रुपन्देही। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन खोजेको आरोप लगाएका छन्।
नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौता गर्न खोजेको बताउँदै महासचिव पोखरेलले आपत्ति जनाए।
प्रेस चौतारी नेपाल रुपन्देही शाखाले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे। उनले भने, ‘नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लग्ने गलत काम भैरहेको छ, कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन।’
मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताउँदै उनले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएकाले आफूहरू त्यसको विपक्षमा रहेको बताए।