काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँचवर्षे कालकाल सफल र उपलब्धिमूलक रहेको दाबी गरेका छन्।
प्रदेश नयाँ संरचना भएर पनि आफ्नो नेतृत्वको सरकारले विगतका आन्दोलनमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पूर्वाधारको साथै चौतर्फी विकासको क्षेत्रमा सन्तोषजनक कार्य गरेको मुख्यमन्त्री राउतको दाबी छ।
प्रदेशमा नयाँ सरकार निर्माणका लागि राजनीतिक दलहरू लागेको समयमा मुख्यमन्त्री राउतले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो नेतृत्वको सरकारले गरेको कार्यहरूको फेहरिस्त प्रस्तुत गरेका हुन्।
शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्षको अवधिका भौतिक संरचनादेखि आवश्यक ऐन कानुन निर्माणका साथै सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गरेको मुख्यमन्त्री राउतले बताए।
पहिचानको आधारमा प्रदेशको नामकरण, ‘एक सहिद परिवार एक रोजगारी’, दर्जनौँ विधेयक प्रमाणीकरण, तीनवटा विश्व विद्यालयको स्थापना, महिला सशक्तीकरणका लागि मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणलगायतका कार्यहरू उपलब्धिको रूपमा रहेको मुख्यमन्त्री राउतले दाबी गरे।
कर्मचारीको चर्को अभाव, सीमित स्रोत साधन र संघीय सरकारको आवश्यकताअनुसार सहयोग नहुँदा धेरै कार्य प्रदेश सरकारले चाहेर पनि गर्न नसेको मुख्यमन्त्री राउतले बताए। कर्मचारी व्यवस्थापनका लागि प्रदेश लोकसेवा ऐनदेखि प्रदेश लोकसेवा आयोग गठन गरी कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको राउतले बताए।