मदनमणि तिमिल्सीना /पोखरा । पोखरामा पुस १२ गते नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ । मानवताका लागि साङ्गीतिक यात्रा भन्ने नाराका साथ देशव्यापी रूपमा चलेको नेपथ्यको लाइभ कन्सर्ट पुस १२ गते पोखरामा हुन लागेको हो ।
रामजी अधिकारीको एकल पहलमा स्थापना भएको संस्थाले अहिले देश व्यापी रूप लिएको छ । सुरुवातमा अधिकारीले ५ जना सहयोगापेक्षिलाई लिएर भाडाको घरबाट सुरु गरेको संस्था अहिले देशकै ठुलो संस्थाको रूपमा आफ्नो परिचय बनाउन सफल भएको छ ।
मानवसेवा आश्रमको निर्माणाधीन भवनलाई पूर्णता दिई भाडाका घरमा रहेका मानवसेवा आश्रमलाई आफ्नै भवनमा स्थानान्तरण गर्न र अक्षयकोष स्थापनार्थ नेपथ्यको लाइभ कन्सर्ट हुन लागेको हो ।
सयौँको सङ्ख्यामा असहाय , अशक्त, अभिभावकविहीन , शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरू रहेको मानवसेवा आश्रमको लागि कुनै पनि प्रकारको विपत्ति , भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्ने गरी २५ करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने योजना अनुसार लाइभ कन्सर्ट गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।
यसअघि वीरगन्ज, हेटौँडा, भरतपुर र नेपालगन्ज, धनगढीमा नेपथ्यले कन्सर्ट गरिसकेको छ। आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साङ्गीतिक प्रस्तुति दिएको छ ।