ठप्प रहेको बताए।
औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसासम्बन्धी रोगको उपचार हुँदै आएको भए पनि औषधि नहुँदा सोही अनुसारको नभएको वैद्य आचार्यले बताएका छन्। औषधालयमा औषधि नपाउँदा आफू लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ नपा–१० का मदनमोहन देवकोटाले गुनासो गरे।
चिसो महिना शुरु भएपछि औषधालयमा बिरामीको चाप बढेको भए पनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उनले बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले गत आर्थिक वर्षदेखि हालसम्म औषधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताएका छन्।
उनले केही दिनभित्रै औषधि खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जानकारी दिएका छन्। जुम्लासहित मुगु, कालीकोट, डोल्पा जिल्लाबाट दैनिक ५० बिरामीले औषधालयबाट सेवा लिँदै आएका औषधालयले जनाएको छ।
कारागारमा स्वास्थ्यकर्मी नभएपछि उपचारमा समस्या
जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ। जिल्ला कारागार कार्यालयमा अहेबको दरबन्दी भए पनि अहिले रिक्त भएकाले उपचारमा समस्या भएको हो। कारागारमा कार्यरत अहेब शुक्रराज शाही तीन महिनाअघि हिमा गाउँपालिकामा सरुवा भई गएपछि पदपूर्ति नहुँदा कारागारमा कैदीबन्दीको नियमित स्वास्थ्य उपचार तथा परीक्षणमा समस्या भएको कारागार प्रमुख गयाप्रसाद पाण्डेले बताए।
‘स्वास्थकर्मी नभएको समयमा कैदीबन्दी बिरामी भएपछि जुनसुकै बेला पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा लिने गरेका छौँ’, उनले भने। हिउँदको समयमा चिसोले रुघाखोकीको समस्या, हातगोडा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिने गरेका जानकारी दिँदै उनले भने, ‘नयाँ स्वास्थ्यकर्मी नआउँदा उपचारमा समस्या भएको छ, स्वास्थ्यकर्मी पदपूर्तिका लागि कारागार विभागमा माग गरेका छौँ तर अहिलेसम्म आएको छैन, कैदीबन्दीलाई अस्पताल लाँदा ल्याउँदा खर्च बढेको छ।’
नियमित पानी र बत्तीको समेत समस्या
कारागारमा नियमित पानी र बिजुली नआउँदा समस्या हुने गरेको कैदी खाम्मा रावतले गुनासो गरे। धारा एउटै भएपछि पानीका लागि कैदीबन्दीको लाइन लाग्ने गरेको र कहिले सोही कारण झगडासमेत हुने गरेको उनले बताए। कारागारको क्षमता ८० महिला र १२० पुरुष गरी २०० रहेको कारागारमा अहिले दुई महिलासहित ६६ कैदी र २३ थुनुवा रहेकामा विद्युत्भार कटौती बढी हुने भएकाले नियमित बिजुली नहुँदा प्रशासनमा सुरक्षा चुनौती पनि बढेको कारागार प्रमुख पाण्डेको भनाइ छ।
यस विषयमा खलङ्गा साना जलविद्युत् उपभोक्ता समितिलाई माग गरेको भए पनि सुनुवाइ नभएको कारागार उनले बताएका छन्। खलङ्गा साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले कारागारबाट नियमित बिजुली उपलब्ध गराउने कुरा आएको भए पनि बिजुलीको क्षमता कम र खपत बढी भएकाले उपलब्ध गराउन नसकिएको बताएका छन्। (रासस)