नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ ।
पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने जानकारी दिए । गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।
त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारीको टुंगो लगाउने नेताहरू बताउँछन् ।
यस्तै केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखत रुपमै उठाउने नेता लिलामणि पोखरेल बताए । एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखितरुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन्।