एजेन्सी– फोर्ब्स र बिजनेस इन्साइडर दुवै लोकप्रिय समाचार साइटहरु हुन्। तर यी दुवैको नामसँग जोडिएको अर्को एउटा न्युज साइट पनि छ– ‘फोर्ब्सबिजनेसइन्साइटर डट कम’ जसको फोर्ब्स र बिजनेस इन्साइडरसँग कुनै कारोबार छैन। वास्तवमा यो साइटले अन्य प्रकाशनहरुको लेखलाई थोरै मात्र परिवर्तन गरि कपी–पेस्ट गर्ने गरेको छ।
तथ्याङ्कका अनुसार इन्टरनेटमा ३५ करोड भन्दा धेरै डोमेन नामहरु रजिस्टर गरिएका छन् जसबीच यस किसिमका नक्कली साइटहरु अनगिन्ती रहेको विज्ञहरु बताउँछन्। तर अरुको लेख कपी–पेस्ट गरे पनि यस्ता साइटहरुले वैध समाचार साइटहरु जसरी नै मनग्य आम्दानी गरिरहेका हुन्छन्। नक्कली साइट भएता पनि फेक समाचारमार्फत इन्टरनेट प्रयोगकर्तालाई यिनीहरुले धेरै आकर्षित गर्न सक्छन् र यसका साथै फेक भ्यु राखेर प्रमुख प्राविधिक कम्पनीहरुबाट विज्ञापन प्राप्त गरिरहेका हुन्छन्।
अमेजोन र गुगललाई डिजिटल विज्ञापन उद्योगका सबैभन्दा ठूलो खेलाडी मानिन्छ। यिनले इन्टरनेटभर विज्ञापन स्पेस बिक्री गरेर मात्र वार्षिक अर्बौँ डलर कमाइ गर्ने गरेका छन्। यसै क्रममा बीबीसीले फोब्र्स्बिजनेसइन्साइडर डट कम नामक सो नक्कली वेबसाइट निरीक्षण गर्दा त्यसको एउटा विज्ञापनले सेफरा, भाइटालिटी इन्स्योरेन्सलगायतका प्रमुख ब्रान्डहरुको प्रचार गरिरहेको फेला पारेको हो। जसपछि बीबीसीले गुगललाई सो साइटका बारेमा खबर गरायो। अनि मात्र त्यसले सो विज्ञापन प्रकाशन रोकाएको हो। यता अमेजोनमा पनि यस किसिमका कार्य जारी नै रहेको पाइएको छ। वास्तवमा सो साइट पाकिस्तानको कराचिस्थित निर्माण गरिएको रहेछ।
यस किसिमका वेबसाइटहरुले वास्तविक खबर प्रकाशन नगरेपनि तिनीहरु दशौँ लाखपटक हेरिएको भनि डाटाले देखाउने गर्दछ। यसबारेमा ‘सोसल पन्चर’ नामक फर्मका अनुसन्धान अध्यक्ष भ्लाद सेभसोभ भन्छन्, ‘हाम्रो अनुमानमा त्यस्ता प्रत्येक साइटले कम्तीमा पनि मासिक १ लाख डलर कमाइरहेका हुन्छन्। ” उनको फर्मले यसअघि पनि थुप्रै नक्कली र अवैध साइटहरुबारे खुलासा गरिसकेको छ। उनका अनुसार विज्ञापन ठगी पछिल्लो समय लाखौँ डलरको उद्योग बनिसकेको छ। यसरी भ्युज बढाएर विज्ञापनदाताहरुबाट अत्याधिक रकम असुली गर्ने कार्य पछिल्लो समय व्यापक बन्दै गएको उनी बताउँछन्।
बीबीसीले अनुसन्धान गरेका नक्कली साइटहरुमा भर्जिन मिडिया, सुपरड्रग र टिभी लाइसेनिङ सहितका प्रमुख बेलायती ब्रान्डहरुका लागि विज्ञापन रहेको पाइएको हो। यस सम्बन्धी भर्जिन मिडियाका प्रवक्ताले भनेका छन्, “हामी आशा गर्दछौँ कि प्राविधिक उद्योगले विज्ञापन ठगी न्युनिकरण गर्न प्रभावकारी कदम उठाउनेछन्। ” यता गुगलले भने कतिपय त्यस्ता नक्कली साइटहरुले विज्ञापन सम्बन्धी आफ्नो नीति नियम उल्लंघन नगर्ने गरेकाले पनि तिनलाई हटाउन नसकिने बताउँदै आएको छ।
सेभसोभ भन्छन् “यसको अर्थ ती साइटका अज्ञात मालिकले गुगलबाट अझै चेक पाइरहनेछन्।”
यसरी गुगलले विज्ञापन बजेट सुनिश्चित सम्बन्धी पर्याप्त कडाइ नगरेकाले नै त्यस्ता साइटहरु झन बढी सक्रिय हुँदै गएको धेरैको गुनासो छ। गुगल र विज्ञापन उद्योग दुवैले त्यस्ता साइटहरुलाई बेवास्ता गर्दै ठगहरुलाई पैसा दिइरहेकाबारे डाक्टर अडस्टिन फोउ पनि सहमति जनाउँछन्। उनले भनेका छन् “लाखौँ एप्स र साइटहरुले विज्ञापन प्रविधिबाटै कमाइ गर्ने हुनाले नै गुगल जस्तो प्लेटफर्मलाई यस्ता विषयमा कडाइ गर्न कठिन हुने गरेको मैले राम्ररी बुझेको छु।”
तर पनि गुगलले बारम्बार आफूहरु विज्ञापन ठगीको विरुद्ध गम्भीर भएर लागिरहेको भन्ने गरेको छ। यता अमेजोनले चाहिँ यसमा कुनै प्रतिक्रिया नदिने बताएको हो। बीबीसी