सुमन पोखरेल कवि, गीतकार, अनुवादक, नाटककार तथा कलाकार हुन्। उनका विभित्र विधाका पाँच पुस्तक प्रकाशित रहेका छन्। उनका कविताहरु स्पेनिस, जर्मन, इटालियनलगायत तेह्र भाषामा अनूदित भई विभित्र देशबाट प्रकाशित भएका छन्। उनको नाटकका प्रदर्शन तथा उनका गीतमा भरतनाट्यम्लगायतका प्रस्तुतिहरु विभित्र मुलुकमा भएका छन्। पोखरेलले अनेकौँ विदेशी कवि/लेखकका रचना नेपालीमा तथा सयौँ नेपाली कविहरुका कविता अङ्ग्रेजी, हिन्दी तथा उर्दूमा अनुवाद गरी विभिन्न देशबाट प्रकाशित गराएका छन्। पोखरेल सार्क साहित्य अवार्डबाट दुई पटक विभूषित भएका छन्।
पाँच इरानी नारीका कविता (अनुवाद: सुमन पोखरेल)
आज राति 
आरजु मोख्तराइन (इरान)
आज राति
माया गर्ने छैनौ तिमीले मलाई ।
तिमी थाकेका छौ,
दिक्क लागेको छ तिमीलाई
यी मधुर तरङ्गहरूसँग खेल्न ।
मेरा हातलाई विश्राम दिलाउने छु म
र बिसाउन पाउनेछु मेरा गोडालाई।
विलय 
मिना दास्त्गेहिब (इरान)
सुन्तलाको बगैँचामा
धेरै चिज बाँकी थिएनन्–
बितेर गएका दिनहरू
सम्मानको म्यानभित्र लुकेका रातहरू
र धूनले भरिँदै गरेको हृदय।
तिमी छैनौ
र बतासमा हेर्छु म
धरती, र पातहरू र भित्ताहरू हेर्छु
अनुहार हेर्छु
हेर्छु पिँजडा
बादल
झ्याल
चौकोस र
हेर्छु पानीको खल्लो स्वादलाई
र सुम्पिदिन्छु आफूलाई झरनाको प्रवाहमा।
पृथ्वी एउटा खेतबारी भएको भए 
रोशनाक बिगोनाह (इरान)
ठूला राता गोदाम
र अल्छी घोडाहरू
निदाइरहेको एउटा ट्रयाक्टर,
र तुलसीको बास्नाले मगमगाएको दलान
चरिअमिलो र दिक्क लगाउने उन्यूका बीचैबीच
एउटा गोरेटो,
यो दुनियाँ एउटा घमाइलो खेतबारी हुन्थ्यो भने
मकै बारी फाँड्दै कुद्न हुनेथ्यो
नसुन्ने, नदेख्ने र सास फेर्न नसक्ने हुनेथ्यो
काठे रेलिङ समात्दै दौडिन
र कटुसका रुखपछाडि
तिमीसँग एकाकार भएर लठ्ठारिन हुनेथ्यो।
समय 
महबुबा शाद्जी (इरान)
बेञ्चमा बसिरहेको त्यो बुढो मान्छे
तिमी, साइकलमा यताउता कुदिरहने एउटा सानो केटो हौ।
उमेरका चिन्हहरूले छरिएर
तिम्रा केश अहिले सेता भएका छन्।
अनि मरु
मेरो यौवनयुक्त छालामा
विस्मातका नमेटिने चाउरी परेका छन्।
ती दिन 
फरिस्ता सारी (इरान)
ती दिनमा
कविता
मेरो कोठा थियो
र जबजब असुरक्षित महसुस गर्थेँ म
त्यसकै सनातन शरणमा पुग्ने गर्थेँ।
अहिले
कतै कुनै कोठा छैनन्
जसले मलाई भीडबाट लुकाउन सकुन्
र हरेक झ्यालपछाडि
हरेक कोठाका भित्र र बाहिर
उपहास गरिरहन्छ
एउटा पिपलपाते विदुषकले।