काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज छलफल भएको छ । दुई नेताबीच स्थायी समिति बैठक, अर्ली महाधिवेशन र नेतृत्व परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
पार्टीमा विवाद बढेपपछि अध्यक्षद्वय पछिल्लो समयमा सहमति खोज्न वान टु वान वार्तामा छन् । तर, अहिलेसम्म सहमति हुन सकेको छैन । बालुवाटारमा शुक्रबार करिब २ घण्टा छलफल भएको हो ।
प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल पक्षले ओलीको राजीनामा माग्दै आएका छन् । तर, ओलीले आगामी मंसिरमा अर्ली महाधिवेनमार्फत नेतृत्व हस्तान्तरण गर्ने भन्दै महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । यसमा प्रचण्ड–नेपाल पक्ष सहमत हुन सकेका छैनन् ।
सोही विषयमा विवाद भएपछि गत मंगलबार बसेको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको छ । सहमति खोज्ने भनिए पनि मंगलबारयता ओली–प्रचण्डबीच संवाद हुन सकेको थिएन । शुक्रबार दुई नेताबीच संवाद भए पनि कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले बताए ।
नेकपाको स्थायी कमिटी बैठक १३ साउनमा बस्दै छ ।