काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा एमालेले संसद् अवरुद्ध गरेको हो।
त्यसअघि उक्त विषयमा अर्थमन्त्री शर्माले स्पष्टीकरण दिएका थिए। तर, उनको स्पष्टीकरण चित्त नबुझेको भन्दै एमालेले संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताए।
अर्थमन्त्री शर्माले भने बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको दाबी गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफूले अरु सांसदहरुले पनि प्रश्न लिने र अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरुले मानेनन्। त्यसपछि सभामुख सापकोटाले संसद बैठक असार १ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।