काठमाडौँ – नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक चार घण्टामा चार जनाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। विश्व सुर्तीजन्य पदार्थरहित दिवसको पूर्वसन्यामा रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काका अनुसार नेपालमा प्रत्येक घण्टा चार जना, प्रत्येक दिन ७४ जना तथा वार्षिक २७ हजार १ सय ३७ जनाले सुर्तीजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण गर्नुपरेको छ। विश्वमा प्रत्येक चार सेकेण्डमा एक जना र वार्षिक ८० लाख मानिसको सुर्तीजन्य सेवनका कारण लाग्ने रोगका कारण निधन हुने गरेको छ।
नेपालमा करिब ९० लाख (३०.८) प्रतिशत नेपालीहरुले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनको तथ्याङ्क उनले सुनाए। धुम्रपानको कारण मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वास) देखा परेको छ।
उनका अनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन्। त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए। डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत रहेको पनि खड्काले तथ्याङ्क सुनाए। त्यस्तै, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे।
उनका अनुसार सुर्तीजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरु क्यान्सर, मुटु रोग, मधुमेह, दिर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्व ३० करोड रुपैयाँ खर्च भइरहेको छ भने राजश्व भने वार्षिक रुपमा १७ अर्ब रुपैयाँ मात्रै संकलन हुने गरेको छ।
उनले सुर्तीजन्य पदार्थमा कर बढाउने, सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्ने, धुम्रपान गर्नेहरुलाई त्याग गराउन लगाउने र सुर्तीजन्य पदार्थको सेवनको असरबारे जनचेतना जगाउने काम गरिएमा सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण हुनसक्ने बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। त्यस्तै, उनले गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिहरुले÷लाई सुर्तीजन्य पदार्थ खरिद तथा विक्रि गर्न नपाउने कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने पनि धारणा राखे।
नेपाल जनस्वास्थ्य संघका केन्द्रिय अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तीजन्य पदार्थरहित दिवस वर्षमा एक दिनमात्रै नभनी वर्षैभरि नियमित रुपमा विभिन्न प्रभावशाली कार्यक्रमहरुको आयोजना गरेर मनाउनुपर्नेमा जोड दिए।
घर, परिवार, समूदायलगायत विद्यालय, देशका विभिन्न संघ तथा संस्थाहरु सबैले सुर्तीजन्य पदार्थमुक्त बनाउनुपर्ने पनि भट्टले सुझाए। देशका ७५३ वटै स्थानीय तह, ७ प्रदेश र संघीय सरकार तीन तहकै सरकारले यसलाई विशेष महत्व दिनुपर्ने उनको भनाई छ।
सरकारले बुधबार पेश परेको आर्थिक वर्ष २०७६–७७ को बजेटमा सुर्तीजन्य पदार्थ (चुरोट, बिडी र सिगार) को प्रत्येक खिल्लीमा लगाएको २५ पैसा स्वास्थ्य कर स्वागतयोग्य भएपनि अझै बढाउनुपर्ने उनको माग छ। ‘सुर्तीजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस शुक्रबार ३१ मे मनाइदैछ।
नेपाल जनस्वास्थ्य संघ, केन्द्रीय कार्यसमितिले उपत्यकाभित्रका १५ वटा जनस्वास्थ्य अध्यापन गराउने कलेजमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई अभिमुखीकरण गरि तिनीहरु मार्फत उपत्यकाका ३० वटा सामूदायिक विद्यालयमा सुर्तीजन्य पदार्थको सेवन र यसका कानूनी प्रावधानबारे प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा प्रत्येक विद्यालयमा पोष्टर, पाम्प्लेट, लिफलेट र साईनेजहरुसमेत टाँस गरिने कार्यक्रम रहेको छ।