काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउनेबारे प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूले सल्लाह गरिसकेको बताएका छन्।
गोरखाको क्षेत्र नम्बर २ मा आइतबार भएको चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउनेबारे आफू र देउवाबीच सल्लाह भइसकेको बताएका हुन्।
गोरखा २ मा कांग्रेसका पाण्डेको नाम उम्मेदवारका लागि कांग्रेस गोरखाबाट सर्वसम्मत रूपमा सिफारिस भएको थियो। तर उक्त क्षेत्रमा प्रचण्ड उठ्ने सत्ता गठबन्धनभित्र छलफल भएपछि पाण्डे प्रदेश सभा क्षेत्रमा उठ्न सहमत भएका थिए। पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र ९ख० मा उम्मेदवार छन्। २०७४ मा तत्कालीन माओवादी र एमालेबीचको वामगठबन्धनका बेला पनि यो प्रदेश सभा क्षेत्र कांग्रेसका प्रकाशचन्द्र दवाडीले जितेका थिए।
प्रचण्डले कात्तिक १२ र १३ मा गोरखामा भएका ४० भन्दा बढी चुनावी कोणसभालाई सम्बोधन गरेका थिए। ती अधिकांश सभामा प्रचण्डले आफू भावी प्रधानमन्त्री र सँगै रहेका पाण्डेलाई चुनाव जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री हुने कुरा भन्न छुटाएका थिएनन्।
उनीहरूसँगै रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भावी प्रधानमन्त्रीमा प्रचण्ड र मुख्यमन्त्रीमा पाण्डेको नाम नै लिएर यो क्षेत्रको विकास हुने भन्दै जनतासँग भोट मागेका थिए।