मेलम्ची – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखालाको महामारी फैलिएको छ। झाडापखालाका कारण एकै गाउँका ५० भन्दा बढी बिरामी भएका छन्। केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।
बिरामीको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अस्पतालको एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिए। बिरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरू छन्।
शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो। त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो। विषाक्त खाना भएका कारण झाडापखालाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। दूषित पानीका कारण महामारी फैलिएको हुनसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए।
झाडापखालाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। केहीको स्थिति गम्भीर छ। गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिए। गम्भीर बिरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए। (रासस)