नीलो सीमाना (२०६७, प्रकाशक वाणी प्रकाशन) र अन्तिम आकाश (२०७२, प्रकाशक साझा प्रकाशन)जस्ता दुई सुन्दर कविता कृतिका रचनाकार कवि सविता गौतम दाहाल नेपाली कवितामा प्रसिद्ध हस्ताक्षर हुन्। जीवन जगत र कविता परिवेशका सम्बन्धमा उनका विचार र कविता लेखनका केही विशिष्ट मौलिक पक्षहरू छन्। विराटनगरमा कार्यक्षेत्र बनाई लामो समय प्राध्यापनमा रहेकी उनको बसाइ हाल काठमाडौँमा रहेको छ। राजधानीमा हुने विभिन्न कविता कार्यक्रममा सहभागी हुने श्रोतालाई उनका कविताका भाव र शैलीले गहिरो प्रभाव पारेको हुन्छ। उनी वाचनकलामा कुशल छिन्। समकालीन समाज र कविता लेखनका विषयमा उनीसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानीको सारः
सबिताजी, तपाईंले व्यवहारिक रूपमा जीवनप्रति राख्ने गरेको दृष्टिकोण र तपाईंका साहित्य सिर्जना दुवै आकर्षक छन्। तपाईंका विचारमा साहित्य के हो त?
–धन्यवाद गीताजी, मेरो लेखनप्रति सकारात्मक टिप्पणी राखिदिनुभएकामा म आभारी छु। वास्तवमा तपाईंले ठीकै भन्नुभयो, म मेरो दैनिकी र लेखनका बीच सामञ्जस्य कायम राख्न रुचाउँछु। यो आफै हुन्छ। कतिपय मानिसका देखाउने र लुकाउने दुई व्यक्तित्व हुँदो हो र तपाईंले मेरो अद्वैत स्वाभाविकतालाई आकर्षक ठान्नुभएको होला। म जे छु, त्यो मेरो रचनाले बोल्छ। म मेरो आत्मा र सिर्जनालाई ढाँटेर अलग्गै प्रस्तुत हुन सक्दिनँ। मेरा निम्ति साहित्य तात्कालीन समय, समाज, सकस र समृद्धिको प्रतिविम्ब हो।
तपाईं कविता विधामै बढी केन्द्रित हुनुहुन्छ, यसको खास कारण छ कि?
–कविता मात्र मन परेर म यस विधामा केन्द्रित भएकी चाहिँ होइन। म आख्यान र आख्यानेतर विधा पनि उत्तिकै रुचाउँछु। तर, समयको निश्चित किनारामा बाँधिएर कर्मका विविध पाटामा बाँडिनु र बग्नु मेरो आफ्नो लेखनको परिवेशगत सीमा हो। त्यसैले म सधैँ एउटा ठूलो उपन्यासलाई सानो कविताभित्र प्रस्तुत गर्ने प्रयास गर्छु। कवितामा त्यो बोक्नसक्ने शक्ति हुन्छ र नै म यसमा रमाउँछु। कविता भाव र भाषा दुवै पक्षबाट एकदम ‘कम्प्याक्ट’ हुन्छ। चुस्त र खँदिलो। विस्तृतीकरणबाट बचेर मुक्त भावले लेख्न सकिने विधा भएकैले म यसमा सहज महसूस गर्छु।
तपाईंले अन्तर्राष्ट्रिय कविताका सन्दर्भहरूमा आफ्नो सहभागिता निकै दिनुभएको छ, नेपाली कवितालाई कहाँनिर देख्नुहुन्छ?
–सार्क लिटरेरी फेस्टिभलमा सन् २०१० देखि म सहभागी हुँदै आएकी छु। त्यहाँ प्रस्तुत भएका सार्क स्तरीय कविताहरूका बीचमा नेपाली कविता निकै शक्तिशाली पाएकी छु। त्यहाँ सहभागी अन्य मुलुकका कविसँगको सहकार्यमा यो कुरा तिनले पनि स्वीकारेको पाएकी हुँ।
मैले त्यो समयमा जति सकेँ, त्यति विद्रोह गरेँ। म अहिले यस्तो संस्कृतिबाट पूरै मुक्त छु। मैले मअघिको पुस्तालाई यस्तो विभेदको अस्तित्व समाप्त गरिदिएकी छु। मलाई त्यो मेरो हजुरआमाकै पुस्तामै सकियोस् भन्ने लाग्छ।

विषय वा शिल्प, कुन पक्षमा शक्तिशाली भन्नुभएको?
–सबै किसिमले। यसका लागि त्यहाँ प्रस्तुत भएका कविताहरू युट्युबमा राखिएका छन्। त्यस समयका कविता संकलन गरी सार्क एन्थोलोजी निकालिएका छन्। तत्कालीन अखबार र अनलाइनमा राखिएका कविताहरू पढेपछि हामीलाई विषय र शिल्पमा अरूका तुलनामा हामी कहाँ छौँ भन्ने आफै थाहा हुन्छ। दक्षिण एसियाली कवितामा हामी शिल्प र भाव दुवैमा मानवीय संवेदना गह्रौँ गरी बोक्ने कविता लेखिरहेका छौँ भने हाम्रो कविताको स्तर निर्धारण गर्दा अन्त्यबाट गणना गर्ने सोच हामी आफैँले त्याग्नुपर्छ। वास्तवमा कविता राम्रा हुँदाहुँदै पनि कविमा आत्मसम्मानको कमी हाम्रो समयको समस्या हो भन्ने मलाई लाग्छ।
कविता र राजनीतिको सम्बन्ध कस्तो हुन्छ?
–जसले जे भने पनि हामी कोही पनि राजनीतिबाट टाढा हुन सक्दैनौँ। जुन देशमा हाम्रो अस्तित्व छ, त्यो देशको राजनीति नै हाम्रो संस्कृति बन्छ। आजको विश्वलाई त विश्व राजनीतिले झन् ठूलो प्रभाव पारेको छ। यस्तो स्थितिमा राजनीतिभन्दा पर साहित्य या कविता हुन्छ भन्यौँ भने कविको राष्ट्रिय दायित्व नै समाप्त हुन्छ। हो, राजनीतिसँग, अझ भनौँ सत्तासीन राजनीतिसँग कविता सधैँ नै प्रतिरोधमा उत्रन्छ। त्यो राज्यसत्ता र कविताको आजसम्मको प्रवृत्ति हो। यो प्रवृत्तिबाट मुक्ति पाउनका निम्ति कविताको ट्रेन परिवर्तन हुनसक्छ, त्यसका लागि पहिले सत्तासीन राजनीतिले आफ्नो विगतदेखि वर्तमानसम्मको निरन्तरतामा सत्ता र जनताबीच बनाएको दूरी मेट्न सक्नुपर्छ।
राजनीति राज्यको नीति बनेको दिन कविताले आफ्नो प्राकृतिक स्वर भेट्छ, राजाहरूको नीति बनिरहेसम्म कविता प्रतिपक्ष नै बनिरहन्छ। अर्थात् न्यायका निम्ति कविता नै कानूनको भूमिकामा रहन्छ। जुन देशमा राजनीतिले कानून मिच्छ, त्यहाँ कविता मात्र आम जनताका निम्ति न्यायको स्वर बन्नसक्छ। कवितामा देखिने विद्रोह राजनीतिक परिवेशकै विद्रोह हो। कसैले व्यङ्ग्यपूर्वक, कसैले शालीनतापूर्वक त कसैले उग्रतापूर्वक अघि सार्छन्। जस्तो निर्मलाकै विषयलाई विभिन्न किसिमले अघि सारिएको छ। कसैले सफ्ट कर्नरबाट त कसैले एग्रेसिभ्ली लेखिरहेका छन्। कसैले सामाजिक त कसैले नारीकेन्द्रित विषयका रूपमा लिइरहेका छन्। यी सबै स्वरमा विद्रोह नै छ। त्यो विद्रोह राजनीतिप्रति लक्षित छ। जराहरू पहिल्याउँदै जाँदा समकालीन कविता सधैँ स्वार्थप्रेरित राजनीतिसँगको द्वन्द्व र प्रतिरोध चेतनाबाट बीजारोपण भएको भेटिन्छ।
प्रसङ्ग अब तपाईंको कविता लेखनतिर मोडौँ। तपाईंका हरेकजसो कविताले दुःखको अन्त्य र सुखको सम्भावनातर्फ आशावादी भाव प्रक्षेपण गरिरहेको पाइन्छ। के हरेक दुःखको अन्त्य सुख नै हो त?
–म अहिले भारतका प्रसिद्ध कवि सुरजित पातरको भनाइ सम्झिरहेछु। उनकी आमाले एकदिन उनलाई सोधेकी थिइन् रे, “तँ किन कविता लेख्छस्?,” उत्तरमा उनले आमालाई प्रश्न नै सोधेछन्, “आमा, तिमी पनि सधैँ बिहान उठेर घर बढार्छ्याै नि, किन?” आमाले दिनहुँ धुलो आइरहने हुँदा दिनै बढार्नुपरेको बताएपछि उनले पनि आमालाई जवाफ दिएथे रे, “आमा, म पनि समाजमा भएका विकृतिलाई हटाउन लेखिरहन्छु।”
साँच्चै भनुँ भने म पनि यस्तै विचारबाट प्रेरित भएर लेख्छु। आफू बाँचेको समाज र परिवेशमा आफूलाई आइपरेका नराम्रा कुराबाट आफू निस्केर अरूलाई कसरी जीवनप्रति प्रेरित गर्ने भन्ने कवि चेतनाले मेरो मानवीय दायित्व बोध गराउँछ। यो समाजमा म जसरी विभिन्न भूमिकामा छु, जसरी मेरा भोगाइ र दुःखका अनेक स्वरूप छन्, म अरूमा पनि त्यस्तै हुन्छ भन्ने सत्यबाट प्रेरित भएर मेरो समय र सकसहरूको साधारणीकरण हुँदा अरूका पीडा पनि समानान्तर महसूस गर्छु। सायद म कवि हुनुको खास अर्थ पनि यहीँ छ। म जुन क्षण मेरो चिन्तनको शक्तिले पीडाबाट बाहिर निस्कन सक्छु, त्यो विम्बले मेरो कवितामा ‘पोजेटिभिटी’ दिन्छ भन्ने मलाई लाग्छ। आखिर जीवन त सधैँ घामछायाँ नै त हो, सकारात्मक भनेको त सोच न हो। म त्यो थिममा बाँच्न र लेख्न रुचाउँछु।
सविताजी, तपाईंका कवितामा आउने अर्को स्वर छ, सीमान्तीकृतका आवाज! यो पहिचान र प्रतिरोध चेतना कसरी आयो?
–गीताजी, म तराईमा हुर्केकी हुँ। मेरो चेतनाको जग त्यहीँको सामाजिक–सांस्कृतिक परिवेशमा बन्यो। मेरो घरको नजिकै एक जना तेल लगाउने महिला बस्थिन्। तिनी हाम्रामा हजुरआमा र आमालाई तेल लगाउन आइरहन्थिन्। घरमा तिनलाई अलग्गै व्यवहार गरिएको म देख्थेँ। उनको पानी चल्दैनथ्यो। अहिले तिनी बितिसकिन् तर मेरो मनमा सानैदेखि यस्तो व्यवहारप्रति विरोध जन्मियो। पढ्दा कति दलित भनिएका साथीहरूका घरमा गएर म र मेरा बहिनीहरू सँगै खाना खान्थ्यौँ।
मैले त्यो समयमा जति सकेँ, त्यति विद्रोह गरेँ। म अहिले यस्तो संस्कृतिबाट पूरै मुक्त छु। मैले मअघिको पुस्तालाई यस्तो विभेदको अस्तित्व समाप्त गरिदिएकी छु। मलाई त्यो मेरो हजुरआमाकै पुस्तामै सकियोस् भन्ने लाग्छ। प्रत्येक परिवारले यसरी व्यावहारिक सोचमा परिवर्तन गर्ने हो भने यस्ता सामाजिक विभेद आफै अन्त्य हुन्छ। सायद मेरो बाल्यकाल र हुर्काइका यस्तै सन्दर्भहरूले नै मलाई किनारीकृतका आवाज बोल्न लगायो होला भन्ने लाग्छ।
महिला हिंसाका अनेक रूप छन्। अहिले बालिकाप्रति समाजमा गरिने पुरुष व्यवहारलाई लिएर चर्को प्रतिरोध भइरहेको छ। तपाईंलाई के लाग्छ, यो तपाईंको समयमा पनि थियो?
–हो, हाम्रो समयमा पनि त्यस्ता गतिविधिहरू भइरहेका हुन्थे। खासगरी कोही कोही शिक्षकहरू, आफन्तहरू समिजको फित्ता सुमसुम्याउने जस्ता गतिविधिबाट आफू दिक्क भएको भन्ने साथीहरूले पीडा पोख्थे। यस्ता कुरा डर र लाजले बाहिर ल्याउँदैनथे, साथीबीचमै सीमित हुन्थ्यो र सकेसम्म त्यस्ता पात्रका नजिकै नपर्ने कोसिस गरिन्थ्यो। कतिपयको मायाले त्यस्तो व्यवहार गरेको होला भन्ने कलिलो मनको बुझाइ हुन्थ्यो। शिक्षाबाट विस्तारित चेतनाका आधारमा सहरमा अबको पुस्ताले आंशिक रूपमा यसको प्रतिकार गर्न थालेका छन्। गाउँगाउँमा यसको स्वरूप निकै विकराल छ।
भारतमा ‘बेटी बचाऊ बेटी पढाऊ’ भन्ने नारा सार्वजनिक बस होस् वा स्थल सबैतिर लेखेको देखिन्छ। यो समस्या चौतर्फी छ। त्यसैले यस्ता संवेदनशील विषयलाई घरमा भन्नसक्ने र भन्दा उल्टो लज्जित हुनु नपर्ने वातावरण बनाएर बालिकाका कमजोर मानसिकतालाई सबल बनाउन सहयोग गर्नु घर र समाज दुवैको कर्तव्य हो। नारी–पुरुष दुवैको साझा सहकार्यबाट यस्ता हिंसाजन्य प्रवृत्तिको निराकरण गर्न सकिन्छ। आफूले चिनेका त्यस्ता पात्रलाई निरुत्साहित गरी सही मार्गमा हिँडाउनु सामाजिक दायित्व हो भन्ने सबै सक्षम नारी–पुरुषले बोध गर्नु आवश्यक छ। वास्तवमा साहित्य र शिक्षा यसका निम्ति सही उपकरण हुन्।
धेरै यस्ता कविता कार्यक्रम हुनु र यस्ता कार्यक्रममा सकेसम्म उपस्थित भएर आफूलाई प्रस्तुत गर्ने र अरूका सुन्ने गर्दा यस्तो दूरी कम गर्ने प्रत्यक्ष अवसर हुन्छ। प्रतिभा प्रस्तुत गरिँदैन भने त्यो बिलाउँछ।
सविताजी, फेरि तपाईंकै कविताका विषयमा फर्कौं। तपाईंका कवितामा समकालीन अन्य कविताका तुलनामा साङ्गीतिकता अलिक ज्यादा, विशिष्ट किसिमको महसूस हुन्छ। यसको खास कारण छ कि?
–मैले बुझेको, कविता भनेको सङ्गीत पनि हो। अनुप्रास मिलाएर लय समाउँदा म खुब रमाउँछु। म पहिलोपटक लेखेको कवितामाथि फेरि काम गर्छु। एक जना विदेशी कविले भनेको कतै पढेकी थिएँ, ‘आई एम टाइटेनिङ माई पोयम!’ म पनि कविता लेख्दाको बहावलाई नियन्त्रण गरेर, आफ्नोतर्फबाट चिटिक्क बनाएर, भनौँ न आइरन लगाएर, कपाल मिलाइदिएर अर्थात् चाहिँदो जति श्रृङ्गार गरे कवितालाई सुहाउँछ भन्ने विश्वास गर्छु। कविताभित्र उम्रिएका घाँस फाल्न पनि डराउनुहुँदैन भन्ने कुरामा एउटा कवि सचेत हुनुपर्छ भन्ने मेरो बुझाइ छ।
पुराना र नयाँ पुस्ताका कविबीच अन्तराल छ भनिन्छ नि?
–पुराना पुस्ताका कवि र नयाँ पुस्ताका कविबीच ठ्याम्मै अन्तराल छ, छैन। एकले अर्कालाई केही न केही पक्कै पढेकै हुन्छन्। तर, एउटा कुरा के चाहिँ हो भने पुराना पुस्ता प्रविधिबाट टाढा भएका र धेरै व्यस्त हुने अनि नयाँ पुस्ता इन्टरनेटको दुनियाँमा भएकाले उनीहरू किताबसम्म नपुगेर, ग्याजेटको संसारमा रमाएर कतिपय विषयमा पुस्तागत अन्तराल देखिन गएको हो। पुराना पुस्ता आवश्यकताभन्दा बढी प्रविधिप्रति निराश र नयाँ पुस्ता आवश्यकताभन्दा बढी प्रविधिप्रति निर्भर भएकै कारण यी दुई पुस्ताबीचको भावनात्मक सन्तुलन बिथोलिएको हो। एक ठाउँको कविलाई अर्को ठाउँमा सुन्ने अवसर जुटाउन सके यस्तो कमी केही हदसम्म घट्ने हुन्थ्यो भन्ने लाग्छ। यसपालि हामी कविता श्रृङ्खलामा मैले कविता वाचन गर्दा अशेष मल्ल दाइले यसअघि सुन्न नपाएको गुनासो गर्नुभएको। त्यसैले पुस्तागत मात्र होइन, क्षेत्रीय आधारमा पनि अन्तराल रहेको प्रमाण म आफै हुँ।
त्यसैले पुस्तकमा मात्र सीमित हुन नचाहने आजको पुस्तालाई प्रस्तुतिको अवसर मिलाइदिएर पनि नयाँ र पुरानाबीचको दूरी कम गर्न सकिन्छ। आज कविता वाचनमा पुस्तागत सन्तुलन मिलाएर दुवै पक्षलाई रचनागत आधारमा नजिक्याउनु आवश्यक छ। धेरै यस्ता कविता कार्यक्रम हुनु र यस्ता कार्यक्रममा सकेसम्म उपस्थित भएर आफूलाई प्रस्तुत गर्ने र अरूका सुन्ने गर्दा यस्तो दूरी कम गर्ने प्रत्यक्ष अवसर हुन्छ। प्रतिभा प्रस्तुत गरिँदैन भने त्यो बिलाउँछ। कलाकार लक्ष्मण श्रेष्ठको एउटा अन्तरवार्ता हेरेकी थिएँ। उहाँले भन्नुभएको थियो, ‘म काठमाडौँमा अटाइन, बम्बई पुगेँ। बम्बईमा अटाइन र पेरिस पुगेँ र सर्वत्र भएँ।’ यो विस्तृतिको बोधले नै उहाँलाई विश्वमा चिनिने अवसर मिल्यो। त्यसैले प्रतिभा देखाउनु जरुरी छ। पहिचान बनाएपछि नै जिम्मेवारी पनि बोध हुने हो। समकालीन कवितामा देखिएको यो ग्याप समकालीन प्रवृत्तिले नै जोड्न सक्छ। त्यो हो– प्रविधिको प्रयोग र भावनाको सामीप्य।
अन्त्यमा लेखिन बाँकी विषयका बारेमा केही भन्नुहुन्छ कि?
–विषय विविध हुन्छन्। कविताले पक्रने थिम विषय बोध/अनुभूति संयन्त्रले निर्धारण गर्छ। केही कुरा देख्नु, त्यसले हिर्काउनु र त्यसको भाइब्रेसनमा पुग्नुका रचनागर्भले म बल्ल कवितामा ओर्लन्छु। त्यो भाइब्रेसनलाई शब्दमा कन्भर्ट गरेर पहिलो ड्राफ तयार हुन्छ। त्यसैले विषय जुन भए पनि त्यसको छुवाइ चाहिँ तरङ्ग दिने भयो भने कवितामा नयाँनयाँ सौन्दर्य प्रस्फुटन हुने हो। त्यसैले राम्रो कविता जन्मनुमा विषयसँगै त्यसको ग्रहण क्षमता र प्रस्तुति कलाको भूमिका रहन्छ भन्ने मेरो अनुभव छ।