काठमाडौं । नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टीसीएस लण्डन म्याराथनमा भाग लिने भएका छन् ।मंसिर ९ गते भएको नवौं धारा म्याराथनको विजेताको रुपमा गोपीले उक्त अवसर पाएका हुन् ।
नेपालगन्ज म्याराथनले सोमबार एक कार्यक्रम गर्दै गोपीको सहभागिताबारे विशेष घोषणा गरेको हो ।नेपालगन्ज म्याराथनकै दौरान नेपालगन्ज म्याराथनको आयोजकले यस संस्करणको विजेतालाई यसपटकको टिसिएस लण्डन म्याराथनमा सहभागी गराउने घोषणा गरेको थियो ।
२०८० मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका थिए । उनले २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेका थिए ।नेपालगन्ज म्याराथनको रनिङ पार्टनर नेपाल रन यूकेको सहकार्य र सहयोगमा पार्कीको लन्डन म्याराथनको सहभागिता पक्का भएको छ ।
गोपीको नाम दर्ता र भिजा प्रक्रिया पूरा भईसकेको र त्यसका लागि तयारी थालिसकेको नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।लण्डन म्याराथन आगामी अप्रिल २१ अर्थात वैशाख ९ गते हुँदैछ ।