लहान – सरकारी अस्पताल (स्वास्थ्य संस्था) मा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा सिरहावासीले सास्ती खेपिरहेका छन्। ग्रामीण भेगका स्वास्थ्य संस्थाबाट धेरैजसो बिरामी उपचारका लागि सहरका अस्पतालमा रेफर गरिन्छन् तर सहरका अस्पतालमा पूर्वाधार भए पनि जनशक्ति नहुँदा जिल्लाबाहिर जानुपर्ने बाध्यता छ।
पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधा अभाव छ। पूर्वाधार पर्याप्त भएका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकेका छैनन्। सरकारी सबै अस्पतालको साझा समस्या भने एउटै छ। त्यो हो– औधधि अभाव। जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनेका औषधि पनि पाइँदैनन्। आमा सुरक्षाबापतको सुविधा पनि रोकिँदा सेवाग्राही पिरोलिएका छन्।
सप्तरी बोदेबरसाइनकी सीतादेवी पालले छोरी ममतालाई माघमा लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा सुत्केरी गराइन। सुत्केरी भएबापत राज्यबाट पाउने सुविधा ममताले तत्काल पाइनन्। ‘माथि’बाट नआएकाले सम्पर्क गर्दै गर्नुहोला भनेर अस्पताल प्रशासनले ममतालाई टेलिफोन नम्बर दियो। आमा सुरक्षा कार्यक्रमअन्तर्गत उनले यातायात खर्चबापतको १ हजार, नियमित गर्भजाँचबापतको ८ गरी १८ सय पाउँथिन्। त्यो पैसाका लागि अस्पतालमा फोन गर्दा–गर्दा उनी आजित भैसकेकी छिन्। जहिले पनि उनले अस्पतालबाट एउटै जबाफ पाउँछिन्– माथिबाट अझै रकम निकासा भइसकेको छैन। यो समाचार नागरिक दैनिकमा छापेको छ।