बाजुरा - बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज (शनिबार) उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले बताए।
सामाजिक विकासमन्त्री सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको धामीले जानकारी दिए। सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सुवेदीको पहलमा हेलिकप्टरमार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए।
२२ वर्षीया रमिलाको बाजुरामा उपचार गर्न सम्भव नभएपछि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए।
सुत्केरीको रगत धेरै बगेको छ, दुई दिन भयो बोल्नसमेत नसकेको उनका आफन्तले बताएका छन्।हेलिकप्टरबाट नेपालगञ्ज पठाएपछि अब ज्यान जोगिन्छ कि भन्ने आशा रहेको उनीहरूको भनाइ छ।
बाजुरामा मात्रै सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि ३ जना सुत्केरीकोे हेलिकप्टरमार्फत उद्धार गरिएको छ। (रासस)