नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एउटा ठूलो षड्यन्त्रअन्तर्गत संसद् विघटन भएको आरोप लगाएका छन् ।
सोमबार सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् विघटनमा तत्कालीन प्रधानमन्त्री केपी ओली एक्लैको नभएर देश र विदेशबाटै ठूलो षड्यन्त्र भएको बताए ।
उनले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शकितहरुले षड्यन्त्र गर्दै आएको आरोप समेत लगाए । प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिंग थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’
उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंगअन्तर्गतको षडयन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम भएको टिप्पणी गरे ।
लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि ो देशी विदेशी सेटिंग असफल भएको र त्यसमा माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको प्रचण्डको दाबी छ ।
उनले भने, ‘नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन । त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ । नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं । दोश्रोपटक समेत प्रतिगमनकारीहरुले संविधानमाथि प्रहार भएर संसद विघटन भएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि हामीले गठबन्धनको निर्माणको पहल गर्यौं । माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस भनेर धेरैचोटी अनुरोध गर्यौं ।’
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरुले आफूलाई एमालेसँग एकता नगर्न र ५ वर्ष प्रधानमन्त्री खानुस भनेर भन्दा नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको उनले खुलाए ।
उनले भने, ‘तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौं । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।’
यी सबै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगेको, ६ वटै प्रदेशका मुख्यमन्त्री घर फर्किएकोले अहिले विचलित र अस्पष्ट हुनु जरुरी भएको र आत्मसमीक्षा गर्दै अघि बढनुपर्नेमा प्रचण्डले जोड दिए ।