काठमाडौँ - भनिन्छ, कला साहित्यमा कुनै भूगोलको छेकबार हुँदैन। सदीयाैँदेखि नै नेपाल र भारतबीच सामाजिक, आर्थिक र राजनीतिक सम्बन्ध कायम हुँदै आइरहेको छ। भारतका विभिन्न क्षेत्रमा राेजगारीका लागि नेपाली गएका छन् भने भारतीय पनि नेपालमा आएका छन्। जसमध्ये कलाकारिता क्षेत्र पनि एक हो। भारतीय चलचित्रमा नेपालीले अभिनय गर्छन् भने भारतीय पनि नेपालमा आएर अभिनय तथा छायाङ्कन गर्ने गर्छन्।
भेरी नगरपालिका जाजरकोट–३ पिपलडाँडाकी २१ वर्षीया सिजन पुनले बलिउडमा मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छन्। करिब डेढ वर्ष अघिदेखि भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’मा चरित्र अभिनेत्रीका रूपमा अभिनय गरिसकेकी नेपाली चेली सिजनले बलिउड चलचित्रमा मुख्य अभिनेत्री बन्ने अवसर हात पारेकी हुन्।
सिजन अनुबन्धित बलिउड चलचित्र ‘हर जनममे मिलेंगे’काे छायांकन धमाधम भइरहेको छ। चलचित्रको ६० प्रतिशत छायांकनको काम भइसकेको बताइएकाे छ। पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको यस चलचित्रमा शशिशेखरको निर्देशन र चन्दरको लेखन रहेको छ।
जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सिजनले भारतीय चलचित्रमा अभिनय गरेर आफूलाई दुनियामा सफल अभिनेत्रीका रूपमा स्थापित गर्ने सपना बुनेकी छन्। उनकाे सपना कत्तिकाे साकार हुन्छ, फिल्मकाे प्रदर्शनपछि थाहा हुने नै छ। उनकाे सपना साकार हाेस् भनी कामना गर्दछाैँ।