काठमाडौँ – वेदमा भनिएको छ, ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता। अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ। नारीलाई महाकाली, महालक्ष्मी, महासरस्वती आदि उमपा दिएर पौराणिककालमै पूजा गरिन्थ्यो पूर्वीय समाजमा। यो नै हाम्रो सभ्यता र संस्कृतिको पनि आधार हो।
अपितु अहिले चाहिँ महिलाले आफ्नो अधिकारका लागि निरन्तर लड्नु परिरहेको छ। सिर्जनाले चेतनाको बीउ रोप्दै सामाजिक रूपान्तरणमा लागेका धेरै नेपाली महिला दिदीबहिनीलाई समाजमा पूजा गरिन्छ। आदरपूर्वक नाम लिइन्छ। त्यस्तै एउटा प्रेरक र पूज्य नाम हो– सरिता लामिछाने।
नेपाली कला क्षेत्रको सबैभन्दा सशक्त कलाकारमध्येकी एक हुन् सरिता। कलाकार मात्रै होइनन्, उनी निर्देशक हुन्, उत्प्रेरक वक्ता हुन् र कलाको माध्यमबाट जागरण अभियान चलाइरहेकी सामाजिक अभियन्ता पनि हुन्। उनी भन्छिन्, ‘मैले आफ्नो दायित्व पूरा गर्ने क्रममा जे जिम्मेवारी पाएँ, ती जिम्मेवारी मेहनतका साथ पूरा गरेकी छु, त्यति नै हो।’
सरल स्वभावकी सरिताले कला क्षेत्रमा पाइला राखेका बेला नेपालमा धेरै टेलिभिजन थिएनन्, नेपाल टेलिभिजनको विकल्प नै थिएन भन्दा पनि हुन्छ। त्यतिबेला टेलिभिजनकै सबैभन्दा लोकप्रिय टेलिसिरियलको प्रमुख भूमिकामा सरिता नै थिइन्।
‘मुक्तिकी सरिता’लाई अहिले पनि दर्शकले उत्तिकै सप्रेम स्मरण गर्छन्। उनको प्रेरणादायी कलायात्रा विसं २०५६ मा नेपाल टेलिभिजनको टेलिसिरियल ‘मुक्ति’बाटै प्रारम्भ भएको हो। नेपाल चलचित्र कलाकार संघकी महासचिवको जिम्मेवारीमा रहेकी सरिता यहाँसम्म चाहिँ कसरी आइपुगिन् त?
झापामा जन्म, काठमाडौँमा कर्म
सरिताको जन्म झापा बिर्तामोड (साविकको गरामनी–८)मा भएको हो। तुलसीराम पाण्डे र मीरादेवी पाण्डेकी सुपुत्री सरिताले कक्षा ६ सम्म बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा अध्ययन गरिन्। कक्षा ७ सम्म लालपानी स्कूलमा पढेकी उनले त्यसपछिको पढाइ काठमाडौँबाट अघि बढाइन्।
नेपाल आदर्श माविमा कक्षा ८ मा भर्ना भएकी सरिताले एसएलसी पनि सोही स्कूलबाट पास गरिन्। प्रवीणता प्रमाणपत्र तह र स्नातक तहको पढाइ पद्मकन्या क्याम्पसबाट पूरा गरेकी सरिताको कलायात्रा विसं २०५५ बाट शुरु भएको हो।
विसं २०५४ मा निर्देशक ऋषि लामिछानेसँग वैवाहिक बन्धनमा बाँधिएकी सरिताको कलायात्रा ज्यादै प्रेरणादायी छ। ऋषि र सरिताकी एक छोरी छिन्– समृद्धि लामिछाने।
‘मुक्ति’की सरिता
अध्ययनका क्रममा झापाबाट काठमाडौँ आएकी सरिताको व्यावसायिक कलायात्रा २०५५ सालमा शुरु भएको हो। मुक्ति टेलिसिरियलमा अब्बल अभियन गर्दै कला क्षेत्रमा प्रवेश गरेकी सरिताले आजसम्म पछि फर्किनु परेको छैन।
‘निर्देशक तुलसी घिमिरे दाइले सिरियल बनाउन लाग्नुभएको रहेछ। ऋषिजी एशोसिएट डिरेक्टर हुनुहुन्थ्यो, उहाँले मलाई एकपटक तिमी नै किन ट्राई गर्दिनौ भन्नुभयो। म तुलसी दाइलाई भेट्न गएँ, भेटपछि उहाँले भारती भाउजूलाई बहिनी आउनुभएको रहेछ भन्नुभयो। भाउजूले मेरो नाम सोध्नुभयो, मेलै सरिता भनेँ। दाइ र भाउजू मुखामुख गरेर हाँस्नुभयो,’ उनले भनिन्, ‘कारण पछि थाहा भयो, तुलसी दाइको मुक्तिको स्क्रिप्टमा क्यारेक्टरको नाम पनि सरिता नै रहेछ।’
त्यो भेटमा निर्देशक घिमिरेले ‘थ्यांक गड सरिता जुराइदिएकोमा’ भनेको उनको मस्तिष्कमा अझै ताजै छ। ‘मुक्ति’की सरिता छलकपट नजान्ने, सीधासाधा थिइन्। जुन सरितालाई दर्शकले ज्यादै मन पराए। हरेक मंगलबार आउने उक्त सिरियल २० भागसम्म चल्यो।
‘मलाई मुक्ति टेलिसिरियलले त्यति धेरै महत्त्व राख्ला भन्ने लागेको थिएन तर अहिले पनि मुक्ति सिरियल हेरेर मेरो भूमिका मन पथ्र्यो भनेर प्रतिक्रिया दिनेहरू धेरै हुनुहुन्छ,’ सरिता भन्छिन्, ‘अन्याय विरुद्धको टेलिसिरियल भएकाले धेरै दिदीबहिनीले तपाईंकै टेलिसिरियल हेरेर पाएको प्रेरणाले ममाथि हुने अन्यायविरुद्ध बोल्ने साहस गरेँ भनेर लेखिएका पत्र हामी तुलसी दाइको घरमा सामूहिक रूपमा पढ्ने गर्थ्याैं।’
फिल्मभन्दा टेलिसिरियललाई प्राथमिकता
बहुआयामिक र प्रतिभाशाली कलाकार सरिता लामिछानेको कलाकारिता टेलिसिरियलबाट फिल्मसम्म पुग्यो। तर, उनले टेलिसिरियललाई नै प्राथमिकता दिइन्। मुक्तिपछि सरिताले गहना, उमेशनाथ अर्यालको अचानक, जानकी, दुई दिनको जिन्दगानी, सीता, चाहना मनको लगायतका चर्चित टेलिसिरियलमा मुख्य पात्रको भूमिकामा काम गरिन्।
किशोर राणाको ‘सन्तानको माया’ फिल्ममा पनि उनले मुख्य भूमिकामै काम गरिन्। ‘एकसाथ १८ वटा फिल्मको अफर आएको थियो, तर सिरियलकै माया लाग्यो, मोह टेलिभिजनमै थियो,’ उनी भन्छिन्, ‘त्यसैले एकपछि अर्को गर्दै निरन्तर टेलिसिरियलमै काम गरेँ।’
यसरी निर्माण भयो ‘परिचय’
विसं २०६० सालसम्ममा कयौँ टेलिसिरियल र फिल्ममा काम गरेपश्चात् कलाकार सरिताले एउटा सुझाव पाइन्। निर्देशक ऋषि लामिछाने र सरिताका लागि त्यो सुझाव एउटा नयाँ सिँढी थियो। एक सातामा नेपाल टेलिभिजनमा आउने सातवटा सिरियलमा सरिताकै मुख्य भूमिका हुन्थ्यो।
‘त्यतिबेला साथी सुदीप रेग्मीले हामीलाई आफै कार्यक्रम उत्पादन गर्न सल्लाह दिनुभयो,’ परिचय टेलिसिरियल निर्माणको प्रारम्भका दिन सम्झिँदै सरिताले भनिन्, ‘त्यसपछि विसं २०६० मा निर्माण भएको परिचय २०६१ सालबाट नेपाल टेलिभिजनबाट प्रसारण हुन शुरु भयो।’
तेस्रो भागदेखि १ सय ४१ भागसम्म टीआरपीमा सधैँ पहिलो नम्बर बनेको ‘परिचय’ सर्वाधिक सफल र चर्चित टेलिसिरियलका रूपमा रह्यो। सरिताका अनुसार जापानको सरकारी टेलिभिजन च्यानलले गरेको सर्वेक्षणमा पनि ‘परिचय’ ‘बेस्ट ड्रामा’ छनोट भएको थियो। सोही टेलिभिजनले विश्वकै उत्कृष्ट ड्रामा भनेर जापानी भाषामा समेत प्रसारण गरेको सरिता बताउँछिन्।
‘हामीलाई पनि जापानबाट बोलावट भएको थियो, सबैतिरबाट राम्रो प्रतिक्रिया आएको थियो, तर हामीले हल्लालाई भन्दा कामलाई प्राथमिकता दियौँ, उत्कृष्ट काम गर्नुपर्छ भन्ने हाम्रो सोच थियो,’ उनी भन्छिन्, ‘त्यसैले अहिले यो सफलता हासिल भएको हो।’
‘परिचय’ निर्माण पनि सरिताका लागि संयोग नै भयो। उनका साथी सुदीप रेग्मीको सल्लाह पाए पनि आफै टेलिसिरियल बनाउने विषयमा उनी अनभिज्ञ थिइन्। उनी भन्छिन्, ‘मिडिया हबका सीईओ सोम धिताललाई भेटेर ऋषिजी र मैले हाम्रो प्रोजेक्टको विषयमा कुरा गर्यौँ, उहाँले तपाईंहरूले नै बनाउने भएपछि मैले स्क्रिप्ट पनि हेर्नुपरेन काम शुरु गर्नुहोस् भन्नुभयो, त्यसपछि निर्माण शुरु भयो।’