काठमाडौँ – तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ आगामी जेठमा हुने भएको छ। यही वैशाख २६ र २७ गतेका लागि तय गरिएको उक्त महोत्सव एक महिना पछाडि सारिएको हो। सो महोत्सव आगामी जेठ २९ र ३० गते हुने तय भएको छ।
आन्तरिक तयारीका लागि समय अपर्याप्तता र अझै बृहत ढंगले गर्न महोत्सव सारिएको आयोजक समितिले जानकारी दिएको छ। महोत्सवलाई थप स्पष्ट पार्ने गरी नाममा पनि केही संशोधन गरिएको छ। ‘यो महोत्सव विधागतभन्दा भिन्न भएको स्पष्ट पार्दै ‘तामाङ अन्तर्राष्ट्रिय इन्डिपिन्डेन्ट चलचित्र महोत्सव–२०१९’ का रुपमा राष्ट्रिय सभागृहको हलमा गर्ने जानकारी दिएका छन्।
तामाङ समुदायमा सरोकार राख्ने विभिन्न संघसस्थासँग छलफल तथा संवाद भइरहेको जानकारी दिदै यसबाट महोत्सवलाई अझ वृहत ढंगले सम्पन्न गर्न हौसला मिलेको आयोजकले जानकारी दिएकाे छ। महोत्सवप्रति चासो व्यक्त गर्दै नेपाल तामाङ घेदुङ, तामाङ चलचित्र संघलगायत विभिन्न संघसंस्थाहरु पनि आ–आफ्नो तवरबाट सहयोग गर्न सकारात्मक रहेकोमा आयोजकले सम्पुर्ण तामाङ समुदायको यस्तै सद्भावपूर्ण सहयोग रहने अपेक्षासमेत राखेको आयोजक समितिले जनाएको छ।
उक्त महोत्सव तामाङ सौन्दर्य, जीवनशैली र ज्ञान परम्परा झल्किने एवं तामाङ समुदायमा प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमाथि बनेका तामाङ फिल्म, डकुमेन्ट्री र छोटो फिल्म समेट्दै प्रत्यक्ष रूपमा तामाङ भ्वाइस, सेलो फाउण्डेशन र एससीआरसीले मिलेर गर्न लागेका हुन्।