काठमाडौं–प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ।चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नर्पुयाउने सरकारको लक्ष्य थियो।
तर, मंसीरसम्म आउँदा मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुगेको छ।नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९ दशमलव ७६ प्रतिशतले बढेको छ।
यस समूह अन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडीमा मूल्य वृद्धि उच्च रहेको केन्द्रीय बैंकले बताएको छ। तरकारीमा मात्रै ४० प्रतिशतले मूल्य बढेका कारण समग्र मूल्य वृद्धिमा चाप परेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्।साथै, भारतको मूल्य वृद्धि बढेका कारण नेपालमा महँगी बढेको उनको तर्क छ।
भारतले चालू आवमा मूल्य वृद्धिको सीमा ४ प्रतिशत राखेको थियो। तर, भारतमा मूल्य वृद्धि ७ दशमलव ३५ प्रतिशत पुगेको छ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन्।