एजेन्सी– विश्वका एक चौथाइ भन्दा बढी युवाहरु आफ्नो स्मार्टफोनमा यति धेरै निर्भर छन् कि उनीहरुका लागि यो एक किसिमको गम्भीर लत नै बनिसकेको छ। यसरी मनो्विश्लेषकहरुले गरेको एक नयाँ अनुसन्धानमा आजका युवाहरु एकैछिन मोबाइल नहुँदा आत्तिने गरेको पत्ता लागेको हो।
किङ्स कलेज लन्डनले सञ्चालन गरेको यस अध्ययनका अनुसार यो व्यवहारको अर्थ युवाहरुलाई फोनको पहुँच नदिँदा उनीहरुमा तत्कालै नकारात्मक भावना पलाउन थाल्छ र त्यसले मानसिक तनाव गराउन सक्छ। यति मात्र नभएर युवाहरु मोबाइल फोनमा आफूले बिताइरहेको समय नियन्त्रण गर्न पनि असमर्थ भइरहेका छन्। यस्तोमा सो लतले मानसिक स्वास्थ्यमा पार्न सक्ने भयानक परिणामबारे अध्ययनले चेतावनी दिएको हो।
‘बीएमसी साइकिआट्री’ मा प्रकाशित सो अनुसन्धानमा ४१ वटा पूर्वअध्ययनहरुको विश्लेषण गरिएको थियो जसमा ४२ हजार युवाहरुमाथि सर्वेक्षण गरिएको हो। उनीहरु सबै स्मार्टफोनको समस्याजनक प्रयोजनसँग सम्बन्धित थिए। यसमा २३ प्रतिशतमा मोबाइल फोनको लतसँगै एन्जाइटी, समयको हेक्का नराख्ने र दैनिक गतिविधिमा असरलगायत समस्याजनक व्यवहार पनि बढ्दै गएको पाइएको हो।
यसरी मोबाइलको लतकै कारण उनीहरुमा यी खराब प्रभाव पनि परिरहेको अध्ययनमा उल्लेख गरिएको छ। त्यसैगरी यसले युवाहरुको पढाइमा असर गर्नुका साथै स्ट्रेस, डिप्रेसन, अनिद्रा र विद्यालयको प्रदर्शनमा कमी पनि ल्याइरहेको बताइएको छ। तरपनि यसमा स्मार्टफोन आफैँमा लत लगाउने उपकरण भएको वा त्यस भित्रको एप यसका लागि जिम्मेवार रहेको भन्ने चाहिँ अझै स्पष्ट हुन नसकेको किङ्स कलेजस्थित यस अध्ययनकी लेखिका निकोला काल्क बताउँछिन्। बीबीसी