वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । चन्द २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
मेयर चन्दसँगै पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरू पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नगरप्रमुखसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट, ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे ।
मेयर चन्द माधव नेकपा निकट थिए । तर, पार्टी विभाजनको समयमा उनी १० बुँदेमार्फत एमालेमै बसेका थिए । गत पुसमा भएको नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग झिनो अन्तरले सचिव पदमा पराजित भएका थिए ।
एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर पार्टी परित्याग गर्नुपरेको चन्दले बताए ।