काठमाडौँ– यौन शिक्षाको अभावमा नेपालमा व्यक्तिको सुन्दर जीवन कुरुप बन्ने गरेको छ। परिवारहरु टुटेका छन्। दम्पतीहरु विभाजित भएका छन्। बालबालिकाले समस्या भोग्नुपरेको छ। आर्थिक र सामाजिक तनाबहरु थपिएका छन्। तैपनि हामी यौनका कुरामा खुल्न सकिरहेका छैनौं।
नेपालमा परिवार नियोजन सेवा सुरु भएको पाँच दशक नाधिसक्यो। सरकारले पनि सानो परिवार सुखी परिवारको नारासहित परिवार नियोजनका अस्थायी र स्थायी सेवाका लागि विशेष जोड दिएकै छ। सरकारको प्राथमिकतामा परेको परिवार नियोजन सेवाले जुन रुप लिनुपर्ने हो त्यो लिन नसकेको बिषयमा चौतर्फी रुपमा चर्चा हुनु स्वाभाविकै हो। राज्यले प्राथमिकतामा राखेको विषयमा प्रयोगकर्ता अनभिज्ञ हुनुले कागजी निर्णय भयो व्यावहारिक पक्ष कमजोर छ भन्ने सहजै बुझ्न सकिन्छ।
परिवार नियोजनका बारेमा जानकारी राख्ने र प्रयोग गर्नेका बारेमा नेपाल सरकारले गरेको जनसांङ्खिक सर्वे २००६, २०११ र २०१६ सम्म पुग्दा पनि प्रयोग दर ४३ पतिशत एउटै अंक आउँनुले जनचेतनाको पक्षमा सुधार आएन भन्ने नै देखिन्छ । २००६ देखि २०१६ सम्म एउटै रेट छ। यतिबेला परिवार नियोजनको आधुनिक साधनको बिकास भैसक्दा पनि प्रयोगदर बढेको पाइन्न। यसो हुनुमा विश्वसनियतामा कमी या माग अनुरुपको उपलब्धतानै नहुनु हो।
यसको प्रमुख कारण परिवार नियोजनको साधन प्रयोग गर्ने चाहना राख्ने व्यक्तिहरुले पनि सहज उपलब्धता नभएका कारण अनिच्छित गर्भधारण गर्न बाध्य भएको तथ्यांक बाहिरिएको छ। सरकारकै पछिल्लो तथ्यांक अनुसार गर्भवती भएका मध्ये ४ जनामा एक जनाले परिवार नियोजनको अस्थायी साधन खोजेका छन् प्रयोग गर्न पाएका छैनन्। यो अवस्थालाई नियाल्दा इच्छा भएर पनि साधन प्रयोग गर्नबाट बन्चित हुने २४ प्रतिशत छन्। यसमा बच्चा ढिलो जन्माउन चाहने वा सन्तानको चाहना पुगेर थप जन्माउँन नचाहने महिला रहेका छन्।
यस्ता समुदायमा परिवार नियोजनको साधनको प्रयोगका बारेमा जनचेतनाका साथ साधनको आवश्यकता छ पुरा हुन सकेको छैन। जानकारी नै नभएका कारण कतिपय समुदायका महिलाहरुले बर्षेनी बच्चा जन्माएका छन तर परिवार नियोजनका कुनैपनि साधन प्रयोग गरेका छैनन्। आवश्यकता भन्दा बढी सन्तान जन्माउँदा पारिवारीक, सामाजिक, राष्ट्रिय रुपमै आर्थिक मन्दी आईरहेको अवस्थामा महिलाको स्वास्थ्य अवस्था कमजोर हुनु सरकारले अघि सारेको कार्यक्रमकै कमजोरी हो कृपा नामक गैह्र सरकारी संस्थाका सह निर्देशक डा.महेश पुरी भन्छन्।
परिवार नियोजनको सेवा सुरु गरे देखि नै महिलाको बन्ध्याकरण, ३ महिने सुई, पुरुष बन्ध्याकरण र पिल्स जस्ता सेवामा निर्भर हुदै आएको नेपालमा नयाँ नयाँ प्रविधि र आधुनिक प्रविधिको बिकास भैसक्दा पनि सेवा प्रति जनचेतना नपुग्नु सरकारकै कमजोरी भएको नेसोजका अध्यक्ष डा.हिरा तुलाधरको भनाई छ।
नेपालमा आईयुडि मेथड लामो समय भैसकेको छ। तर यो सेवाको महत्व, आवश्यकता र लाभका बारेमा अत्यन्तै न्यून व्यक्ति मात्र जानकार छन्। यो समाचार नेपाल समाचारपत्रले छापेको छ।