काठमाडौं –
नेपाली शिरको कालो टोपी भक्तपुर
विश्वकै सम्पदा हो चाँगु भक्तपुर
भक्तपुरको प्राकृतिक सुरम्यता र ऐतिहासिक विशेषताका बारेमा गीत निर्माण भएको छ। कला, भाषा, साहित्य, परम्परागत संस्कृति र मठमन्दिरको शहर भक्तपुरको आदिम महत्वमा समेटेर गीत बनाइएको हो।
साहित्यकार तथा पत्रकार जितेन्द्र रसिकको संयोजन रहेको गीतमा आवाज कपिल कसपालको रहेको छ। शब्द चट्याङ मास्टर र कृष्णमुरारी गौतमको रहेको गीतमा संगीत बिबि अनुरागीको रहेको छ।
नेपालीसँगै विश्वभरिका पर्यटकका लागि भक्तपुर विशेष चासोको विषय बन्नुका साथै महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा रहेको छ।
‘तर, भक्तपुरलाई जुन हिसावले प्रवर्द्धन गर्दै विश्व सामु चिनाउनु पर्ने थियो, त्यो हुन सकेको छैन, त्यसैले हामीले गीतमार्फत भक्तपुरको महत्व प्रष्ट पारेका हौं,’ गायक कपिल कसपालले भने। भक्तपुरका समग्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई गीतमा समेटिएको उनले बताए।
गीतको भिडियो निर्माणको योजना रहेको संयोजक जितेन्द्र रसिकले बताएका छन्। ‘भक्तपुर मेरो जन्मस्थान हो, त्यसैले भक्तपुरको पर्यटन प्रवर्द्धन गर्नु र यहाँको सकारात्मक पक्ष उजागर गर्नु मेरो कर्तव्य हो,’ रसिक भन्छन्, ‘त्यही अभियान स्वरुप गीतमा भक्तपुरको दृष्य प्रस्तुत गरिएको हो।’