काठमाडौं– विश्वकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले टिकटकको लोकप्रियता विश्वभर बढिरहँदा टिकटक जस्तै टांगी एप ल्याएको छ। चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक हाल विश्वभर निकै लोकप्रिय बनिरहेका बेला गुगलले पनि टांगी एप बनाएको हो।
गुगलको एरिया १२० टिमले उक्त एपको निर्माण गरेको हो। गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियो शेयर गर्न सकिन्छ। टिकटकमा जस्तै टांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन्।
खासगरी कुनै पनि जटिल कामलाई घरमै कसरी सजिलोसँग गर्न सकिन्छ भन्ने विषयका जानकारीमूलक भिडियोहरु यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ। टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको गुगलको दाबी छ। यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा समेटिएका छन्।