काठमाडौं। नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले एसपीपी सम्झौता भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको दाबी गरे।
अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए। रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राखे।
अहिले विश्व राजनीति नै तरंगित बनेको अवस्थामा अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्ने बताए। उनले भने, ‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन्। हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ। हामी कुनै देशतर्फ ढल्कनुहुँदैन्। घोषित नीतिभन्दा बाहिर जानुहुँदैन। दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। यो कुनै दल र सरकारको मात्रै कुरा होइन। हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ। यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ। देश सानो वा ठूलो भएर हुँदैन। नीतिमा अडान हुनुपर्छ।’
उनले अहिले कसलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विषय मुख्य नभएको बताए।