रामेछाप – रामेछापको दुर्गम क्षेत्रमा पर्ने दोरम्बा गाउँपालिकामा कुपोषणको समस्या बढ्दो छ। जनजाति समुदायको बसोबास रहेको दोरम्बामा कुपोषण अन्त्यका लागि स्थानीय सरकारले कार्यक्रम लागु गर्न सकेको छैन।
स्वास्थ्य क्षेत्रमा पैसा विनियोजन भएको देखिएको छ। रकम भने सार्वजनिक शौचालयमा खर्च भएको छ। उक्त गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मी भन्छिन्,‘स्वास्थ्यसम्बन्धी चेतना अभिबृद्धि र क्याम्पेनका लागि कुनै बजेट छैन।’ गाउँपालिकाले यस बर्ष औषधी खरिद गर्न २५ लाख र अन्य स्वास्थ्य कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्यका अरु समस्याको लागि बजेट दिएको छैन। कुपोषण बारेमा जनचेतना फैलाउन कुपोषण सप्ताहका लागि ५ हजार बजेट विनियोजन छ।
‘मानिस अशिक्षित छन, उपयुक्त खाना छैन,’पालिकाकी स्वास्थ्य शाखाकी प्रमुख पार्वती पाठक भन्छिन्, ‘वडा नम्बर १ डडुवा र साविक दोरम्बाको वडा नम्बर १ मा कुपोषणको समस्या अलि धेरै छ।’ कुपोषित आमा र बच्चा कति छन् भन्ने तथ्यांक स्वास्थ्य शाखामा छैन। जति जँचाउन पुगे तिनको मात्र तथ्यांक राख्ने गरिएको छ। स्थानीय सरकाले स्वास्थ्य कार्यक्रमभन्दा अन्य कार्यक्रमलाई बढी प्राथमिकता दिएकोले सर्वेक्षण, तालिम, जनचेतनालगायतका कार्य हुन सकेका छैनन्।
२०७२को भूकम्पपछि मन्थलीकाो तामाकोसी सेवा समिति मन्थलीले युनिसेफको सहयोगमा कुपोषितहरुको पहिचान गर्ने र पोषणयुक्त खानेकुराको वितरण गरेको थियो।अहिले पोषणयुक्त खानेकुरा कुपोषितले पाईदैनन्। ‘भिटामिन ए वितरण हुन्छ, पोषणयुक्त खानेकुरा छैन,’ पाठकले भिनन् ‘वितरण गर्ने कार्यक्रम नभएपछि ठ्याक्कै कुपोषितसम्म पुग्ने गरिएको छैन।’ उनले कडा खालको नभई मध्यम खालका केही कुपोषितहरु रहेको बताईन्। यो समाचार कान्तिपुर दैनिकले छापेको छ।