कास्की – माछापुच्छ्रे गाउँपालिकाले विपन्न तथा गरिब घरपरिवार छनोट गरी उनीहरूको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले १ देखि ६ नं. वडाका विपन्न तथा गरिब १ सय ४२ घरधुरी छनोट गरी उनीहरूको स्वास्थ्य बीमा गरिदिएको हो।
आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित नहोउन् भनेर गरिब परिवार यकिन गरी उनीहरूका सदस्यलाई स्वास्थ्य बीमामा आबद्ध हुँदा लाग्ने रकमसमेत भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष कर्ण गुरुङले बताए।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिलाल आचार्यका अनुसार उनीहरूको बीमाका लागि गाउँपालिकाले रु. ३ लाख ७७ हजार ९ सय ५० उपलब्ध गराएको थियो। नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर २ वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेकामा ५ जनाको परिवार भएको प्रतिघरले वर्षमा रु. २ हजार ५ सय तिरे बीमा कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ भने ५ भन्दा बढीको हकमा भने प्रतिव्यक्ति रु. ४ सय २५ बुझाउनुपर्नेछ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले वर्षमा रु. ५० हजारसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था गरिएकामा आगामी वर्षबाट रु. ३ हजार ५ सय भुक्तानी गरेर ५ जनासम्मको परिवारले वार्षिक रु. १ लाखसम्मको तोकिएको अस्पतालबाट उपचार सुविधा पाउने व्यवस्था सरकारले गरेको छ। ५ भन्दा बढी सदस्य भएको परिवारमा थप प्रतिसदस्य रु. ७ सय भुक्तानी गर्नुपर्ने भएको छ।
गाउँपालिकाका नौवटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अति गरिब परिवारको बीमा गर्ने योजनाअनुसार चालू आवकोे नीति तथा कार्यक्रममा नै उल्लेख गरेर बीमाका लागि रु. ५ लाख बजेट विनियोजन गरिएको थियो।
बाँकी तीनवटाको फाइल आउन ढिलाइ भएकाले आगामी साउनबाट लागू हुने गरी उनीहरूलाई बीमामा सहभागी गराउने तयारी गरिएको स्वास्थ्य प्रमुख आचार्यले जानकारी दिए। प्रत्येक वडा कार्यालयले वडाअन्तर्गतका गरिब घरपरिवार पहिचान गरी उनीहरूबाट आवेदन दर्ता गरेर त्यस्ता परिवारको आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिएको आचार्यले बताए।
सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राहीलाई भने यस कार्यक्रममा सहभागी नगराइएको र गरिब, विपन्न तथा अन्य लक्षित वर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरूको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थामा ऋण लिए नलिएकोलगायत विवरणका आधारमा परिवार छनोट गरिएको गाउँपालिकाले जनाएको छ।
कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उपचार सेवा लिने गरेका छन्। (रासस)