काठमाडौँ – एक महिनादेखि धाउँदा पनि पूरा सूचना नपाएपछि नेपाली पब्लिकको टोलीले गएको सोमबार राष्ट्रिय ट्रमा सेन्टरमा ‘सूचना पाउँ’ भन्ने निवेदन दर्ता गराएको थियो। मंगलबार ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले इमेलमार्फत सूचना त पठाए। तर मागेको सूचनाको व्यहोरा ‘हाकिमले कर्मचारीलाई कुनै विषयमा सामान्य जानकारी दिएजस्तो’ मात्र थियो।
राष्ट्रिय ट्रमा सेन्टरमा धेरै उपकरण प्रयोगमा नआएको जानकारी नेपाली पब्लिकमा आएकाले त्यस विषयमा जानकारी लिन टोलीले सूचनाको हक प्रयोग गरी ट्रमा सेन्टरमा नै निवेदन दर्ता गराएको थियो। तर त्यसको उत्तर अस्पतालले बुझिने र स्पष्ट भाषामा दिएन।
त्यस्तै अस्पतालको आईसीयू कक्षको केही शय्या प्रयोगमा नआएको भन्ने सूचना पुष्टि गर्न सूचना माग गरिएको थियो। सूचनामा १० वटा आईसीयू कक्ष रहेको र पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी मात्र गराइएको छ।
तेस्रो प्रश्नमा अस्पतालले दिन नसकेका सुविधाको जानकारी मागेका थियौँ। तर अस्पतालले यस विषयमा पनि गैह्रजिम्मेवार उत्तर दिएको छ। अस्पतालबाट आवश्यक जानकारी नपाएपछि अस्पतालमै पुगेर जानकारी लिन खोज्दा सूचना अधिकारी भेटवालले ‘तपाइ जहिल्यै नकारात्मक विषयवस्तुको जानकारी मात्रै खोज्नुहुन्छ’ भन्ने जवाफ फर्काए। उनले आफूले दिन नसक्ने जानकारीसमेत दिएको जिकिर गरे। अस्पतालका मेसु डा. प्रमोदकुमार यादवसँग जानकारी लिन जाँदा उनी स्वास्थ्य मन्त्रालय जान निस्केको जानकारी प्राप्त भयो।
हेर्नुहाेस्, ट्रमा सेन्टरले उपलब्ध गराएकाे सूचना:
ट्रमा सेन्टरमा गएको ५/६ महिनादेखि सीटी स्क्यान, एक्स–रे मेसिनलगायतले काम गरको छैन। अस्पतालमा भारतले दिएका अन्य धेरै उपकरण प्रयोगविहीन छन्। अस्पतालले धेरै उपकरणको समयमै चेकजाँच पनि नगरेको पाइएको छ। समयमै उपकरणको चेक/जाँच नहुँदा अस्पतालका अतिआवश्यक उपकरण बिग्रिएर थन्किएका छन्।
सीटी स्क्यान नहुँदा धेरै बिरामी निजी अस्पतालमा चर्को मूल्य तिरेर सीटी स्क्यान गर्न बाध्य छन्। स्रोतका अनुसार अस्पतालको सीटी स्क्यान पटक–पटक चेक जाँच हुनुपर्नेमा अस्पतालले अहिलेसम्म सीटी स्क्यानको चेकजाँच गरेको छैन। त्यस्तै अस्पतालले धेरै उपकरण प्रयोगमा ल्याएको पनि छैन।
अस्पतालले भइपरी आउने खर्च गर्न आवश्यक पूँजी पनि सञ्चय गरेर राख्नुपर्ने नियम भए पनि सीटी स्क्यान, एक्स–रे मेसिन मर्मत गर्ने आर्थिक क्षमता अस्पतालमा नरहेको मेसु यादव बताउँछन्।