काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा काठमाडौंका ५८ वर्षीय पुरुषमा शुक्रबार राति कलेजो प्रत्यारोपण गरेको हो।
ती पुरुषमा उनकै ३३ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण गर्न १० घण्टा लागेको थियो। शल्यक्रियामार्फत कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। कलेजो बिग्रिएपछि उनलाई लिभर सिरोसिस भएको थियो। अस्पतालका अनुसार परिवारको आग्रहमा बिरामी र उनलाई कलेजो दिने छोरीको नाम गोप्य राखिएको छ। यो समाचार नागरिक दैनिकमा छापेको छ।