सुर्खेत– राम्रो आम्दानी हुने भएपछि सुर्खेत सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ। औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन्।
जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैं निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन्। जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृत रुपमा क्लिनिक तथा औषधि पसल खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला बजार अनुगमन समिति र स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधि पसल खुल्ने क्रम रोकिएको छैन।
जिल्लामा कतिवटा अवैध औषधि पसल छन् यसको तथ्याङ्क कसैसँग छैन। बजार अनुगमन गर्न आफूसंँग स्रोत र साधनको अभाव भएकाले समस्या परेको औषधि व्यवस्थापन कार्यालय बाँकेले जनाएको छ।
सदरमुकाम वीरेन्द्रनगर र शहरी क्षेत्रमा मात्रै नभई अहिले गाउँगाउँमा समेत यस्ता औषधि पसल खुल्दै गएकाले औषधिको जथाभावी व्यापार बढेको हो। ग्रामीण क्षेत्रका उपभोक्ताले रोग बताएको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपय औषधि पसलले सामान्य अनुभवकै भरमा बिक्री गर्ने गरेका छन्।
कतिपय औषधि व्यापारीले विभिन्न अस्पतालका चिकित्सकको नाम झुण्ड्याएर आफैले स्वास्थ्य जाँच गर्ने गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको वीरेन्द्रनगरका स्थानीयवासी राजु केसीले बताए।
नियमानुसार औषधि पसल राख्न कम्तीमा तीन वर्षे फार्मेसी तहको अध्ययन पास गर्नुपर्ने भए पनि यहाँका तीन दर्जन यस्ता पसलेले सामान्य अनुभव बटुलेकै भरमा औषधिको व्यापार गरेका छन्।
कतिपय औषधी ब्यापारीले भने भाडा तिरेर अरुको फार्मेसीको प्रमाणपत्र झुण्ड्याउने गरेका छन् भने एकै व्यक्तिको प्रमाणपत्र फोटोकपी गरेर विभिन्न पसलमा झुण्ड्याएर औषधि बिक्री गर्ने गरेको समेत पाइएको छ।
अवैध ल्याब र मेडिकल सिल
जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका दुई वटा ल्याब र एउटा मेडिकल हल सिल गरेको छ। गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरेन्द्रनगरका पाँँच वटा नर्सिङ होम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सुभास मेडिकल हलले अर्कैको नाममा मेडिकल सञ्चालन गरेको पाइएको थियो।
‘विवेक मेडिकल हलको नाममा दर्ता गरेर सुभास मेडिकल हलको नामबाट मेडिकल सञ्चालन गरेको पाइयो’, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘अर्कैको नाममादर्ता गरेकाले मेडिकलमा सिल गरेका हौं।’ यस्तै सुभास मेडिकलले नवीकरण नगरेरै पोलिक्लिनिक पनि सञ्चालन गरिरहेको पाइएको छ।
प्रजिअ पोखरेलले नवीकरण नगरेरै सञ्चालन भइरहेको बुलबुले डायनोष्टिक तथा पोलिक्लिनिक सँगै सुभास मेडिकलमा सिल गरिएको जनाए। प्रशासनले आशा मेडिकल हल र तृप्ती मेडिकल हलले सञ्चालन गरिरहेका ल्याबहरु पनि सिल गरेको छ।
आशा मेडिकल हलले पोलिक्निक दर्ता गरेको भए पनि ल्याब र डे«सिङ रुम एउटै कोठामा राखेको पाइएको उनले जानकारी दिए। यस्तै तृप्ती मेडिकलले अनुमतिविनै ल्याब सञ्चालन गरेकाले सिल गरिएको उनले बताए।