काठमाडौँ– क्षयरोग(टिबी) उपचारमा प्रभावकारिता नहुँदा प्रतिबद्धताअनुसार रोग नियन्त्रणबाहिर जान लागेको राष्ट्रिय क्षयरोग कार्यक्रम प्रभाव मूल्यांकन प्रतिवेदनले जनाएको छ। राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।
नेपालले विभिन्न अवधिमा अन्तराष्ट्रिय स्तरमा क्षयरोगको नियन्त्रणमा गरेको प्रतिबद्धताअनुसार कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको प्रतिवेदनले औल्याएको छ।
नेपालले पछिल्लो पटक सन् २०१८ मा संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठकमा २०३५ भित्र नेपालमा सन् २०१५ तुलनामा क्षयरोगबाट हुने मृत्यु ९५ प्रतिशत घटाउने, सन् २०३५ भित्रै क्षयरोग लाग्ने दर ९० प्रतिशत घटाउने र परिवारमा क्षयरोगको उपचारमा लाग्ने खर्च शून्यमा पुर्याउने प्रतिबद्धता जनाएको थियो। यो समाचार नागरिक दैनिकले छापेको छ।