काठमाडौँ – प्रसिद्ध हलिउड अभिनेत्री एवं गायिका डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ। डोरिसको सोमबार क्यालिफोर्नियाको कारमेल भ्यालीस्थित आफ्नै निवासमा निधन भएको डोरिस डे एनिमल फाउन्डेशनले जनाएको छ।
उनलाई हलिउडकी सर्वकालीन भव्य स्टारका रुपमा लिने गरिन्छ। क्लामेटी जेन तथा पिलो टक सहितका चलचित्रमा अभिनय गरेकी डोरिसको सन् १९५६ मा रिलिज भएको ‘ह्वाटएभर विल बी, विल बी’ बोलको गीत सर्वकालीन चर्चित रहेको छ। उनले धेरै प्रतिष्ठित पुरस्कारसमेत जितेकी थिइन्।
पिलो टक चलचित्रबाट सन् १९६० मा ओस्कर अर्वाडका लागि मनोनयमा परेकी डोरिस रक हडसनसँगको अन–स्क्रिन जोडीलाई रोमान्टिक चलचित्रको इतिहासमा सबैभन्दा रुचाइएको जोडी मानिन्छ।
डोरिसले सन् १९४८ देखि सन् १९६८ सम्म झण्डै ४० वटा फिल्ममा अभिनय गरेकी थिइन्। (एजेन्सी)