एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासामा प्रशिक्षार्थीको रुपमा छोटो समय काम गरेका एक स्कुले विद्यार्थीले अन्तरिक्षमा नयाँ ग्रह पत्ता लगाएका छन्।
बिबिसीले जनाए अनुसार १७ वर्षीय किशोर वुल्फ कुकिअरले यस्तो पत्ता लगाएका हुन्। उनले प्रशिक्षार्थीको रुपमा नासामा काम गरेको तीन दिनमै नयाँ ग्रह पत्ता लगाएको बिबिसीले जनाएको छ।
शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरु हेरिरहँदा वुल्फले अचानक अनौठो चिज देखेपछि यसबारे खोजी गर्दा ग्रहको पुष्टि भएको हो। उक्त अनौठो वस्तु १ हजार ३ सय प्रकास वर्ष टाढा रहेको समाचार नासाले पुष्टि गरेको छ।
उनले देखेको अनौठो वस्तुलाई आफ्ना पर्यवेक्षकलाई देखाएपछि नयाँ ग्रहबारे पुष्टि भएको हो। बिबिसीका अनुसार ती किशोरले दुई महिना नासामा प्रशिक्षार्थीको रुपमा काम गरेर विद्यालय फर्किसकेका छन्। विदाको क्रममा उनले प्रशिक्षार्थी बन्ने मौका पाएको पनि बताइएको छ।
वुल्फले पत्ता लगाएको नयाँ ग्रह पृथ्वी भन्दा ६ दशमलब ९ गुणा ठूलो रहेको पनि समाचारमा छ। जुन बस्नयोग्य नभएको र तरल पदार्थले भरिएको अनुमान गरिएको छ।