एजेन्सी– चीनको हुपेई प्रान्तको वुहानबाट महामारीका रूपमा फैलिएको कोरोना भाइरस हाल विश्वकै चिन्ताको विषय बनेको छ। यही भाइरसको कारणा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ।
यो भाइरसको कारण २ सय ५९ जनाको मृत्यु भइसकेको छ चने ११ हजार भन्दा बढी संक्रमित भएका छन्। नयाँ प्रकारको भाइरस भएको कारणले पनि पनि धेरैले यसको बारेमा जान्न र यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे इन्टरनेटमा खोजी गर्न थालेका छन्। केही ह्याकरहरुले इन्टरनेट प्रयोगकर्ताको यही चासोलाई ठूलो अवसरका रुपमा लिन थालेका छन्।
साइबर क्रिमिनल्सहरुले कोरोना भाइरसबाट बच्ने तरिका, संक्रमण लागेका व्यक्तिहरुमा देखिने लक्षणजस्ता आकर्षक शीर्षक राखेर विभिन्न प्रकारका सामग्री इन्टरनेटमा राख्न थालेका छन। साइबर सेक्युरिटी फर्म ‘कास्परेस्की’ का अनुसन्धानकर्ताहरुको अनुसार कोरोना भाइरससँग सम्बन्धित जानकारी र सुरक्षा टिप्सका नाममा साइबर क्रिमिनल्सहरुले खतरनाक फाइलहरु इन्टरनेटमा राखेका छन्।
इन्टरनेट प्रयोगकर्ताले कोरोना भाइरससम्बन्धी सामग्री खोजी गर्दा ती खतरनाक सामग्रीसम्म पुग्ने र ती सामग्रीमा रहेका पिडिएफ फाइल, एमपी–फोर र डक्स फाइलमा रहेका ‘मेलिसियस’ फाइल कम्प्युटर तथा मोबाइलमा प्रवेश गरी पर्सनल डाटा चोरी गर्न वा क्षति गर्न सक्ने कास्परेस्कीका अनुसन्धानकर्ताको दाबी छ।
कोरोना भाइरससम्बन्धी इन्टरनेटमा राखिएका केही सामग्रीमा उक्त भाइरसबाट बच्ने उपाय भन्दै भिडियो निर्देशसमेत गरिएको, कोरोना भाइरससम्बन्धी पछिल्लो अपडेट र त्यसबाट बच्ने तरिका भन्दै विभिन्न सामग्री राखिएको कास्परेस्कीका मालवेयर विश्लेषक एनटन इभानोभले जनाए।
एनटन इभानोभको अनुसार कम्तीमा १० वटा त्यस्तो फाइल फेला परिसकेको छ जसमा निकै खतरनाक ट्रोजन भाइरस थिए। उनले थपे, ‘ती भाइरसका माध्यमबाट इन्टरनेट प्रयोगकर्ताको डाटामा नोक्सान पुग्ने, ब्लक गर्ने, मोडिफाइ या कपी गर्नेदेखि लिएर कम्प्युटर नेटवर्क र अपरेशनमै परिवर्तन ल्याउन सक्ने क्षमता देखिएको छ।’ कास्परेस्कीले इन्टरनेट प्रयोगकर्तालाई त्यस्ता संदिग्ध फाइलमा पुग्नबाट बच्न सचेत गराएको छ। कुनै अपरिचित वा संवेदनशील लिङ्कमा ‘क्लिक’ नगर्न पनि उसले सुझाव दिएको छ।
साइबर अपराधीहरुले खतरनाक भाइरसका माध्यमबाट कम्प्युटर तथा मोबाइलका डाटा चोर्ने अवसरका रुपमा कोरोना भाइरसको नाम प्रयोग गर्न सक्ने भन्दै गुगलले हालै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) सँग सहकार्य गरी एसओएस अलर्ट फिचर नै लञ्च गरेको छ। यसको अर्थ कोरोना भाइरससँग सम्बन्धीत कुनै पनि विषयमा गुगलमा सर्च गर्ने बित्तिकै अब गुगलले त्यससँग सम्बन्धित महत्वपूर्ण जानकारी सुरुमा दिने भएको हो।