काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जको गैँडा संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व संरक्षण अधिकृत कमलजङ्ग कुँवरद्वारा लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र ‘खाग’ फागुन २४ गतेदेखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदैछ।
गैँडा संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न निर्माण गरिएको चलचित्र ‘खाग’को निर्देशन मनोज पण्डितले गरेका हुन्। चलचित्रको प्रमुख भूमिकामा प्रवीण खतिवडा छन् भने पुस्कर गुरुङ, अशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। दीपक वज्राचार्यको छायाङ्कन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् भने सिनेमा प्रमिला कुँवरले निर्माण गरेकी हुन्।
विश्वसनीयता, यथार्थता, सरलता र निष्पक्षताका साथ कथालाई चलचित्रमा उतार्नु मेरा लागि सबभन्दा ठूलो चुनौती रह्यो।
यसैगरी सिनेमाले ई–सेवासँगको सहकार्यमा ‘रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ। सिनेमा हेरेर फागुन २४ देखि २७ गतेसम्म सिनेमाको रिभ्यू लेखेर पठाउनेमध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ।
यसैबीच चलचित्रका निर्देशक मनोज पण्डित र लेखक कमलजङ्ग कुँवरसँग नेपाली पब्लिकले गरेको कुराकानी:
मनोज पण्डित, निर्देशक, चलचित्र खाग
तपाईको पछिल्लो फिल्म ‘खाग’ यही शुक्रबारदेखि प्रदर्शनमा आएको छ, खासमा यो कस्तो फिल्म हो?
–संघर्ष र आशाको कथा हो– खाग। इमानदारी आफैमा एक पृथक् हो, खाग त्यही पृथकताको प्रस्तुति हो। खाग इतिहासदेखि भविष्यसम्मको हाम्रो यथार्थभित्रको कठिन संघर्ष पनि हो। खाग आशा र इमानदारितामा आधारित कठिन संघर्षको कथा हो।
–व्यावसायिक दृष्टिले त्यति नचले पनि समाजमा एउटा नयाँ बहस सृजना गर्ने खालको अलि फरक चलचित्र बनाउनु हुन्छ तपाईं, खागका बारेमा चाहिँ सम्भावित प्रतिक्रिया कस्तो आउला?
सरकारी कर्मचारी यस्ता पनि हुँदा रहेछन् भन्ने प्रतिक्रिया अवश्य आउँछन्। धेरैले पत्याउनुहुने छैन। अतिरञ्जना पनि भन्नुहुनेछ। तर, सबैले प्रमुख पात्रको संघर्षलाई सम्मान गर्नुहुनेछ र उत्प्रेरणा लिनुहुनेछ भन्ने आशा छ।
खागको मुख्य पात्र यस चलचित्रका लेखक कमलजङ्ग कुँवरको कस्तो इमानदारीले तपाईंको मन छोयो र चलचित्र निर्माण गर्नुभयो?
–मानिसले गर्न चाहे के गर्न नसकिँदो रहेछ र ! के उपलब्धि हासिल गर्न सकिँदैन र? एउटा असल नियत भएको मानिसले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने तथ्यले मलाई उत्प्रेरणा मिलेको हो। इमानदारी ठूलो शक्ति हो भन्ने तथ्य उहाँको किताब हो, जसले मलाई चलचित्र बनाउन प्रेरणा मिल्यो।
चलचित्रका माध्यमबाट यसलाई इमानदारिताको कथा भन्न कत्तिको सहज भयो?
–विश्वसनीयता, यथार्थता, सरलता र निष्पक्षताका साथ कथालाई चलचित्रमा रूपान्तरण उतार्नु मेरालागि सबभन्दा ठूलो चुनौती रह्यो।
तपाईं व्यावसायिकभन्दा अलि फरक धारको चलचित्र निर्माण गर्न मन पराउनुहुन्छ, किन?
–म समाजमा समस्या देख्छु, इतिहासमा समस्या देख्छु र मानिसका जीवनमा समस्या देख्छु। मेरो चिन्ता ती समस्याले मानव सभ्यतालाई बन्धक बनाउने छ भन्ने हो। म समस्या समाधान गर्न सक्ने गरी भूमिका निर्वाह गर्न चाहन्छु। त्यसकारण, समस्यालाई पर्दामा ल्याउन प्रयत्न गर्दछु। समस्यालाई प्रथामिकता दिनु मेरो नियत हो र चलचित्रमार्फत म त्यही गरिरहेको छु, फरक त्यति हो।
कमलजङ्ग कुँवर, गैँडालाई ४ वर्ष पुस्तकका लेखक
आफ्नो कथा चलचित्रका माध्यमबाट भन्न सजिलो कि किताबका माध्यमबाट?
–किताबमा चलचित्रमा भन्दा विस्तृत रूपमा व्याख्या गर्न सकिन्छ भने चलचित्रको छोटो समयमा सबै कुरा समेटेर प्रस्तुत गर्नुपर्दा अलि कठिन नै हुन्छ। किताबमा समयको सीमा हुँदैन भने चलचित्रमा समयको सीमामा बाँधिनुपर्ने हुन्छ।
फिल्म बनाउने सोच कहाँबाट आयो?
मैले पुस्तक लेख्दा नै फिल्म पनि बनाउन मिल्ने गरी लेख्ने कोसिस गरेको थिएँ। पुस्तक लेख्दादेखि नै यस विषयमा फिल्म बनाउनु पर्छ भन्ने मलाई मनमनै लागेको थियो। राइजिङ नेपालका पत्रकार मित्र विष्णुप्रसाद गौतमले पनि पुस्तक प्रकाशित भएपछि यो कुरा सुझाउनुभयो। केही वर्षपछि ‘गैँडालाई चार वर्ष पुस्तक’ पढेपछि मनोज पण्डितजीले फिल्म बनाउने प्रस्ताव राख्नुभयो। मलाई उहाँको प्रस्ताव मन पर्यो अनि हामीले फिल्म बनाउने निर्णय गर्यौँ।
चलचित्र निर्माण गर्न कति गाह्रो रहेछ त?
मलाई चलचित्र निर्माणबारे खासै ज्ञान थिएन। त्यसैले चलचित्र निर्माण कार्यको सम्पूर्ण जिम्मा मनोज पण्डितजीले नै लिनुभएको थियो। तर, निर्माण गर्दा लागेको समयावधि, आर्थिक स्रोत खोज्नुपर्ने, छायाङ्कनका लागि व्यवस्थापनको तारतम्य मिलाउनुपर्ने, चलचित्रसँग सम्बन्धित कागजपत्र मिलाउनुपर्ने हुँदा चुनौतीपूर्ण, प्रतीक्षा र धैर्यता गर्नु अलि कठिन नै थियो।
तपाईंको चलचित्रका कस्ता दर्शक हुन्?
हाम्रो फिल्ममा सबै उमेर समूहका दर्शक आकर्षित हुन सक्छन्। मेरो पुस्तक पढेका, संरक्षणका विषयमा नजिकबाट नियालिरहेका, नेपालमा विभिन्न तस्करीका ब्युहबारे खबरदारी गर्ने, धेरै किसिमका तस्करीमध्ये गैँडाको खाग तस्करी रोक्नुपर्छ, यसलाई पर्यापर्यटनका माध्यमबाट देशको समृद्धिसँग जोड्नुपर्छ भन्नेहरू नै यस चलचिचत्रका मुख्य दर्शक हुन सक्छन्। चलचित्र हलमा नयाँ दर्शक पनि आकर्षित हुने कुरामा म ढुक्क छु।
इमानदारीपूर्वक सरकारी काम गर्न कति सहज भयो?
इमानदारीपूर्वक काम गरेपछि अरूले भाँजो हाल्ने आँट गर्न सक्दैनन्। काम गर्ने ठाउँमा आफ्नो टिमलाई नै इमानदर बनाउँदै लगेपछि बेइमानहरू हच्किन्छन्। तर, लामो समयपछि विरोधीहरू एकजुट हुँदै जाने र त्यसबाट आफूलाई पाखा लगाउन खोज्ने हुँदो रहेछ। बेइमानहरूको आँखाको तारो बन्नुपर्दा उनीहरूले विभिन्न हत्कण्डा अपनाएर बदनाम गर्न खोज्ने, फँसाउन खोज्ने गर्दा रहेछन्। केही उपाय नलागेपछि कर्मचारी भएको हुँदा सरुवा गरिदिने तौरतरिका पनि अपनाउने गरेको देखियो।
नेपालमा एकसिंगे गैँडा संरक्षण गर्न कहाँ कहाँ चुनौती देख्नुहुन्छ?
फिल्ड तहमा पनि यदाकदा देखिन्छ, नीतिगत तहमा, राजनीतिक तहमा, कार्यान्वयन र न्यायिक क्षेत्र समग्रमा चुनौती नै चुनौतीले भरिएको अवस्था रहेको छ। निकुञ्ज, सुरक्षा निकाय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय हुन सकेन भने यो सबैभन्दा चुनौतीपूर्ण हुुन जान्छ। त्यसैले यी सबैको समन्वय र सहकार्य कायम गर्नु नै सबैभन्दा ठूलो चुनौती हो। गैँडाको खागको बढ्दो मागका कारण यो गिरोह कहिले निष्क्रिय हुुने वा अन्यत्र देशमा जाने र हाम्रो कमजोर अवस्था फेला पारेमा फेरि सक्रिय हुने गरेको पाइएको छ। तस्करी सञ्जाल समाप्त भयो भनेर ढुक्क हुने अवस्था छैन। मौका पाउँदा पुन: टाउको उठाउने चेष्टा पटकपटक गरेको पाइन्छ।